१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोराेना संक्रमणलाई सामान्य रुघाखोकीजस्तो नठान्न वैज्ञानिकको चेतावनी

अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसको संक्रमणलाई सामान्य रुघाखोकी (फ्लु) जस्तो हल्का रूपमा नलिन चेतावनी दिएका छन्।  

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना संक्रमणबाट मृत्यु हुने खतरा फ्लुको भन्दा ५ गुणा बढी हुने देखिएको चेतावनी दिएको हो।  

पछिल्लो अध्ययनले कोरोनाका बिरामीमा फ्लुका बिरामीलाई भन्दा थप १७ किसिमका जटिल स्वास्थ्य समस्या हुने जोखिम देखाएको हो।  

मुलुकभरिका भेट्रान्स हेल्थ एड्मिनिस्ट्रेसन हस्पिटल्सबाट संकलित कोरोना संक्रमण र फ्लुका तथ्यांकको विश्लेषण गर्दा अस्पताल भर्ना भएका कोरोनाका बिरामीमध्ये २१ प्रतिशतको तथा फ्लुका बिरामीमध्ये ४ प्रतिशत मात्रै मृत्यु भएको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।  यो भनेको फ्लुबाट भन्दा कोरोनाबाट मृत्यु हुने दर ५ गुणा बढी हो।  

साथै फ्लुका बिरामीलाई भन्दा कोरोनाका बिरामीलाई आइसियुमा भर्ना गर्नुपर्ने खतरा दोब्बर देखिएको अनुसन्धानकर्ताले बताएका छन्। यस्तै अस्पताल बसाइको अवधि पनि तुलनात्मक रूपमा कोरोना संक्रमितलाई ३ गुणा बढी पाइएको लाइभसाइन्समा उल्लेख छ। 

यस्तै फ्लुका बिरामीलाई भन्दा कोरोनाका बिरामीलाई फोक्सोमा गम्भीर समस्या (रगतमा अक्सिजनको मात्रा कम) हुने सम्भावना १९ गुणा बढी हुने अनुसन्धानले देखाएको छ। यसैगरी फ्लुका बिरामीको तुलनामा कोभिड-१९ का बिरामीमा मुटुको मांसपेशीमा इन्फ्लेमेसन हुने, फोक्सोमा रगत जम्ने तथा मस्तिष्कमा रक्तस्राब हुने समस्या दोब्बर हुने पनि अनुसन्धानले देखाएको छ।

यसैकारण वैज्ञानिकले यसलाई सामान्य रुघाखोकी ठानेर हेलचक्र्याइँ नगर्न वैज्ञानिकले चेतावनी दिएका छन्।  

प्रकाशित: ६ कार्तिक २०७७ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App