४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

वैज्ञानिकले पत्ता लगाए कोरोना नष्ट गर्ने सजिलो नयाँ तरिका

मुख कुल्ला गर्दै गरेको फाइल तस्बिर

अमेरिकाका वैज्ञानिकले मुखमा रहेका कोरोना भाइरस नष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्।  

त्यहाँस्थित पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने  ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि कोरोना निष्क्रिय पार्न सकिने दाबी गरेका हुन्।  

मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका कोरोना भाइरसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट पुष्टि भएको उनीहरूको दाबी छ।  

वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म कोरोना भाइरस निष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।  

जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गरगर गर्दा ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।  

कोरोना संक्रमण भएका तथा क्वारेन्टिनमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

दैनिक भास्करमा प्रकाशित खबरअनुसार पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म कोरोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’

उनका अनुसार ओरल एन्टिसेप्टिक र माउथवास सजिलै पाइने कुरा हुन् भने यो मानिसले दैनिक प्रयोग गर्ने चिज पनि हुन्। जुन प्रयोग गरेर मुखमा रहेका भाइरसको संख्या निकै घटाउन सकिने उनको भनाइ छ। 

विज्ञका अनुसार नाक र मुख नै कोरोना भाइरस शरीरमा प्रवेश गर्ने प्रमुख मार्ग हुन्।  

प्रकाशित: ७ कार्तिक २०७७ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App