हरियाणाका गृहमन्त्री अनिल विजले कोरोना संक्रमित भएको घटना सार्वजनिक गरेसँगै भारतमा निर्मित को-भ्याक्सिनप्रति शंका उत्पन्न भएको छ।
तेस्रो चरणको परीक्षणअन्तर्गत त्यो खोप सबैभन्दा पहिले लगाएका मन्त्री विजले शनिबार सामाजिक सञ्जालमार्फत आफू कोरोना पोजिटिभ भएको जानकारी दिएसँगै खोपको प्रभावकारितामा प्रश्न उठेको हो।
यो पनि पढ्नुहोस्
परीक्षण खोप लिएको १४ दिनपछि हरियाणाका गृहमन्त्री भए कोरोना संक्रमित
गत नोभेम्बर २० का दिन खोप लगाएका उनी १४ दिनपछि कोरोनाबाट संक्रमित भएका हुन्।
भारतमा बनेको को–भ्याक्सिनले काम नगरेको हो त?
खोप बनाउने कम्पनी भारत बायोटेकका अनुसार खोपको क्लिनिकल ट्रायलका क्रममा व्यक्तिलाई २८ दिनभित्र २ डोज खोप लगाइन्छ।
समाचार एजेन्सी एएनआईका अनुसार खोपको दोस्रो डोज लगाएको १४ दिनपछि मात्र त्यसको प्रभाव देखिने कम्पनीले जनाएको छ। दुई डोज दिइसकेपछि मात्रै खोपले काम गर्न सुरु गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार परीक्षणमा सहभागीमध्ये ५० प्रतिशतलाई साँच्चिकै खोप दिइन्छ भने बाँकी ५० प्रतिशतलाई ‘प्लेसिबो’ दिइन्छ। प्लेसिबो एउटा यस्तो चिकित्सा पद्धति हो, जसमा औषधि हालिएको हुँदैन। जसले लगाउने व्यक्तिलाई खोप लगाएको छु भने विश्वास दिलाउँछ। तर त्यसमा औषधि हुँदैन।
भ्याक्सिनोलजी विशेषज्ञ डा. चन्द्रकान्त लहरिया भन्छन्, ‘क्लिनिकल ट्रायल ‘डबल ब्लाइन्डेड’ हुन्छ। यसको अर्थ– खोप दिइयो वा प्लेसिबो दिइयो भन्ने कुरा न परीक्षकलाई थाहा हुन्छ न त लगाउने व्यक्तिलाई। यस्तो अवस्थामा अनिल विजलाई वास्तविक खोप दिइयो वा प्लेसिबो, थाहा हुँदैन।’
डा लहरियाका अनुसार जुन व्यक्तिलाई खोप दिइन्छ, तीमध्ये कति संक्रमित भए र जसलाई खोप दिइएन तीमध्ये कति संक्रमित देखिए भन्ने आधारमा खोपको प्रभावकारिता मूल्यांकन गरिन्छ। तर के बुझ्न जरुरी छ भने कुनै पनि खोपले सय प्रतिशत काम गर्दैन। यसको अर्थ– खोप लिएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुने खतरा बाँकी नै रहन्छ।
डा. लहरियाका अनुसार खोपको प्रभावकारिता सबै परीक्षण प्रक्रिया पूरा भएपछि मात्र थाहा हुन्छ। खोप लगाइएका व्यक्तिको विस्तृत अध्ययनपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ।
तसर्थ कुनै एक जनालाई संक्रमण देखियो भन्दैमा खोपले काम गरेन भनेर भन्न मिल्दैन।
डा. लहरिया भन्छन्, ‘कुनै पनि खोपले प्राइमिङ एन्ड बुस्टिङ सिद्धान्तमा काम गर्छन्। खोपको पहिलो डोजले व्यक्तिमा बिस्तार बिस्तार इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) विकास गर्छ। यो प्रक्रिया पूरा हुन ७–१४ वा २१–२८ दिनसम्म लाग्न सक्छ।
जब इम्युन सिस्टम चरम अवस्थामा पुग्छ, तब खोपको दोस्रो डोज दिइन्छ। त्यसपछि व्यक्तिमा एन्टिबडी बन्ने प्रक्रियाले गति लिन्छ। जुन व्यक्तिमा अत्यधिक एन्डिबडी बन्छ, ऊ लामो समयसम्म भाइरसबाट सृुरक्षित रहने सम्भावना हुन्छ।
डा. लहरिया भन्छन्, ‘खोपको पहिलो डोजले खासै असर देखाउँदैन, दोस्रो डोज दिएपछि मात्र देखाउँछ।’
संक्रामक रोग विशेषज्ञ डा. तृप्ति गिलाडाका अनुसार व्यक्ति बिरामी हुनुमा भाइरस मात्र कारण हुँदैन। व्यक्तिको उमेर, रोग प्रतिरोधक क्षमतामा पनि यो कुरा निर्भर रहन्छ। जुनसुकै बिरामीमा एन्टिबडी विकास हुन्छ। कसैको शरीरमा एन्टिबडी नबन्ने कुरा दुर्लभ हुन्छ।
डा. तृप्ति भन्छिन्, ‘कोरोनाविरुद्ध खोपबारे अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भनेर कसैले भविष्यवाणी गर्न सकेको छैन।’ बिबिसी
प्रकाशित: २१ मंसिर २०७७ १५:१७ आइतबार