८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

उदयपुरमा मेडिकल कलेज खोल्न त्रियुगा र कटारी नगरबीच तानातान

उदयपुरको त्रियुगा १३ भातिखर्कमा मेडिकल कलेज खोल्न चाहिने जमिनको अध्ययन गर्दै कार्यदल टोली । फाइल तस्वीर: महेश्वर

झण्डै एकवर्षअघि उदयपुरमा चिकित्सा शास्त्र अध्ययन गर्ने क्याम्पस (मेडिकल कलेज) खोल्ने हल्लाले जिल्लाबासीलाई उत्साहित जगायो । स्वास्थ्य मन्त्रालयबाट आएको मेडिकल कलेजका लागि पूर्वाधार खडा गर्न चाहिने जमिनको संभाव्यता अध्ययन गर्न ०७५ माघ दोस्रो साता टोली आएर सदरमुकामका विभिन्न ५ ठाउँको अध्ययन गरेपछि कलेज खुल्ने अघोषित टुंगो लाग्दा स्थानीय हर्षित नहुने कुरै थिएन ।  

त्यसमाथि स्थलगत अध्ययनपछि स्थानीय सरोकारवालाहरुसँग राय सुझाव लिन आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमपछि त उदयपुरमा अब मेडिकल कलेज खुल्ला जस्तै गरि नागरिक औसिएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका तत्कालीन प्राध्यापक डा. गोविन्द केसीको पटकपटकको अनसनपछि संसदबाट पारित ‘चिकित्सा विधेयक’ कार्यान्वयनको प्रारम्भमै उपत्यका बाहिर मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन टोली उदयपुर आएको थियो ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयले गठन गरेको प्राध्यापक मधुसुदन सुवेदी संयोजकत्वको संभाव्यता अध्ययन कार्यदल टोलीले त्रियुगा नगरपालिकामा मेडिकल कलेज खोल्न आवश्यक भौतिक पूर्वाधार निर्माणार्थ जमिनको अध्ययन गरेर फर्केको अहिले ११ महिना २२ दिन बितिसकेको छ तर, कलेज खोल्ने नखोल्ने विषयले कुनै टुंगो लिन नसकेको बताइएको छ । कार्यदल टोली त्यसबेला देशका बिभिन्न ठाउँमा कलेज खोल्न संभाव्यता अध्ययन गर्न परिचालन हुने क्रममा ०७५ माघ दोस्रो साता उदयपुर आई त्रियुगा र कटारी नगरपालिकामा अध्ययन गरी फर्केको थियो । अध्ययन टोली फर्केको वर्षदिन बित्न लाग्दासम्म कलेज खोल्ने नखोल्ने कुराको टुंगा नलागेपछि अहिले भने जिल्लाबासी ‘हिस्स बुढी हरिया दाँत’ हुन पुग्ने देखिएको छ ।

मन्त्रालयका उपसचिव तथा कार्यदलका सदस्यसचिव विष्णुप्रसाद मिश्र तथा विश्वविद्यालय अनुदान आयोगकका सदस्य विनोद भट्टराईसमेत संलग्न टोलीले त्यसबेला त्रियुगाका ५ ठाउँमा अध्ययन गरेको थियो । वडा नं. ३ को जोरपोखरी सामुदायिक वनको चापक्षेत्र र ४ को जनज्योति जोरपोखरी सामुदायिक वनको फर्सेट आसपास वनभोजस्थल र ८ को उत्तराही टोल–राजाबासक्षेत्रमा टोलीले अध्ययन गरेको थियो । त्यस्तै १२ को विशनपुर–लक्ष्मीपुरक्षेत्र र १३ को भातिखर्क–बहेडुवा क्षेत्रमा पनि अवलोकन गरेको थियो । कलेज खोल्न न्यूनतम २५ देखि ३५ बिगाहा जमिन चाहिने हुनाले फराकिलो ठाउँको भ्रमण गराइएको नगरप्रमुख बलदेव चौधरीले बताएका छन् । उनका अनुसार खुल्ला र प्रसस्त जमिन, पानीको स्रोत भएको ठाउँको खोजी गर्दै अवलोकन गराइएको थियो ।  

धेरै जमिन, मुख्य सडकसँगको पहुँचबाट टाढा नपर्ने, पानीको स्रोतलगायत सूचकहरु भएको बिभिन्न ठाउँ भ्रमण गराएर अध्ययन गराइएको नगरपालिकाले जनाएको छ । कलेजका लागि उपयुक्त वातावरण चाहिने हुँदा बजारभन्दा टाटा हुनुपर्ने भन्दै टोलीले नगरभित्र जग्गाको उपलब्धता, जनसंख्या, स्थानीयको स्वास्थ्य अवस्था, विरामीको संभावित चापलगायत सूचकहरुसँग मेल खानेगरी स्थलगत अबलोकन गरेको थियो । अबलोकनपछि जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दललगायत सरोकारवालासँग एकदिने अन्तरक्रियात्मक छलफलसमेत गरेको थियो ।  

जिल्ला समन्वय समिति उदयपुरले सरोकारवालाहरुको बृहत सहभागितासहितको अन्तरक्रिया कार्यक्रम गर्दै कलेज खोल्नुपर्ने आवश्यकक्तालाई उजागर गरेको थियो । समन्वय प्रमुख खड्ग परियारका अनुसार त्यसबेला गाईघाटमै मेडिकल कलेज स्थापना गर्नेगरी टोलीसँग छलफल भएको तर, अहिलेसम्म टोलीले प्रतिबेदन बुझाए नबुझाएको जानकारी नभएको बताएका छन् । सदरमुकाम र जिल्लाको बीच परेकाले जनघनत्व, जमिनको उपलब्धतालगायत कारणले गाईघाट नै कलेज खोल्न उपयुक्त हुने ठहरसहितको राय त्यसबेला आफुहरुले दिएको उनले स्मरण गरे । सबै आधारलाई मान्ने हो भने गाईघाटमै कलेज खोल्नु उपयुक्त हुने निश्कर्ष त्यसबेला निकालिएको परियार बताउँछन् ।

‘कलेजको पहुँच, निरन्तरता र सञ्चालनको संभाव्यता हेर्ने हो भने गाईघाट नै उपयुक्त हुन्छ’ अर्का सरोकारवाला अधिवक्ता मोहन कार्कीको धारणा छ ‘त्यसबेला टोलीलाई हामीले गाईघाटमै कलेज खोल्नुपर्छ भनेर प्रष्ट्याएकै हो, तर प्रतिबेदन आयो आएन, पछिल्लो अपडेट केही थाहा भएन ।’ उदयपुरमा मेडिकल कलेज कति आवश्यक, कति संभावना र कति चुनौति भन्ने विषयमा वकिल, नागरिक समाजदेखि जनप्रतिनिधि हुँदै सर्वसाधारणसम्मले टोलीलाई प्रष्ट्याएका थिए । छलफलले प्राप्त सुझावको आधारमा गाईघाटमा कलेज खोल्ने टुंगो लागेको उनको बुझाई छ ।  

नगरपालिका, प्रशासन, प्रहरी, जनस्वास्थ्य, जिल्ला अस्पताल, डिभिजन वन, नापी, भूसंरक्षणका प्रमुख तथा प्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार, कानुन व्यवसायी, नागरिक समाजलगायतसँग टोलीले राय लिएको थियो । त्यसैवर्ष त्रियुगा नगरपालिकाको नगरसभा अधिवेशनबाट मेडिकल कलेज खोल्ने नीति तथा कार्यक्रम नै पारित गरेको थियो ।

डा. केसीको ०७५ को १५ औं अनसन तोड्न सरकारले द्विपक्षीय सम्झौता गर्दा देशका बिभिन्न ५ जिल्लामध्ये ३ ठाउँमा मेडिकल कलेज खोल्ने वाचा गरेको थियो । जस अनुसार उदयपुर पनि एक भएको भन्दै अध्ययन टोलीलाई सरकारले यहाँ पनि खटाएको हो । टोली संयोजक सुबेदीका अनुसार अन्यमा जस्तै उदयपुरमा पनि कलेज खोल्ने सरकारी निर्णय अनुसार अध्ययन गर्न आफुहरु आएको बताएका थिए । उनले अध्ययनपछि सरोकारवालाको राय सुझावको निचोड समेटेर मन्त्रालयमा प्रतिबेदन बुझाउने र त्यसै अनुसार अघि बढ्ने बताएका थिए ।  

कार्यदलका सदस्यसचिव मिश्रले स्थलगत अध्ययनपछि कार्यदलले दिने प्रतिबेदनका आधारमा कलेज खोल्ने गरी अन्य जिल्लासँगै उदयपुरको पनि अध्ययन गरिएको बताएका थिए । डा. केसी र सरकारबीच सम्झौता भए अनुसार उदयपुर, इलाम, पाँचथर, डडेलधुरा र डोटी ५ मध्ये ३ जिल्लामा मेडिकल कलेज खोल्ने सरकारको नीति छ । कलेज खोल्न २५ देखि ३५ बिगाह जमिन, न्यूनतम ३ सय शैय्याको अस्पताल र स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सामुहिक र विबादरहित सहभागिता चाहिने जानकारी मिश्रले दिएका थिए ।  

‘उदयपुरमा एउटा मेडिकल कलेज अति आवश्यक देखिएको र त्रियुगामै उपयुक्त ठाउँ भएकोे’ गाईघाटकी अधिकारकर्मी महेश्वरी राईको सुझाव छ । सरकारको पोलिसी अनुुसार गाईघाटमै मेडिकल कलेज खोल्नु उपयुक्त हुने आधारहरुसमेत उनले प्रस्तुत गरेकी छिन् । यहाँका सरकारी तथा नीजि अस्पतालको प्रबद्र्धन, छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर तथा २ नं. प्रदेशका सप्तरी र सिराहासाग जोडिएको जिल्ला भएकाले गाईघाटमा स्वास्थ्य सेवा दिने दक्ष जनशक्ति उत्पादन गर्न कलेज आवश्यक भएको उनको तर्क छ ।

गाईघाटमा ५० शैय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा छ भने बजारमै २५ शैय्याको रौता अस्पताल र १५ शैय्याका त्रियुगा अस्पताल पनि नीजि लगानीमा सञ्चालित छन् । कटारी नगरपालिकामा २५ शैय्याको सरकारी कटारी अस्पताल छ भने २ वटा पोलिक्लिनिक सञ्चालित छन् । चौदण्डीगढी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, १० शैय्याको नीजि चौदण्डीगढी अस्पताल र पोलिक्लिनिक सञ्चालनमा रहेको अध्ययन टोलीलाई जानकारी दिइएको थियो ।  

कलेज खोल्ने नखोल्ने टुंगो नभईसके पनि उदयपुरका त्रियुगा र कटारी नगरपालिकाले आफ्नो नगरभित्र कलेज खोल्न चर्को दबाब दिदै माथिल्लो निकायसम्म पहल गरिरहेको बुझिएको छ । उनीहरुले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका उच्च पदस्थ व्यक्तिलाई गुहार्दै आफ्नो नगरभित्र कलेज खोल्न पहल गरिराखेको स्थानीयहरु बताउँछन् । कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले १ वर्षअघि नै संघीय सांसद सुरेशकुमार राईसहितको टोली लिएर प्रधानमन्त्री केपी ओली र तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई भेटेर कटारीमै मेडिकल कलेज खोल्न आग्रह गरेका थिए । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले पनि प्रधानमन्त्री र शिक्षामन्त्री दुवैलाई भेटेर गाईघाटमा कलेज खोल्न लिखित र मौखिक आग्रह गरेको बताएका छन्।  

प्रकाशित: ९ माघ २०७७ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App