८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लण्ड्रीबाट आवश्यक कपडा नपाएको भन्दै वीपीको गाइनो वार्डमा भर्ना बन्द

वीपी प्रतिष्ठानको गाइनो इमर्जेन्सी । तस्बिर: रोहित राई

शल्यक्रिया गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेपलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ। हिजो साँझदेखि विभागले गाइनो वार्डमा नयाँ गर्भवती महिलालाई भर्ना लिन बन्द गरेको हो।  

विभागले भर्ना नलिएपछि आज बिहानैदेखि गाइनो इमर्जेन्सी पुगेका गर्भवतीहरु विचल्ली भएर फर्किरहेका छन्। कतिपयलाई परिवारले अन्यत्र अस्पताल तिर लिएर गएका छन्। डाक्टरले नै आज बिहान ८ बजे गर्भवती बुहारीलाई गाइनो इमर्जेन्सीमा लिएर आउन भनेर लगेपनि आज भने भर्ना लिन नमानेको धरानका देवहांग राईले बताए। ‘हिजो डाक्टरले नै आज बिहान ८ बजे खाना नखाई आउनु भनेको थियो, हामीले त्यसै गरेर बुहारी लिएर गयौं। तर, आज त कसैलाई पनि भर्ना लिन मानेको थिएन,’उनले भने,‘बिहान त निक्कैबेर तनाव भयो।’

उनका अनुसार अधिकांश गर्भवती महिलाहरुलाई परिवारले अन्यत्र लिएर गएका छन्। उनको बुहारीलाई भने व्यथाले च्यापिहालेको छैन, त्यसैले वीपीमै केही उपाय हुन्छ कि भनेर गाइनो इमर्जेन्सी परिसरमा राखेका छन्। तर, डाक्टरले भने विराटनगरको कोशी अस्पताल वा अन्यत्र लैजान सुझाव दिएको उनले बताए। ‘लण्ड्रीले कपडा सफा गरेर भनेजति दिएको छैन, तपाईहरुको पालो आउन समय पनि लाग्छ। बरु कोशी अस्पतालतिर लैजानुस् भनेर डाक्टरले भन्नुभयो,’राईले भने।

प्रतिष्ठानका गाइनो विभागका चिकित्सकहरुका अनुसार लण्ड्री मेशिनमा झण्डै एक महिनादेखि समस्या छ भने अर्को मेशिनमा काम गर्ने केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ। जसले गर्दा अप्रेशनमार्फत डेलिभरी गर्दा सर्जनलाई आवश्यक पर्ने गाउन, विरामीलाई चाहिने कपडा लण्ड्रीबाट उपलब्ध भएको छैन। ‘इमर्जेन्सीमा अप्रेसन १४, १५ वटा पनि पुग्नसक्छ, कुनै टुंगो हुदैन। अहिले लण्ड्रीबाट गाउन, ड्रेप चाहिए जति आइरहेको छैन,’ती चिकित्सकले भने,‘नर्मल डेलिभरीलाई पनि कतिबेला अप्रेसन गर्नुपर्ने हुनसक्छ, त्यसैले हिजो साँझदेखि कसैलाई पनि भर्ना नलिनु भनेको हो।’ प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले लण्ड्रीको समस्या समाधान भइसकेको दाबी गरे।

प्रकाशित: २१ कार्तिक २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App