१४ माघ २०७७ बुधबार
स्वास्थ्य

मस्तिष्क सक्रिय र स्वस्थ राख्ने उपाय

सामान्य अवस्थाको तुलनामा महामारीको अवस्थामा बढी तनाव हुनु स्वाभाविकै हो। अहिले विश्वलाई नै कोरोना भाइरस (कोभिड–१९)को तनावले सताएको अवस्था छ। तर, यस्तो अवस्थामा पनि मस्तिष्क स्वस्थ, सक्रिय र फिट राख्न सकिन्छ। 

सामान्य भाषामा मस्तिष्कलाई दिमागका रुपमा चिनिन्छ। मस्तिष्क केन्द्रीय स्नायु प्रणालीको महत्वपूर्ण अंग हो। मस्तिष्कले केन्द्रीय स्नायु प्रणालीलाई सञ्चालन गर्छ। खप्परभित्र हुने मस्तिष्क न्यूरोनहरुबाट बनेको हुन्छ। 

रसायनको खेल
मस्तिष्कबाट डोपामिन, सेरोटोनिनजस्ता विभिन्न किसिमका रासायनिक तत्व निष्कान हुन्छन्। जुन तत्वलाई चिकित्सकीय भाषामा ‘न्यूरो ट्रान्समिटर’ भनिन्छ। मस्तिष्कको सम्बन्ध मनसँग हुन्छ। मस्तिष्कबाट जस्तो किसिमको रसायन निष्कासन हुन्छ, त्यस्तै किसिमको मन हुन्छ। खुसी हुँदा, तनाव हुँदा, भोक लाग्दा, यौन चाहना हुँदा फरक–फरक मस्तिष्क रसायन निष्कासन हुन्छन्।  

शरीरका सम्पूर्ण प्रणाली तथा अंगहरु मस्तिष्कबाटै सञ्चालित हुन्छन्। त्यसैले मस्तिष्कलाई शरीरका प्रणाली सञ्चालन गर्ने चालक पनि भनिन्छ। 

मस्तिष्कले नै शरीरलाई निर्देशित गर्ने भएकाले यसलाई स्वस्थ र फिट राख्न आवश्यक पर्छ। हाम्रो शरीरमा भएको २५ प्रतिशत क्यालोरी मस्तिष्कले प्रयोग गर्छ भने ७५ प्रतिशत अन्य अंग तथा प्रणालीले प्रयोग गर्छन्। हामीले फेर्ने श्वासको २० प्रतिशत अक्सिजन मस्तिष्कले लिन्छ। यसबाट पनि थाहा हुन्छ कि मस्तिष्कलाई सक्रिय र फिट राख्नका लागि प्रशस्त अक्सिजन आवश्यक हुन्छ भन्ने। मस्तिष्कमा अक्सिजनको कमी भएको अवस्थामा झर्को लाग्ने, रिस उठ्ने, काम गर्न जाँगर नचल्ने जस्ता समस्या उत्पन्न हुन्छ। 

उमेर बढ्दा निष्क्रियता
सामान्यतः ६ वर्षको उमेरसम्ममा करिब ८० प्रतिशत मस्तिष्कको विकास भैसकेको हुन्छ। ३० वर्षको उमेरसम्म मस्तिष्क वृद्धि–विकासको क्रममा हुन्छ। शरीरका अन्य अंगको तुलनामा मस्तिष्कको विकास चाँडै हुन्छ। 

मानिसको उमेर बढ्दै जाँदा मस्तिष्कको वृद्धि–विकास र कार्यक्षमता कम हुँदै जान्छ। ३० वर्षपछि मस्तिष्कको विकास रोकिन्छ। त्यसपछि मस्तिष्कको कार्यक्षमतामा पनि कम हुँदै जान्छ। मस्तिष्क न्यूरोनबाट बनेको हुन्छ। उमेर बढ्दै जाँदा मस्तिष्कका न्यूरोन सुक्दै, खुम्चँदै, मर्दै जाने भएकाले मस्तिष्कको तौल पनि कम हुँँदै जान्छ। जसले गर्दा मस्तिष्कको कार्यक्षमतामा कमी हुँदै जान्छ। 

औसतमा वयस्क व्यक्तिको मस्तिष्कको तौल १२सय ५० देखि १४ सय ग्रामसम्मको हुन्छ। पुरुषको तुलनामा महिलाको मस्तिष्कको तौल केही कम हुन्छ। औसतमा वयस्क व्यक्तिको शरीरको तौलको दुई प्रतिशत मस्तिष्कको तौल हुन्छ। 

त्यसो त मस्तिष्कको तौल धेरै हुँदैमा व्यक्ति तीक्ष्ण क्षमताको हुन्छ भन्ने छैन। उमेर पाको हुँदै जाँदा मस्तिष्कको कार्यक्षमतामा पनि कमी हुँदै जान्छ। अव्यवस्थित जीवनशैली अपनाउनाले पनि मस्तिष्कको कार्यक्षमतामा ह्रास आउँछ। जसले मस्तिष्क स्वस्थ तथा फिट रहनबाट वञ्चित हुँदै जान्छ। 

त्यसैले मस्तिष्क फिट र स्वस्थ राख्नका लागि धुमपान तथा मद्यपान गर्नुहुन्न। धुमपान तथा मद्यपान गर्दा यिनीहरुमा पाइने नकारात्मक तत्वका कारण मस्तिष्कको काम गर्ने क्षमतामा कमी आउँछ। 

फिट राख्ने टेक्निक
त्यसो त मस्तिष्क फिट तथा सक्रिय राख्न भने नसकिने हैन। मस्तिष्क सक्रिय तथा फिट राख्ने विभिन्न किसिमका टेक्निक छन्। मस्तिष्क सक्रिय तथा फिट राख्नका लागि आठ घण्टा मस्त निदाउनु आवश्यक हुन्छ। निद्रा नपुग्दा मस्तिष्कले आराम नपाउने भएकाले मस्तिष्कको कार्यक्षमतामा कमी हुन्छ। मस्तिष्क स्वस्थ, फिट तथा सक्रिय रहनका लागि पर्याप्त मात्रामा ‘भिटामिन–डी’ को आवश्यकता पर्छ। त्यसैले बिहानको घाममा दैनिक करिब आधा घण्टा बस्नुपर्छ। जसलाई सनबाथ लिने पनि भनिन्छ। मस्तिष्क फिट राख्नका लागि सन्तुलित भोजन त गर्नै प-यो।

त्यसैगरी लेख्ने, पढ्ने तथा नयाँ कुरा सिक्दा मस्तिष्कको व्यायाम भई मस्तिष्कको कार्यक्षमतामा वृद्धि हुन्छ। जसले व्यक्तिको सृजनशीलताको विकास हुन्छ। जति धेरै किसिमका भाषा सिक्यो त्यति नै बढी मस्तिष्क सक्रिय र स्वस्थ राख्न सकिन्छ। 

मस्तिष्क स्वस्थ, सक्रिय र फिट राख्नका लगि चेस, पजलजस्ता खेल खेल्न सकिन्छ। सधैँ हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्नाले नयाँ कुराको जानकारी हुन्छ। जसले मस्तिष्क सक्रिय भई सृजनशीलतामा पनि वृद्धि हुन्छ। 

पाँच इन्द्रिय सक्रिय
नाक, कान, आँखा, मुख र छाला गरी पाँचवटा इन्द्रिय सक्रिय बनाउनाले पनि मस्तिष्क सक्रिय तथा फिट राख्न सकिन्छ। आँखा सक्रिय बनाउँदा हेर्न सकिन्छ। कान सक्रिय बनाउँदा सुन्न सकिन्छ। नाक सक्रिय बनाउँदा सुघ्ने क्षमताको वृद्धि हुन्छ। त्यसैगरी मुख सक्रिय बनाउँदा रसास्वादन लिन सकिन्छ । छाला सक्रिय बनाउँदा स्पर्शको महसुस गर्न सकिन्छ। यस्ता पञ्च इन्द्रियको माध्यमबाट मस्तिष्कले जानकारी लिने भएकाले पञ्च इन्द्रियको सक्रियता बढाउनका लागि विशेष किसिमका व्यायामको आवश्यकता हुन्छ। पञ्च इन्द्रियसम्म पुगेको जानकारीको आधारमा मस्तिष्कले मन्थन गरी निर्णय लिन सक्छ। जहिल्यै जिज्ञासु स्वभावको हुन आवश्यक छ। 

दायाँ मस्तिष्क सृजनशील
मस्तिष्कको बायाँ भागको सम्बन्ध शरीरको दायाँ भागसँग हुन्छ भने मस्तिष्कको दायाँ भागको सम्बन्ध शरीरको बायाँ भागसँग हुन्छ। बायाँ भागको मस्तिष्कको तुलनामा दायाँ भागको मस्तिष्क सृजनशील हुन्छ। बायाँ हातलाई चलाई सक्रिय बनाउँदा दायाँ भागको मस्तिष्क सक्रिय हुन्छ। दायाँ हात बढी चलाउँदा भने बायाँ भागको मस्तिष्क बढी सक्रिय हुन्छ। भनिन्छ, ‘दायाँको तुलनामा बायाँ हात बढी सक्रिय बनाउने व्यक्ति सृजनशील तथा बौद्धिक हुन्छन्।’ जुन भागको मस्तिष्क कम चल्छ त्यो भागको मस्तिष्क बिस्तारै निष्क्रिय बन्दै जान्छ। 

सृजनशील मस्तिष्क दायाँतर्फको भएकाले हात लगायत शरीरको बायाँ भागलाई बढी सक्रिय बनाउने हो भने दायाँतर्फको मस्तिष्कलाई फिट राखी सृजनशील बनाउन सकिन्छ। 

त्यसैले दुवै भागको मस्तिष्क सक्रिय र फिट राख्नका लागि दुवैपट्टिका कान हातले विपरीत गरी समाएर उठबस गर्नाले पनि मस्तिष्क सन्तुलित रुपमा सक्रिय हुन मद्दत मिल्छ। 

बायाँ मस्तिष्क तथ्य, तर्क, गणितसँग सम्बन्धित हुन्छ भने दायाँ मस्तिष्क कल्पना तथा सृजनशीलतासँग सम्बन्धित हुन्छ। वयस्क हुँदै जाँदा बायाँ मस्तिष्क नै बढी सक्रिय हुन्छ। जसले सृजनशीलतामा कमी आउँछ। त्यसैले दायाँ मस्तिष्कलाई सक्रिय बनाउनका लागि कल्पना गर्ने, चित्र बनाउने, गीत–संगीतको धुन सुन्न सकिन्छ। 

सामाजिक सक्रियताका कारण पनि मस्तिष्क स्वस्थ, सक्रिय र फिट रहन मद्दत मिल्छ।  

व्यायाम
त्यसैगरी मस्तिष्क सक्रिय राख्नका लागि शारीरिक तथा मानसिक व्यायाम गर्न जरुरी हुन्छ। मस्तिष्क शरीरको एक अंग हो। त्यसैले विभिन्न व्यायाम तथा काम गरी शरीरलाई चलायमान बनाएको खण्डमा अक्सिटोसिन, डोपामिन, सेरोटोनिनजस्ता खुसी दिने हार्मोनको निष्कासनमा वृद्धि हुन्छ। जसले व्यक्तिको तनाव कम भई खुसी र आनन्द मिल्छ। व्यक्तिको मनमा खुसी तथा आनन्द मिल्नुको अर्थ मस्तिष्क स्वस्थ, फिट र सक्रिय हुनु हो। व्यायामले स्मरण शक्ति बढ्न मद्दत मिल्छ।

योगा, ध्यान, विभिन्न किसिमका खेलकुद खेली व्यक्ति शारीरिक तथा मानसिकरुपमा फिट रहन सकिन्छ। जसमध्ये ताइची व्यायामले मस्तिष्क सक्रिय राख्न प्रभावकारी हुन्छ। अनुसन्धानले ध्यान गर्दा मस्तिष्कको तौलमा वृद्धि भई मस्तिष्क सक्रिय, स्वस्थ र फिट रहेको पाइएको छ। 

कुनै हिसाब गर्दा क्यालकुलेटरको बढी प्रयोग गर्नाले पनि मस्तिष्क सक्रियतामा समस्या निम्तन्छ। त्यसैले हिसाब गर्दा पनि सकेसम्म क्यालकुलेटरको प्रयोग नगर्नु नै ठिक हुन्छ। त्यसैगरी फोन नम्बर कण्ठ गर्दा पनि मस्तिष्क सक्रिय राख्न सकिन्छ। 

दैनिक कार्यमा प्रविधिको कम प्रयोग गर्दा मस्तिष्क सक्रिय र फिट राख्न सकिन्छ। पाको उमेरमा देखिने अल्जाइमर्श–डिमेन्सिया जस्तो रोग पनि मस्तिष्कको न्यूरोन सुक्दै, मर्दै जानाले मस्तिष्कको कार्यक्षमतामा कमी आएर हुने समस्या हो। त्यसैले पाको उमेरमा यो समस्या देखा पर्ने सम्भावना बढी हुन्छ। शारीरिक तथा मानसिकरुपमा कम सक्रिय हुँदा यस्तो समस्या बढी देखापर्छ। त्यसैले मस्तिष्क सक्रिय तथा फिट राख्न सचेत हुनुपर्छ।

प्रकाशित: २८ पुस २०७७ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App