८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङको बेनिघाट रोराङ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनस्थल । तस्बिर : नागरिक

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो। भारतलगायत अन्य देशहरुबाट फर्कनेहरुको संख्या बढ्न थालेपछि क्वारेन्टिन भरिभराउन भए। पालिकाले क्वारेन्टिनस्थलमा बेडको संख्या बढाए भने थप व्यवस्थापनमा जुटे।  

अहिले देशैभर कोभिड १९ संक्रमणको जोखिम बढ्दो छ। दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा गल्छी गाउँपालिका आइसोलेसन व्यवस्थापनमा जुटेको गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सीना लामिछाने बताइन्। ‘२६ कोठाको आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।’ उनले भनिन्, ‘सुरुमा हामीले क्वारेन्टिनलाई व्यवस्थित गरेका थियौँ अहिले संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनमा जोड दिएका हौँ।’ नेपाल सरकारको अवधारण अनुसारको पाँच बेडको आइसोलसन निर्माण गरि संचालन भइरहेको उनले बताइन्।  

चाडपर्वलाई लक्षित गरेर विभिन्न ठाउँबाट घर फर्केकाहरु र लक्षण नदेखिएकाहरुलाई पालिकाले होम आइसोलसनमा बस्न आग्रह समेत गरेको छ। होम आइसोलसनमा बसेकाहरुको पालिका, वडाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्थाको बारेमा नियमित रुपमा जानकारी लिने गरेको उपाध्यक्ष तिमिल्सिनाले बताइन्। अहिले व्यवस्थापन गरिएको आइसोलेसनमा एमबीबीएस डाक्टर, नर्स लगायतका टोली समेत परिचालित गरेको उनले बताइन्।  

चाडपर्वमा भारत लगायत देशकै अन्य क्षेत्रबाट गाउँ फर्कनेहरुलाई लक्षित गरि अन्य स्थानीय तहहरुले पनि आइसोलेसन व्यवस्थापनमा जुटेका छन्। सुरुवाती चरणहरुमा हतार हतारमा विद्यालयहरुमा क्वारेन्टिन बनाइएको भएपनि ब्यवस्थापन फितलो भएको र संक्रमणको झनै जोखिम भएको गुनासो आउन थालेपछि नयाँ ठाउँमा क्वारेन्टिन बनाउन थालिएको हो। नयाँ ठाउँमा क्वारेन्टिन बनाएसंगै धादिङका सातवटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदै आचारसंहिता समेत जारी गरेका छन्।

स्वास्थ्य सरसफाइ, सदाचार, महिला तथा बालबालिका, अपाङगता वृद्धवृद्धाको लागि पालना गर्नुपर्ने नियमहरु तथा क्वारेन्टिनमा गर्न हुने र नहुने कामहरुको विषयमा आचारसंहिता बनाएर लागू गरिएको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए। ‘क्वारेन्टिनमा रहने सबैबाट पहिले आचारसंहिता पूर्ण रुपमा पालना गर्नको लागि प्रतिबद्धता माग्छौँ’, उनले भने, ‘हामीले क्वारेन्टिनमा न्युनतम पूर्वाधारहरुका सबै ब्यवस्था गरेका छाँै, यसरी राख्दा संक्रमण फैलन नदिने अपेक्षा गरेका छौँ।’

क्वारेन्टिनमा रहेकाहरुले पनि सुरुवाती चरणमा भन्दा अहिले धेरै नै सुधार आएको भारतबाट फर्किएर क्वारेन्टिनमा बसेर घर फर्किएकी ज्वालामुखी गाउँपालिका वडा नं २ कि गोमा श्रेष्ठले बताइन्। ‘विद्यालयमा बनाइएको क्वारेन्टिन अव्यवस्थित भयो, खानेपानी, शौचालयको अभाव भन्ने सुनिन्थ्यो,’ उनले भनिन्, ‘विशेष कामले म भारत गएर फर्किनुपरेकाले यहाँ बसेको छु, स्वास्थ्य, सरसफाइमा निकै नै सचेत र सतर्कता अपनाएको छ पहिले भन्दा धेरै सुधार भएको रहेछ।  

स्थानीय सरकारले क्वारेन्टिन बनाएको क्षेत्रमा स्वास्थ्य र सरसफाइ लागि एक्सन नेपाल नामक गैर सरकारी संस्थाले सहयोग गरेको छ। डिसिएसंगको साझेदारीमा एक्सन नेपालले संचालन गरेको पुर्णिमा परियोजनाले धादिङका सात स्थानीय तहले संचालन गरेका क्वारेन्टिनहरुमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामाग्रीदेखि, क्वारेन्टिनमा इन्टरनेट, टेलिभिजन, ब्यवस्थित शौचालय तथा छुट्टै स्नानघर समेत निर्माण गरिदिएको छ।

क्वारेन्टिन, आइसोलेसनमा आचारसंहिता निर्माणदेखि क्वारेन्टिनमा भौतिक पूर्वाधारहरु बनाउने काममा परियोजनाबाट सहयोग गरेको एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुँगानाले बताए। ‘क्वारेन्टिन, आइसोलेसन अव्यवस्थित भएको जनगुनासो आएसँगै स्थानीय तहहरुसँग समन्वय गरेर थप व्यवस्थित गरेका हौँ,’ उनले भने, ‘क्वारेन्टिन, आइसोलेसनमा बस्ने सबैलाई प्रतिब्यक्तिका हिसावले स्वास्थ्य र सरसफाइका सामानहरु समेत उपलब्ध गराएका छौँ।’

कोभिड १९ संक्रमणको सुरुवाती चरणहरुमा धादिङमा क्वारेन्टिन ब्यवस्थापन निकै फितलो देखिएको थियो। धेरै जनालाई एकै ठाउँमा राख्नुपर्ने, स्वास्थ्य र सरसफाइमा झनै जोखिम भएको जस्ता गुनासो आइरहेको बेलामा स्थानीय तहहरुले मापदण्ड, आचारसंहिता निर्माणदेखि थप व्यवस्थापनमा जुटेका हुन्। स्थानीय सरकारहरुले क्वारेन्टिनमा रहेकाहरुलाई मनोरामर्शको आवश्यक परेको खण्डमा परामर्श दिने समेत ब्यवस्था मिलाएको छ।

प्रकाशित: २५ कार्तिक २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App