६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

गण्डकी प्रदेशको ११ जिल्लामा खोप पुग्यो

गण्डकी प्रदेशमापनि बुधबारदेखि कोरोनाबिरुद्धको खोप लगाइने भएको छ । भारतले दिएको कोरोनाबिरुद्धको खोप कोभिशिल्ड गण्डकी प्रदेशमापनि लगाउन लागिएको हो । गण्डकी प्रदेशको खोपको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतको उपस्थितिमा बुधबार पूर्वाह्न १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खोप लगाउन शुरु गरिने सामाजिक विकास मन्त्रालयले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मुख्यमन्त्रीको उपस्थितिमा खोप लगाउन शुरु भएलगत्तै प्रदेशका सबै जिल्लामा खोप लगाउन शुरु गरिने सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिए । खोप सबै जिल्लामा पुगिसकेको छ, मन्त्री पुनले भनिन्, ‘तयारी अवस्थामा छौं, बुधबार तोकिएकै समयबाट खोप लगाउन थाल्छौं ।’

गण्डकी प्रदेशमा पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म खोप लगाइनेछ । पहिलो चरणमा गण्डकी प्रदेशमा १७ हजार ३ सय ९६ जनामा कोरोना भाईरसबिरुद्धको खोप लगाइने मन्त्री पुनले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा कास्कीमा ५ हजार ६ सय ७१, स्याङ्जामा १ हजार ५ सय ४१, लमजुङमा १ हजार ५ सय ८२, बागलुङमा १ हजार ७ सय ७०, गोरखा १ हजार ८ सय ८, पर्वत १ हजार २ सय ३९, तनहुँमा १ हजार ६ सय ९९, म्याग्दीमा ८ सय ४३, नवलपुरमा १ हजार ५२ तथा हिमाल पारिको जिल्ला मुस्ताङमा २ सय १९ र मनाङमा २ सय ६ जनालाई खोप लगाईनेछ । गण्डकी प्रदेशको सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको जनाइएको छ भने प्रदेश राजधानी पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप लगाउने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिईन् ।

पहिलो चरणमा सरकारी अस्पताल, गैरसरकारी अस्पताल, नीजि अस्पताल र मेडिकल कलेजहरुमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम्सेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने तयारी गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाएकाहरुलाई २८ दिनपछि दोश्रो खोप लगाइने उनले बताए ।

गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आइसकेको छ । प्राप्त भ्याक्सिन सुरक्षित रुपमा भण्डारण गरिएको र आवश्यक्ता अनुसार वितरणसमेत गरिएको निर्देशक शर्माले बताए ।गण्डकी प्रदेशमा कोभिशिल्ड खोपलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रदेश तहमा प्रदेका प्रमुख सचिवको संयोजकत्वमा खोप समन्वय तथा अनुगमन समिति र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ ।

 

प्रकाशित: १३ माघ २०७७ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App