coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना खोप लाउन दुई दिन यात्राः खोप निःशुल्क, अन्य खर्च १० हजार

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन् । 

घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन् । छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।  

कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो । बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् । 

उनले निःशुल्क खोपसँगै दुर्गम क्षेत्रबाट आउने स्वयंसेविकालाई स्थानीय तहले यातायात र खानबस्न सुविधा दिए सहज हुने बताइन् । ‘यातायात र खाना खर्चमै ७ हजारभन्दा धेरै खर्च भइसक्यो । तलब पाउनेले त सक्छन्, हामीलाई सरकारले पोसाक र केही सामान्य सुविधा मात्रै दिएको छ,’ उनले भनिन् । बजार झरेपछि पाइलैपिच्छे खर्च हुने भएकाले दोस्रो चरणको खोप गाउँमै दिनसमेत उनले माग गरिन् । कोरोनाको खोपले समुदायलाई थप सुरक्षित बनाउन सकिने भन्दै उनीहरूले खर्चको व्यवस्थापन भए राहत मिल्ने बताउँदै जिम्मेवारीअनुसारको मूल्यांकन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका थिए ।  

‘कोरोना खोपमा पहिलो प्राथमिकतामा परेजस्तै, अन्य सुविधाहरूमा पनि सबैको नजर पर्नुपर्छ, समुदायमा स्वास्थ्यका सन्देश लिएर सधैं खटिन तयार छौं,’ सपना विकले भनिन् । उनले कोरोनाको त्रासमा परिवारबाट समेत समुदायमा घुलमिल नहुन अनुरोध गर्दा समेत आफ्नो जिम्मेवारी पूरा गरेको बताइन् । ‘खोपले जिम्मेवारी थपिदिएको छ । अझै पनि कोरोनाको जोखिम टरेको छैन भन्ने सन्देश गाउँमा लैजान्छौं,’ उनले भनिन् । लुलाङ, देउराली, लटबाङ हुँदै गुर्जा पुग्ने पदैलमार्गमा सामान्य हिमपात भएकाले पनि आवतजावतमा सहज भएको गुर्जा स्वास्थ्य चौकीकी अनमी चोलमाया छन्त्यालले बताइन् । ‘वर्षा भए हिमपातले बाटो रोकिन्छ । त्यसैले हतारहतारमा फर्किंदैछौं,’ उनले भनिन् । 

म्याग्दीका ६ वटै स्थानीय तहका ३ सय ७० स्वयंसेविकालाई प्रथम चरणको खोप अभियानमा सहभागी बनाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘स्वयंसेविकाहरू धेरै उत्साहित देखिनुभएको छ,’ कार्यतालिका नै बनाएर बोलाएका छौं,’ प्रमुख लम्सालले भने । उनले अहिलेसम्म कुनै पनि साइड इफेक्ट नभएको बताए ।  

खोप लगाउँदैमा खासै असर नगर्ने बताउँदै यदि त्यस्तो गम्भीर खालको असर देखिए प्रदेश सरकारले हेलिकोप्टरमार्फत बिरामीको उद्धार गरी उपचार गरिने व्यवस्थापन मिलाइएको छ । पहिलो चरणमा ८ सय २१ जनालाई कोरोनाविरुद्ध खोप लगाउने कार्य जारी छ । फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स र शववाहन चालकलाई बाहेक ज्येष्ठ नागरिक आश्रममा बस्ने र कारागारका कैदीबन्दीलाई समेत समावेश गरिएको छ । 

जिल्लाको मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको विकट ठाउँबाट खोप लाउन आउने महिला स्वयंसेविकाले यातायातसहित खानाबस्ने खर्च उपलब्ध गराउन स्थानीय तहलाई माग गरेका छन् । एकजनाको न्यूनतम ३ देखि १० हजारसम्म व्यक्तिगत खर्च भएकाले कोरोनाको खोप निःशुल्क भए पनि अन्य खर्चले दोस्रो चरणको खोपमा सहभागी हुन नसक्ने अवस्था आउने महिला स्वयंसेविकाको भनाइ छ ।

प्रकाशित: २० माघ २०७७ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App