८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा  बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।  जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको हो । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता  रहेको छ ।

लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन समस्या भएको स्थानीय सुरत पार्कीले बताए । पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले बताए ।

अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायतका सेवा सञ्चालनमा आउन सकेका छैनन ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ । केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक सुत्केरी बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकत्सकविहीन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । एक जना नवौं तहको विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा पनि नवौं तहका चिकित्सक नभएको अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले  बताए । आठौं तहका चारै जना करारमा कार्यरत रहेको र दरबन्दीका चिकित्सक एक जना पनि छैनन ।

भेन्टिलेटर र आइसियु सञ्चालनमा आएन
जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई शैयाको सघन उपचार कक्ष स्थापना भएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा आएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सक नहुँदा सञ्चालनमा भएको जिल्ला अस्पतालका प्रमुख डा.जोशीले  बताए । कोरोना भाइरसका जटिलका खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना गरिएको भए पनि चिकित्सक नहुँदा समस्या भएको हो ।

प्रकाशित: २९ मंसिर २०७७ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App