सरकारले पुस र माघ महिनाभित्र ६ लाख जनताको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको जनाएको छ। तीमध्ये ३ लाख पुसभित्र र तीन लाख माघभित्र परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले सबै प्रदेशका ठूला सहर तथा हटस्पट स्थान पहिचान गरी परीक्षण गर्ने तयारी गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। ‘दुई महिनाभित्र ६ लाखको तीव्र रूपमा परीक्षण गर्ने तयारी भइसकेको छ,’ उनले भने।
श्रेष्ठका अनुसार सरकारले १० लाख एन्टिजेन परीक्षण गर्ने तयारी गरेकोमा दुई महिनाभित्र ६ लाख र बाँकी आवश्यकताअनुसार अन्य महिनामा परीक्षण गर्नेछ। एन्टिजेन परीक्षणमा नेगेटिभ परीक्षण आएका तर कोरोनाका शंकास्पद लक्षण भएकाको पिसिआर परीक्षण गरिनेछ। हाल पिसिआर नेगेटिभ आएकामा पनि सिटिस्क्यानमा कोरोना निमोनियाँ देखिएकाले भरपर्दो जाँच गर्नका लागि लक्षण भएकाहरूको पिसिआर परीक्षण गरिनेछ।
मन्त्रालयका अनुसार २ लाख वटा एन्टिजेन किट हालै आइसकेको छ भने थप आउने प्रक्रियामा छ। दुई लाख रिएजेन्ट तथा किट नेपाल सरकारको अनुरोधमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र युएनडिपीले अनुदानस्वरूप दिएका हुन् भने बाँकी ३ लाख नेपाल सरकार खरिद प्रक्रियामा अघि बढिसकेको श्रेष्ठले जानकारी दिए। ‘थप तीन लाख खरिदको प्रक्रियामा गइसकेको छ,’ उनले भने। थप तीन लाखका लागि ३ करोड रूपैयाँबराबरको खर्च लाग्ने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्यत्रण महाशाखाका माइक्रोबाइलोजिस्ट नविन पोखरेलका अनुसार उपत्यकामा मंसिरभित्र १४ सय ४५ वटा एन्टिजेन नमुना परीक्षण भएका थिए। तीमध्ये १ सय १५ वटामा पोजेटिभ रिपोर्ट आएको थियो। यो हिसाबले ७.९५ प्रतिशतमा संक्रमण दर हो।
पोजेटिभ आएकामा पनि पुनः पिसिआर गर्दा ९९ प्रतिशत नेगेटिभ आएको थियो। तर एन्टिजेन नेगेटिभ आएका १ सय १० जनामध्ये ३२ जनाको पोजेटिभ आएको थियो। विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार एन्टिजेन नेगेटिभ तर लक्षण भएका बिरामीलाई पिसिआर गरिन्छ। एन्टिजेन परीक्षणबाट समुदायमा फैलिएको कोरोना संक्रमणको दुई/तीन दिनभित्रै पहिचान हुने र उपत्यकामा परीक्षणको क्रममा ७ प्रतिशतभन्दा बढीमा संक्रमण पाइएकाले सरकारले यसको प्रभावकारितासँगै थप १० लाख जनाको परीक्षण गर्ने लक्ष्य लिएको माइक्रोबाइजोलोजिस्ट पोखरेलले बताए। ‘एन्टिजेन परीक्षणले संक्रमितको समयमै पहिचान हुने भएकाले थप परीक्षण गर्ने सरकारले तयारी गरेको हो,’ उनले भने।
प्रकाशित: ३ पुस २०७७ ०३:३८ शुक्रबार