६ कार्तिक २०७८ शनिबार
स्वास्थ्य

संकटका बेला साथ

नेपालीमा एउटा भनाइ छ, ‘जतिसुकै विवाद किन नहोस्, संटकका बेला सघाउने पहिलो छिमेकी नै हुन्छ।’ यो भनाइ व्यक्ति वा समाजका हकमा मात्र नभएर मुलुकहरूका बीचमा पनि लागु हुन्छ। त्यसको एउटा उदाहरण हो नेपाल–भारत सम्बन्ध। हुन त नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेकी छन्। उत्तरसँगको छिमेकी चीनसँग नेपालको विवाद पनि कम छ र सम्बन्ध पनि त्यस्तै। दक्षिणतर्फको छिमेकी भारतसँग नेपालको धेरै विषयमा विवाद छ र भइरहन्छ। नेपालको नजरमा भारत हेपाहा र मिचाहा पनि छ। आफूलाई राष्ट्रवादी देखाउन भारतलाई गाली गर्नेको पनि नेपालमा कमी छैन। यसमा नेपालप्रति भारतको व्यवहार नै प्रमुख कारण हो।

हाल उत्पादन भएका खोप बहुसंख्यक भारतीय जनताको पहुँचमा पुगिसकेको छैन। तर भारतले नेपालसहित कतिपय छिमेकी मुलुकलाई सहयोगस्वरूप उपलब्ध गराइसकेको छ।

तर नेपालले भोगेका संकटका बेला अग्रसरता लिनेमा पनि भारत पहिलो मुलुक बन्ने गरेको छ। २०७२ को भूकम्प, नेपालमा जाने बाढीपहिरो लगायतका प्रकोपमा सहयोग गर्नेमात्र नभएर कोरोना महामारीसँग लड्न आवश्यक स्वास्थ्य सामग्री पनि भारतले नेपाललाई उपलब्ध गराएको छ। अनुमति पाएको छोटो अवधिमै बिहीबार नेपाललाई उपलब्ध गराएको कोरोना खोप पनि यसको पछिल्लो उदाहरण हो। राजनीतिक संकटका बेला पनि भारतले नेपाललाई सघाउने गरेको छ। तर त्यसलाई तत्कालीन अवस्थाअनुसार कतिपय अवस्थामा सही र कतिपय अवस्थामा हस्ताक्षेपका रूपमा अथ्र्याउने गरिएको छ।

कोरोना महामारीबाट नेपालभन्दा बढी भारत नै प्रभावित छ। हाल उत्पादन भएका खोप बहुसंख्यक भारतीय जनताको पहुँचमा पुगिसकेको छैन। तर भारतले नेपालसहित कतिपय छिमेकी मुलुकलाई सहयोगस्वरूप उपलब्ध गराइसकेको छ। जब कि नेपाल र चीन पनि दुई असल छिमेकी हुन् तर चीनले अलि ढिलै मात्र नेपालको संकटलाई सम्बोधन गर्ने गरेको छ। पछिल्लो समय दुई देशबीच राजनीतिक र सरकारी तहमा समेत सुमधुर सम्बन्ध रहेको बताइरहँदा केही अघिदेखि नै कोरोनाविरुद्ध खोप लगाइरहेको चीनले छिमेकीका रूपमा नेपाललाई सहयोगका लागि तदारुकता देखाएको देखिँदैन। परराष्ट्र मामिलाका जानकारहरूले भारतले बिहीबार उपलब्ध गराएको कोरोनाविरुद्धको खोपलाई भारतले विगतमा नेपालप्रति जनाउँदै आएको सद्भाव र सहयोगको निरन्तरताका रूपमा अथ्र्याउने गरेका छन्।  

कतिपयले यसलाई भ्याक्सिन कूटनीति भन्ने गरेका छन्। ‘दुईपक्षीय र बहुपक्षीय सम्बन्धको गुरुत्वाकर्षण बनेको भ्याक्सिन कूटनीतिमा भारतले छिमेकीहरूप्रति देखाएको सदासय उल्लेखनीय छ,’ पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डेले भने।

पाण्डेले नेपालप्रतिको भारतको सद्भाव र सहयोगको निरन्तरताको यो उदाहरणलाई नेपाली जनताले मित्रवत् मूल्यांकन गरेको बताए। भारतले नेपाललाई संकटका बेला सहयोग गर्दै गर्दा आफ्नो स्वार्थलाई पनि घुसाउन खोज्दा आलोचित हुने गरेको छ। २०७२ को भूकम्पका बेला सबैभन्दा पहिले सहयोग गर्ने मुलुक हुँदाहुँदै पनि कामभन्दा प्रचार बढी गर्दा र विमानस्थल क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदा भारतको आलोचना भएको थियो। हाल कोरोनाको खोप उपलब्ध गराएर प्रशंसा बटुलिरहेको भारतले भ्याक्सिन कूटनीतिका मध्यमबाट आफ्नो प्रभाव स्थापना गर्ने मात्र नभएर भविष्यका लागि अर्बाैंको भ्याक्सिन व्यापारका लागि बाटो खोलेको कतिपयको तर्क छ। 

‘भ्याक्सिन सहयोग छिमेकीप्रतिको सदासय वा भ्याक्सिन कूटनीतिमात्र होइन, भारतले भोलिका लागि छिमेकी मुलुकभित्रै अर्बाैं डलरको बजार पनि सुनिश्चित गरेको छ,’ नेपाल भारत मामिलाका एक जानकारले नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने। भ्याक्सिन खरिद निरन्तरताको प्रक्रिया हुने भएकाले अहिले सहयोगका रूपमा भारतले छिमेकीहरूलाई भ्याक्सिन उपलब्ध गराएपछि पछि अन्य मुलुकबाट भ्यासिक्न खरिद गर्दा नैतिकताको प्रश्न उठ्ने र त्यसले भारतको भ्यासिक्न बजार फस्टाउने कतिपयको तर्क छ।

प्रकाशित: ९ माघ २०७७ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App