७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

आज सतहत्तरै जिल्लामा कोरोनाविरुद्ध खोप अभियान

कोरोना खोप सुरक्षित छ : चिकित्सक

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ ।  

अभियानसँगै नेपाल कोभिड–१९ विरुद्धको खोप पाउने मुलुकमा दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालपछि बुधबार दिउँसो बंगलादेशमा खोप अभियान सुरु हुने भएको छ ।  

भारतले एक साताअघि अनुदानस्वरुप दिएको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिडसिल्ड’ नामक खोप लगाइँदै छ । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शववाहन चालकलगायत छन् । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ । बुधबार देशभरि १ सयभन्दा बढी खोप केन्द्रबाट खोप दिइने कार्यक्रम रहेको छ ।

यी व्यक्तिले खोप लिनु हुँदैन  

सुत्केरी, गर्भवती, ६ महिनाभित्रका शिशुलाई, स्तनपान गराइरहेका महिला, आइसियुमा उपचार गराइरहेका सिकिस्त बिरामी, १८ वर्षमुनिका बालबालिका  

एउटै केन्द्रमा खोप लिने संख्या हेरी दुईदेखि ८ वटासमेत बुथको व्यवस्था गरिएको छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १७ वटा खोप केन्द्रमार्फत खोप दिइँदै छ । अग्रपंक्तिमा काम गर्ने समूहमध्येमा ३ लाख जना स्वास्थ्यकर्मी मात्र रहेको महाशाखाले जनाएको छ । ३ लाख खोप लगाइसकेपछि बाँकी खोप वृद्धाश्रम र बालआश्रममा लगाइने कार्यक्रम छ । देशभरिमा १० दिनभित्र ४ लाख ३० हजार जनालाई खोप दिइसक्ने सरकारले लक्ष्य लिएको छ ।  

दोस्रो चरणमा कोभाक्सबाट ल्याइने २० प्रतिशत भने ज्येष्ठ नागरिक, दीर्घरोगी, सुरक्षाकर्मीलगायतलाई दिने योजना रहेको र दोस्रो चरणको खोप पनि छिट्टै ल्याइने तयारी भएको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए । सातै प्रदेशका सबै जिल्लामा खोप पुगिसकेको महाशाखाले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप सुरक्षित  

हाल नेपालमा प्रयोग हुन लागेको कोभिडसिल्ड खोप अनुसन्धानबाट प्रमाणित खोप भएकाले सुरक्षित रहेकाले खोप लगाउँदा डर मान्नु नपर्ने महाशाखा प्रमुख पोखरेलले बताए । नयाँ रोगमा आएको खोप भएकाले कतिपयको मनमा डर लागिरहेको पाइएकाले कोही पनि नडराउन डा. पोखरेलको सुझाव छ । यो खोप बेलायतको औषधि व्यवस्था विभागले समेत अनुमति दिएको, छिमेकी राष्ट्र भारतमा हालै मात्र १५/१६ लाख जनाले लगाइसकेको र खोपपछि कुनै गम्भीर असर नदेखिएकाले सबै स्वास्थ्यकर्मीले ढुक्क भएर खोप लगाउन कोभिड–१९ खोप संयोजक डा. श्यामराज उपे्रतीले बताए । ‘सबैले ढुक्क भएर खोप लगाउनुहोस्, यो खोप सुरक्षित छ,’ डा. उप्रेतीले भने ।  

नयाँ रोगको नयाँ खोप भएकाले धेरैको मनमा त्रास रहेको जानकारी पाएकाले त्रास हटाउन परिवार कल्याण महाशाखा प्रमुख डा. पाखेरेलले अनुरोध गरे । ‘सबैतिर प्रयोग भएर आएको खोप हो, डर मान्नै पर्दैन,’ उनले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले आफूले पहिलो चरणमै खोप लगाउन लागेको र मनमा कुनै डर नभएको बताए ।  

‘कतिपय साथीमा मनमा नयाँ खोप लगाउँदा के होला भन्ने त्रास रहेछ, म कुनै त्रास नराखी लगाउन सबैलाई अनुरोध गर्छु,’ डा. पुनले खोप केन्द्रमा खोपबारे भ्रम रहेका अरुलाई परामर्श दिने तयारीसमेत गरेको बताए । पुनका अनुसार यो खोप धेरै अनुसन्धानबाट मानव स्वास्थ्यमा असर नपर्ने प्रमाणित भएको तथा ख्यातिप्राप्त विश्वविद्यालयद्वारा निर्मित खोप युरोप तथा अमेरिकाले समेत गुणस्तर प्रमाणीकरण गरिसकेका छन् । यसका साथै यो खोप लगाएका अन्य राष्ट्रमा समेत हालसम्म कुनै गम्भीर असर नपरेकाले डराउनु पर्ने अवस्था छैन ।  

खोप लगाउँदा कुनै पनि असर देखिएमा उपचारको समेत तयारी भइसकेकाले कुनै पनि व्यक्ति डराउनु नपर्ने डा. पोखरेलको सुझाव छ । पोखरेलका अनुसार कतिपयको शरीर अनुसार कडा खालको एलर्जी हुन सक्छ । यस्तो भइहाले तत्कालै उपचार गर्ने गरी जिल्ला अस्पतालमा औषधिको व्यवस्था भइसकेको छ । कडा एलर्जी भएमा हरेक जिल्ला अस्पतालमा ‘एड्रिनासिल’ नामक औषधि दिएर उपचार गरिन्छ ।  

खोपको प्रयोगपछि सामान्य असर देखिएका व्यक्तिको हकमा लक्षणअनुसारको औषधि दिएर उपचार गरिने तयारी भएको छ । यो खोप लिइसकेपछि कतिपयलाई टाउको दुख्ने, जिउ दुख्ने, शरीर चिलाउने, हल्का ज्वरो आउने, थकाई लाग्नेलगायत लक्षण देखिन सक्छन् । यी सामान्य लक्षण भएमा खोप केन्द्रमै आवश्यक उपचार तथा परामर्श दिने व्यवस्था भएको महाशाखाले जनाएको छ । दीर्घरोगी मधुमेह, उच्च रक्तचाप, दम तथा अन्य रोग भएका व्यक्तिले खोप लिन मिल्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित: १४ माघ २०७७ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App