७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

धरानमा होम आइसोलेसनमा बसेकाका लागि अक्सिजन खरिद गर्दै वडा कार्यालयहरु

धरानको वडा नं ८ ले किनेको अक्सिजन मेशिनसहित जनप्रतिनिधि र व्यवस्थापन समिति । तस्बिर : रोहित राई

कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्दा प्रदेश १ मा होम आइसोलेसनमा बसेका संक्रमितहरु सिकिस्त भएको बेला अस्पतालमा बेड नपाएर धेरैले अनाहकमा ज्यान गुमाए। यसरी घरमै ज्यान गुमाउनेहरुमा धरानका संक्रमितहरु पनि थिए।

धरानमा दक्षिण एसियाकै नमुना मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छ। प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल पनि सञ्चालन गरेको छ। तर, कोभिड अस्पतालको सबै बेडमा अक्सिजन उपलब्ध नहुँदा होम आइसोलेसनमा बसेका संक्रमितहरु सिकिस्त हुँदा पनि अक्सिजन नपाउने अवस्था बनेपछि प्रतिष्ठानको तीव्र आलोचना भयो। अहिले भने धरानका जनप्रतिनिधिहरुले अस्पतालको भर नपरि आफै धमाधाम अक्सिजन खरीद गर्न थालेका छन्।

सबैभन्दा पहिला धरानमा वडा नं १४ कार्यालयले इलेक्ट्रिक अक्सिजन मेशिन खरीद गरेको थियो। केही दिनअघि खरीद गरेको मेशिनले होम आइसोलेसनमा बसेका २ जना संक्रमितहरुलाई सेवा दिइसकेको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए। उनले भने,‘बच्चालाई बाफ दिने मेशिन पनि किनेका छौं। सबै निःशुल्क नै हो। प्राथमिक उपचारको क्रममा संक्रमितहरुलाई गाह्रो हुँदा अक्सिजन दिने मेशिन किनेका हौं, २ जनाले सेवा पाइसके।’

धरानको वडा नं ८ ले पनि २ वटा इलेक्ट्रिक अक्सिजन मेशिन खरीद गरिसकेको छ। होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई अक्सिजनको कमी भएर सास फेर्न गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाएर जनप्रतिनिधिहरुले धेरै समस्या भोग्नु परेको वडा सदस्य तथा न्यायिक समिति सदस्यसमेत रहेकी सात्रिवी परियारले बताइन्। होम आइसोलेसनमा बस्ने संक्रमितहरुको संख्या धेरै भएकोले कतिबेला कस्लाई गाह्रो हुन्छ भन्ने अवस्था नभएकोले वडा कार्यालय आफैले अक्सिजन मेशिन किनेर सेवा दिइएको उनले बताइन्। ‘यो मेशिन ल्याएपछि केही हदसम्म ढुक्क भयो। कसैलाई अक्सिजन कमी भएर गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाएको खण्डमा यही मेशिनले सेवा दिन सकिने भयो,’उनले भनिन्,‘वीपी अस्पतालमा बेड नपाउँदा विराटनगर लैजानु पथ्र्यो, त्यहाँ पनि बेड पाउन गाह्रो थियो।’

वडा नं ८ ले बच्चालाई बाफ दिने मेशिन पनि खरीद गरेको र निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ। कोभिड उपचार र मेशिनहरुको व्यवस्थापनको लागि एक सर्वदलीय व्यवस्थापन समिति पनि गठन गरेको परियारले जानकारी दिइन्। धरानकै वडा नं १६ कार्यालयले भने अक्सिजनको सिलिण्डर नै खरीद गरेको छ। सोनापुरस्थित एक उद्योगमा गएर मंगलबार १० वटा ठूलो साइजको सिलिण्डर खरीद गरेको अध्यक्ष दिलकुमार गिरीले बताए। उनका अनुसार वडा कार्यालयले २० वटा सिलिण्डर खरीद गरेर राख्ने निर्णय गरेको छ। ‘२० वटा सिलिण्डर किन्ने लक्ष्य हो, १० वटा सिलिण्डर ल्याएका छौं,’अध्यक्ष गिरीले भने,‘वीपी हस्पिटलमा भनेको बेला अक्सिजन बेड नै नपाउने, होम आइसोलेसनमा बसेका संक्रमितलाई विराटनगर लैजानुपर्ने र उतै मृत्यु हुने भएपछि तत्काल सेवा दिने गरि वडाले नै अक्सिजन किनेको हो।’

अध्यक्ष गिरीका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई निमोनियाबाट जोगाउन भ्याक्सिन दिने पनि निर्णय पनि गरिएको छ। जाडो मौसममा ज्येष्ठ नागरिकहरुलाई निमोनिया हुने उच्च जोखिम भएको र कोरोना संक्रमणको पनि खतरा भएकोले भ्याक्सिन दिने निर्णय गरिएको उनले बताए। ‘विज्ञ चिकित्सकहरुसँग भ्याक्सिन दिने बारे सल्लाह, परामर्श गछौं, र स्वास्थ्य जाँच गरेर उपयुक्त ज्येष्ठ नागरिकहरुलाई मात्र भ्याक्सिन दिन्छौं,’उनले भने। वडा नं १६ मा ३९१ जना ज्येष्ठ नागरिकहरु भएको तथ्यांक रहेको छ।

प्रकाशित: २६ कार्तिक २०७७ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App