coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना रहस्य पत्ता लगाउन डब्लुएचओ टोली चीनमा

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एक टोली बिहीबार चीनको वुहान आएको छ। तर अध्ययन नतिजा असहज आए सार्वजनिक गर्न चीन सरकारले आनाकानी गर्न सक्ने सम्भावना देखिएको छ। महिनौंसम्मको कूटनीतिक प्रयासपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई चीन सरकारले यहाँ आउन अनुमति दिएको हो।  

सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारीले विश्वभरिका गरी १९ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। चीनको दक्षिण–पश्चिम क्षेत्रमा सुरुमा चमेरो अथवा अन्य जनावरबाट कोरोना भाइरस मानिसमा सरेको मानिएको छ। विश्वभरि यो भाइरस फैलाएको आरोप चीनले खेपेको छ। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले भने यो आरोप सत्य नभएको बताउँदै आएको छ। चीनले कोरोना भाइरस अन्य देशबाट आएको दाबी गरेको छ। आयात गरिएका सामुद्रिक खाद्यवस्तु (सी फुड) मार्फत यो भाइरस चीन आएकोे दाबी उसको रहे पनि अन्तर्राष्ट्रिय वैज्ञानिकहरू यसमा सहमत छैनन्। अनुसन्धान टोलीका १५ सदस्यमध्ये दुईजनामा कोरोनो एन्टिबडी देखिएपछि सिंगापुरमा पुनः परीक्षण गरिएको डब्लुएचओले आफ्नो ट्विटमार्फत जनाएको छ। तर टोलीका अन्य सदस्य बिहीबार वुहान विमानस्थलमा उत्रिएका छन्। मास्क लगाएका अनुसन्धान टोलीका सदस्यलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका विमानस्थलका कर्मचारीले स्वागत गरेका थिए।  

अनुसन्धान टोलीका सदस्यहरू दुई साता क्वारेन्टिनमामा रहने छन्। उनीहरूको ‘थ्रोट स्वाब’ तथा एन्टिबडी परीक्षण पनि गरिने चीनको अंग्रेजी टिभी च्यानल सिजिटिएनले जनाएको छ। अनुसन्धान टोलीले क्वारेन्टिनमा रहँदा भिडियो कम्फेरेन्समार्फत चिनियाँ विशेषज्ञसँग सहकार्य गर्नेछ। टोलीमा अमेरिका, अस्ट्रेलिया, जर्मनी, बेलायत, रुस, नेदरल्यान्ड, कतार र भियतनामका भाइरसविज्ञ तथा अन्य विशेषज्ञ छन्। चीन सरकारका एक प्रवक्ताले डब्लुएचओको अनुसन्धान टोलीले स्थानीय वैज्ञानिकसँग परामर्श गर्ने कुरा यसै साता बताएका छन्। तर उनीहरूलाई प्रमाण संकलन गर्न अनुमति दिने वा नदिने भन्नेबारे ती प्रवक्ताले प्रष्ट रूपमा केही भनेनन्। अमेरिकाको ट्रम्प प्रशासनले बेइजिङले कोरोना भाइरस फैलाएको आरोप लगाएपछि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबाट अनुसन्धान गराउन चीनले अस्वीकार गरेको थियो।  

कोरोना महामारीले विश्व अर्थतन्त्रलाई सन् १९३० यता सबैभन्दा बढी प्रभावित पारेको छ। गत अप्रिलमा कोरोना भाइरसबारे स्वतन्त्र अध्ययन हुनुपर्ने माग अस्ट्रेलियाले राखेपछि चीनले त्यहाँबाट बिफ, वाइन र अन्य सामग्री आयातमा बन्देज लगाएको थियो। वन्यजन्तु सिकारीले यो भाइरस वुहानका व्यापारीमा सारेको हुनसक्ने डब्लुएचओका टोली सदस्य तथा युएस ग्रुप इकोहेल्थ एलायन्सका जीवशास्त्री पिटर डासजकले एपीलाई नोभेम्बरमा बताएका थिए। वैज्ञानिकको एक पटकको भ्रमणले कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन कठिन छ।  

यसका लागि विभिन्न जनावरको नमुना, अनुवांशिक समीक्षा तथा इपिडिमियोलोजिकल अध्ययन गर्न आवश्यक हुन्छ। यस्तो कठिन अध्ययनका लागि बर्सौं लाग्न सक्छ।

‘चीन सरकार पारदर्शी र सहयोगी हुनुपर्छ,’ ताइवानस्थित चाङगुङ विश्वविद्यालयअन्तर्गत रिसर्च सेन्टर फर इमर्जिङ भाइरल इन्फेक्सनका निर्देशक सिन रु सीले भने। भाइरस उत्पत्तिबारे चीन सरकारले विभिन्न भ्रम सिर्जना गरेको छ। उसले प्रमाणबिनाका विभिन्न सिद्धान्त अगाडि सारेको छ। ‘डब्लुएचओले अन्य स्थानमा यस्ता अध्ययन गर्न आवश्यक छ,’ चीनको नेसनल हेल्थ कमिसनका अधिकारी मी फेङले भने। डब्लुएचओको टोलीमा रहेका कतिपय सदस्य केही दिनअघि नै चीन पुग्ने तयारीमा भए पनि भिसा अनुमति नभएकाले रोकिएका थिए। अन्तर्राष्ट्रिय टोलीप्रति चीनले देखाएको यो रवैयाले उसले यो विषयमा हस्तक्षेप गर्न चाहेको देखिएको युनिभर्सिटी अफ सिडनीको स्वास्थ्य विशेषज्ञ कामराड स्कटको आँकलन छ।  

सबैभन्दा पहिला वुहान इन्स्टिच्युट अफ भाइरोलीमा भाइरस देखिएकाले अनुसन्धान क्रममा यो केन्द्रलाई बढी ध्यान दिइने सम्भावना छ। चीनको एक प्रमुख प्रयोगशाला मानिएको यो इन्स्टिच्युटमा सन् २००३ मा देखिएको सार्स भाइरसका अनुवांशिक सूचना संकलन गरिएको छ। सो प्रयोगशालाबाट संयोगवश कोरोना भाइरस फैलिएको दाबी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका नेताले गरे पनि डब्लुएचओले यसबारे अध्ययन गर्ने योजना बनाएको छैन। यो इन्स्टिच्युटका वैज्ञानिक अडिट र सुरक्षा व्यवस्थाको समीक्षा नियमित कार्यमा पर्ने इडिनवर्ग विश्वविद्यालयका इपिडिमियोलोजिस्ट मार्क उलहाउस बताउँछन्। ‘यसमा विश्वासको समस्या देखिएको छ,’ उनले भने।  

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गरेको एक अनुसन्धानले चीन सरकारले महामारीको विषयमा गरिने अनुसन्धानलाई बन्देज लगाएको र वैज्ञानिकलाई पत्रकारसँग बोल्न रोक लगाएको देखाएको छ। भाइरसले निरन्तर आफ्नो रूप परिवर्तन गर्ने भएकाले यसको उत्पत्ति कहाँ भएको हो भनेर ठ्याक्कै भन्न नसकिने तर्क इपिडिमियोलोजिस्ट उलहाउसको छ। मानिसमा देखिएको जस्तो कोभिड–१९ भाइरस अन्य जनावरमा रहेनरहेको पत्ता लगाउन चुनौतीपूर्ण रहे पनि नजिकैको नाता भएका भाइरस पत्ता लागेमा यो भाइरस सुरुमा कसरी अन्य जनावरबाट मानिसमा स¥यो भन्ने विषयमा थप जानकारी मिल्ने अपेक्षा वैज्ञानिकहरूको छ। ‘वैज्ञानिकहरूले कोरोनाको समग्र चित्र पत्ता लगाउनुभन्दा पनि भविष्यमा हुनसक्ने यस्तै महामारी रोक्न के गर्न सकिन्छ भन्ने विषयमा बढी ध्यान दिन जरुरी छ,’ उलहाउस भन्छन्। ‘यो दोषारोपण गर्ने समय होइन र हामीले यो कसैको गल्ती हो भनेर भन्न हुँदैन,’ चाङगुङ विश्वविद्यालयका निर्देशक सिन रु सीले भने।

प्रकाशित: २ माघ २०७७ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App