coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर अस्पतालमा पीसीआर परीक्षण सेवा सुरु

भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयू) को बिहीबार एक समारोहबीच उद्घाटन गरे। भक्तपुरमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिनको लागि भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुर अस्पतालमा प्रदेश सरकारको सहयोगमा पीसीआर परीक्षण सेवा औपचारिक रुपमा बिहीबारबाट सेवा सुरु गरिएको हो।

कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको जानकारी गराए। एनजीओद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको थुप्रै बेथितिहरू औंल्याउँदै मन्त्री दुलालले भक्तपुर क्यान्सर अस्पताल सरकारी व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिसकेको बताए। सरकारको मातहतमा सञ्चालनपश्चात् भक्तपुर क्यान्सर अस्पतालले भरतपुर अस्पतालमा जस्तै सस्तोमा स्तरीय क्यान्सर उपचार सेवा प्रदान गरिने उनले आश्वस्त पारे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल हाल भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सक्नु सबैको लागि खुशीको विषय भएको बताए।  नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउँदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको बताए।

बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताए। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतमले पीसीआर सेवाको प्रारम्भिक परीक्षण भइरहेको र भक्तपुर अस्पतालबाट पीसीआर परीक्षण निःशुल्क रुपमा गरिने जानकारी दिइन्। भक्तपुर अस्पतालमा पीसीआर परीक्षणको व्यवस्थाका लागि भक्तपुरका जनप्रतिनिधि एवम् जनताले निरन्तर पहल गर्दै आइरहेको स्मरण गँर्दै डा. गौतमले कोभिड महामारीबीच पनि अस्पतालले अहोरात्र बिरामीहरूको उपचार र सेवामा समर्पित भएर लागिपरेको बताइन्।

मन्त्री दुलाल, नगर प्रमुख प्रजापति, प्रदेश सांसदलगायतले पीसीआर प्रयोगशालाको औपचारिक उद्घाटन पश्चात् अस्पतालको सघन उपचार कक्ष (आइसीयू) को स्थलगत अवलोकन गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०७७ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App