८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कलैया अस्पतालका स्वास्थ्यकर्मी पाँच दिनदेखि आन्दोलनमा

जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प गरेर आन्दोलन गर्दै आएका छन्।  

उपचार सेवा ठप्प गरेर अस्पतालका कर्मचारी आन्दोलनमा जाँदा सेवाग्राही भने मर्कामा परेका छन्। विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका बिरामीहरू उपचार नै नपाएर घर फर्कन बाध्य छन्। सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपल्बध गराउने निर्णय गरेको थियो। तर, कलैया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले अहिलेसम्म भत्ता पाउन नसकेको कर्मचारीहरूले गुनासो गरेका छन्।

गत चैत ९ गतेदेखि कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रूपैयाँ पनि जोखिम भत्ता अस्पतालले उपलब्ध नगराए पछि बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलन समितिका संयोजक डा. हरिओम केशरीले बताए। कलैया अस्पतालले गंगापुरमा अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गरेको अवस्थामा अस्पतालका १ सय ५ जना कर्मचारी कोरोना महामारीमा खटेका र पटक–पटक जोखिम भत्ताको माग गर्दा अस्पताल प्रशासनले कुनै सुनवाई नगरेपछि बाध्यभएर आन्दोलन गर्नु परेको डा. केशरीले बताए।

कर्मचारीहरूले पाउँदै आएको तलब बराबत जोखिम भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको थियो। तत्कालिन मेडिकल सुपरिटेन्डेन वीरेन्द्र मण्डर र लेखापाल बाबुराम प्रसादले स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि आएको भत्ता समेत नदिएर फिर्ता पठाएको डा. केशरीले आरोप लगाए। आन्दोलन गर्नुभन्दा पहिला जोखिम भत्ता उपलब्ध गराउन लागि संघ, प्रदेश र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाए पनि हाम्रो माग सुनुवाई नभएपछि बाध्यभएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ।  

गत पुस २६ गते अस्पताल प्रशासनलगायत सरोकारवालालाई जानकारी गराए पनि भत्ता उपलब्ध हुने अवस्था नदेखेपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ। कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहाले गत चैतदेखि काम गरेका कर्मचारीलाई असारमै जोखिम भत्ता दिनुपर्नेमा अस्पतालले नदिएको बताए। कर्मचारीहरूले आन्दोलन सुरु गरेपछि जोखिम भत्ताको लागि संघीय र प्रदेश सरकारलाई पुरानो जोखिम भत्ता उपल्बध गराई दिनको लागि माग गरेको उनले बताए।  

आन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरूले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका छन्। समान्य अवस्थामा कलैया अस्पतालमा २ सय ५० भन्दा बढी विभिन्न रोगका बिरामी चेकजाँच गराउन आउने गरेका थिए। तर, कर्मचारीको आन्दोलनका कारण पाँचदिनदेखि आकस्मिक बाहेकका एक जना पनि बिरामीको जाँच गरिएको छैन।

प्रकाशित: ४ माघ २०७७ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App