४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कोभिडविरुद्धको खोप अभियान माघ १४ देखि

भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्। भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।  

भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘खोप एक साताभित्रै दिन्छौं,’ गौतमले शुक्रबार नागरिकसित भने।  

खोप आइपुगेपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई त्रिभुवन विमानास्थलमै औपचारिक रुमपा हस्तान्तरण गरेका थिए। अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नेपालमा पठाइएको हो।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ। खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा. श्यामराज उप्रेतीले बताए।  

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाका अनुसार महाशाखाले आइतबारदेखि सबै प्रदेशमा र प्रदेशमार्फत जिल्लामा र जिल्लामार्फत अस्पतालहरूमा वितरण गरिनेछ। साना जिल्लाहरूको हकमा एक या दुई वटा खोप केन्द्र र ठूला सहरको हकमा तीनदेखि पाँच वटासम्म खोप केन्द्र हुन सक्नेछन्। ‘आजसम्म पठाएका छैनौं, आइतबारदेखि सबैतिर पठाउँछाैं,’ डा. ढुंगानाले भने।  

खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ।  

गत जनवरीमा भारतमा लगाइएको ‘कोभिडशिल्ड’ नै नेपालमा ल्याइएको हो। यो खोप अभियान चले लगत्तै भारतमा पाँच सय जतिमा अन्य असर देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो। असर परेको भएपनि खोपकै कारण कुनै पनि व्यक्तिको मृत्यु नभएकोले नेपालले सुरक्षित तरिकाले नै लगाउने तयारी गरेको कोभिड १९ खोप व्यवस्थापन संयोजक डा. उप्रेतीको भनाइ छ। उनको अनुसार गर्भवति, सुत्केरी र १८ वर्षमुनिकालाई यो खोप दिइने छैन।  

त्यसपछि सिकिस्त बिरामीलाई पनि यो खोप दिइने छैन। सिकिस्त बिरामीलाई दिँदा संयोगवस मृत्यु भएमा खोपलाई दोष दिइने भएकोले बिरामी सामान्य अवस्थामा आएपछि मात्र खोप दिइनेछ। खोपले हुन सक्ने सामान्य असरसमेत रिपोर्ट गरी अनुसन्धान गरिनेछ। खोप लगाएपछि कोही बिरामी पर्न गएमा उनीहरूको तत्कालै उपचारको लागि संयन्त्र समेत तयारी अवस्थामा राखिएको छ। यसबाहेक पहिलो डोजको खोप लागेर एलर्जी भएका बिरामीको हकमा अर्को डोज दिइने छैन।  

भारतले दिएको १० लाख डोज खोप प्रति व्यक्ति २ डोजको दरले दिनु पर्ने भएकोले यो पहिलो अभियानमा केही मात्रा खोप खेर जाने भएकोले पाँच लाख भन्दा कमलाई मात्र यो खोप पुग्ने स्थिति रहेको छ। नेपालले ७२ प्रतिशत जनसंख्यालाई दिने लक्ष्य लिएकोमा थप खोप खरिदको लागि अहिलेसम्म कुनै पनि राष्ट्रका खोप कम्पनीले सहमति जनाउन नसकेको कोभिड खोप व्यवस्थापनका संयोजक डा. उपे्रतीको भनाइ छ। कोभाक्सले दिने भनिएको खोप बैसाखपछि मात्र आइपुग्ने भएको छ। यो बैसाखसम्ममा अन्तर्राष्ट्रिय बजारमा खोप पाइएमा मात्र अन्य जनताले खोप पाउने स्थिति रहेको उनले बताए।  

पत्रकार अग्रपंक्तिमा परेनन्  

कोभिड १९ विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खट्ने जनशक्तिलाई दिने निर्णय सरकारले गरेको छ। तर अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सरकारले प्राथमिकतामा पारेन। किन राखिएन भन्ने विषमया कोभिड १९ विरुद्धको खोपका संयोजक डा. श्यामराज उप्रेतीले स्वास्थ्यकर्मी मात्र सिधै कोरोना संक्रमितसित जुधेर काम गर्नु पर्ने भएकोले उनीहरूलाई अग्रपंक्तिमा परेको बताए।  

प्रत्यक्ष रूपमा कोभिडका बिरामीसंग सम्पर्क रहेर काम गर्ने समूहभित्र पत्रकार नपरेकोले अग्रपंक्तिको समूहमा नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘पत्रकार सिधै कोरोना संक्रमितसंग काम गर्ने समूहमा पर्दैन, जसरी डाक्टर, नर्स, एम्बुलेन्स चालक पर्छन्,’ उनले भने। तर अग्रपंक्तिमा रहेकाहरूले खोप लगाए लगत्तै दोस्रो चरणमा पत्रकारलाई समावेश गर्ने योजना रहेको प्रवक्ता गौतमले बताए।

प्रकाशित: १० माघ २०७७ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App