१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

चिकित्सक भन्छन्ः खोप सुरक्षित छ, डराउनु पर्दैन

गण्डकी प्रदेशमा पनि खोप अभियान सुरु

गण्डकी प्रदेशको पोखरामा कोरोना विरुद्धको खोप लगाउँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ गरिएको छ ।  

प्रतिष्ठान प्रांगणमा आयोजित औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.अर्जुन आचार्यलाई कोभिशिल्डको किट हस्तान्तरण गरेका थिए । लगत्तै स्वास्थ्यकर्मीले उपकुलपति डा.थापालाई खोप लगाईदिएका थिए ।  डा.थापालाई खोप लगाए लगत्तै प्रदेशका सबै ११ वटै जिल्लामा खोप लगाउन शुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

खोप शुभारम्भमा बोल्दै मुख्यमन्त्री गुरुङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप लगाएर सम्पूर्ण नेपालीलाई सुरक्षित बनाउने सपना पुरा हुन लागेको बताए । उनले प्रदेशबासीलाई सुरक्षित बनाउन अझ धेरै खोप ल्याएर लगाउन प्रदेश सरकार लागिपरेको बताए । मुख्यमन्त्री गुरुङले कोभिशिल्ड विश्वसनीय भएकै कारण नेपालमा लगाउन शुरु गरिएको बताए । प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना खोप लगाएर प्रदेशबासीलाई सुरक्षित बनाईने बताईन् । निर्देशक डा.विनोदविन्दु शर्माले खोप सुरक्षित रहेको दाबी गरे । यद्वपी लगाउने क्रममा टाउको दुख्ने, ज्वरो आउने लगायतका सामान्य लक्षण देखिनसक्ने उनले बताए ।

गण्डकी प्रदेशमा पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म खोप लगाइनेछ । पहिलो चरणमा गण्डकी प्रदेशमा १७ हजार ३ सय ९६ जनामा कोरोना भाईरसबिरुद्धको खोप लगाइने सामाजिक विकास मन्त्री पुनले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा कास्कीमा ५ हजार ६ सय ७१, स्याङ्जामा १ हजार ५ सय ४१, लमजुङमा १ हजार ५ सय ८२, बागलुङमा १ हजार ७ सय ७०, गोरखा १ हजार ८ सय ८, पर्वत १ हजार २ सय ३९, तनहुँमा १ हजार ६ सय ९९, म्याग्दीमा ८ सय ४३, नवलपुरमा १ हजार ५२ तथा हिमाल पारिको जिल्ला मुस्ताङमा २ सय १९ र मनाङमा २ सय ६ जनालाई खोप लगाईनेछ ।  

पहिलो चरणमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, नीजि अस्पताल र मेडिकल कलेजहरुमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाइने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई २८ दिनपछि दोश्रो खोप लगाइने उनले बताए । गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आइसकेको छ । प्राप्त भ्याक्सिन सुरक्षित रुपमा भण्डारण गरिएको र आवश्यक्ता अनुसार वितरणसमेत गरिएको निर्देशक शर्माले बताए ।

खोपप्रति आश्वास्त पार्न आफैले लगाए ः थापा

गण्डकी प्रदेशमा कोरोनाबिरुद्धको कोभिशिल्ड खोप लगाउने पहिलो व्यक्ति हुन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन डा.बुद्धिबहादुर थापा । खोपप्रति विश्वस्त हुन प्रदेशबासीलाई आग्रह गर्दै उनले खोप लगाएका छन् । खोप प्रति आश्वास्त बनाउनका लागि नै आफुले खोप लगाएको बताउँदै उनले भने,‘विश्व स्वास्थ्य संगठनबाट सर्टिफाईड भएको र यो लगाएकाहरु सबै सुरक्षित रहेकाले हामी त्रसित हुनुपर्ने कारण छैन ।’ उनले खोप लगाउँदा एन्टि रियाक्सन हुन्छ कि भनेर डराउनु नपर्ने समेत बताए । अरुजस्तै कोरोनाबिरुद्धको कोभिशिल्ड खोप भएकाले यसमा डराउनु नपर्ने बताए ।

डा.थापाले खोप लगाउँदा सामान्य दुःखाई बाहेक अन्य समस्या नआएको बताए । खोप लगाउँदा च्वास्स कोपेजस्तो मात्र भयो,‘ उनले भने, ‘त्यसपछि कुनै दुःखाई छैन, टाउको दुख्ने, ज्वरो आउने, थकान हुने लगायतका समस्या पनि छैन ।’ उनले खोप लगाएको केहि समयपछि आफू कार्यालयको काममा फर्किएको समेत बताए ।

प्रकाशित: १४ माघ २०७७ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App