७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

म्याग्दीमा आइपुग्यो कोभिडविरुद्धको खोप

बेनी अस्पतालमा प्रजिअ उमाकान्त अधिकारीलाई कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप हस्तान्तरण गदैं प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रतिनिधि । तस्बिर : हरिकृष्ण गौतम

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिकारीलाई हस्तान्तरण गरेका छन्। 

म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकलाई लगाइने पहिलो प्राथमिकतामा राखेर खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने प्रमुख लम्सालको भनाइ छ। एक भायलमा १० डोज खोप हुन्छ । खोप दुईदेखि आठ डिग्री तापक्रममा भण्डारण गर्न मिल्छ।  

कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताए। ‘प्रदेश सरकारले पहिलो चरणमै म्याग्दीमा खोप पठाएको छ,‘लक्षित समूहलाई तयारी अवस्थामै राखेका छौ’ प्रमुख डा. तिवारीले भने। कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने डा. तिवारीको भनाइ छ। 

जिल्लाका सबै ६ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप लगाउने जानकारी गराइएको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक नवराज सारुले बताए। आगामी माघ १४ गते विहानदेखि बेनी अस्पतालमा खोप लगाउन सुरु गरिने छ। यो खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो।

प्रकाशित: १३ माघ २०७७ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App