६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

निकट हुँदा मास्क खुल्छ अनि संक्रमण सर्छ

कोरोनाप्रति हेलचक्र्याँइ

केही दिनअघि एक पेशागत समूहका दसजना सदस्यको एउटा कोठामा ‘बैठक’ बस्यो। बैठक चलिरहँदा सहभागी १० मध्ये ५ जनाले मास्क खोले। बाँकीमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।

बैठक सकियो, सबै सहभागी घर फर्के। तीनदिनपछि एक–एक गरी बैठकका सहभागी बिरामी पर्न थाले। उनीहरुमा कोरोनाका लक्षण देखिए। पालैपालो दसजनाकै परीक्षण गरियो। बैठकमा रहँदा मास्क खोलेका ५ जनालाई संक्रमण पुष्टि भयो। मास्क नखोलेका दुई र दूरी कायम गरेर भिन्दै बसेका ३ गरी ५ जनालाई भने संक्रमण भएन।

पेसागत ती समूहका संक्रमित सदस्यहरु अहिले होम आइसोलेसनमा छन्। उनीहरु सबैको स्वास्थ्यमा सुधार भइरहेको छ। बैठकमा सहभागी उनीहरुको एउटै निष्कर्ष छ, एउटा कोठामा भएको छलफलमा सहभागी हुँदा मास्क खोल्नु कमजोरी रहेछ। मास्क खोल्ने त्यही हेलचक्र्याँइले साथीहरुबीच नै संक्रमण फैलियो। बैठकमा सहभागी एकजना सदस्यले भने, ‘हुन त हामीले अनुसन्धान र क्लिनिकल परीक्षण गरेका होइनांै, तर, भीडभाडमा रहँदा मास्क खोल्नु भनेको जोखिम निम्त्याउनु रहेछ भन्ने निष्कर्ष निकालेका छांै। हामी एउटै पेसाका साथी थियांै, अनि निकटता ठान्यांै र मास्क पनि खोल्याैं, त्यो गर्न नहुने रहेछ।’

ती सहभागी सबैले बैठकमा जाँदै गर्दा मास्क लगाएका थिए। तर, छलफल चल्दै गर्दा मुखबाट बिस्तारै मास्क पनि हट्दै गए। ५ जना त मास्क नै खोलेरै बसे। ‘कोरोना संक्रमणबाट जोगाउने हो भने मास्क अनिवार्य रहेछ भन्ने हामीलाई अहिले पक्का जस्तै लागेको छ। सायद मास्क लगाएको भए अरु साथीहरु पनि सुरक्षित रहन सक्थे,’ बैठकका सहभागीको अनुमान छ, ‘हामीले हेलचक्र्याँइ गरेका हौ जस्तै लाग्दैछ। कसबाट संक्रमण स¥यो भन्नुभन्दा पनि मास्क नलगाउनु र भौतिक दूरी कायम नगर्नु हाम्रा गल्ती थिए। हामी त्यसमा चुकेकै हांै।’ मास्कसँगै भौतिक दूरी पनि महत्वपूर्ण हुन उनको भनाइ छ। ‘भौतिक दूरी र मास्कले संक्रमणबाट जोगाउने रहेछ भन्ने अनुभव अहिले भइरहेको छ,’ उनले भने।

'लकडाउन खुल्नु भनेको हेलचेक्रयाँइ बढाउनु भनेको होइन। तर, अहिले सबैतिर भीडभाड छ, सबैले कोरोनालाई बेवास्ता गरेका छन्। दसैंको चहलपहलले त झनै जोखिम निम्त्याउने पक्का छ। संक्रमणको ग्राफ झनै उक्कालो लाग्ने पक्का छ।’

त्यही बैठकका अर्का सहभागीका अनुसार छलफल लामै समय चलेको थियो। साथीहरुबीच छलफल चल्दै गर्दा विस्तारै मास्क पनि खुल्दै गएको उनको भनाइ छ। ‘सबै नजिकका साथी त हुन्, के नै होला र ? को नै संक्रमित छ होला र भनेर म आफैले पनि मास्क खोले,’ उनले भने, ‘चीनजानकाबीच जब निकटता बढ्दै जान्छ, अनि मास्क खुल्छन्, हामी सबै त्यही गरिरहेका छौं। मैले मास्क खोल्नु नै मेरो लागि गल्ती गरेछु।’ उनका अनुसार अहिले साथीभाइ, आफन्त, निकट र चिनजानका व्यक्ति भेट हुनासाथ मुखको मास्क बिस्तारै हट्न थालेको छ। सडकमा हिँड्दा लगाएको मास्क कार्यालय, भेटभाट, घरपरिवारमा जमघट हुँदा मुखबाट हटिसक्ने उनले बताए। ‘हेलचेक्रयाँइ सबैतिर बढेको छ। हामीले चिनजानका साथीभाइ भनेर विश्वास गर्छाै। त्यही विश्वास नै घातक रहेछ,’ उनले भने, ‘सडकमा एक्लै हिँड्दा मास्क पहिरिने, तर, घरभित्र वा आफन्तकहाँ छिरेपछि मास्क हटाउने गलत भइरहेको छ।’

पछिल्लोसमय सडकमा नागरिकको भीड बढिरहेको छ। बजार खुल्दा किनबेचका लागि हिँड्ने निस्फिक्री छन्। सडका हिँड्दा मुखमा मास्क लगाउनेहरु पसल छिरेपछि मास्क हटाउने गरेका छन्। त्यसबाहेक भीडभाडमा जाँदा पनि पछिल्लोसमय मास्क लगाउने चलन कम हुँदै गएको छ। पोखराका वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्, ‘मास्क लगाउने कुरामा नागरिकको हेलचक्र्याँइ निकै नै बढेको छ। हामी नागरिकले बेवास्ता गरेका छौ। त्यसको परिणाम भोगिरहेका छाैं।’ उनका अनुसार मास्कले संक्रमण रोक्न केही हदसम्म सघाउँछ। त्यस्तै भौतिक दूरी कायम राख्नु, बेलाबेला साबुन–पानीले हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेमा नागरिकले ती कुरालाई पटक्कै ख्याल नगरेको उनले बताए। ‘एउटै कोठामा रहँदा पनि मास्क प्रयोग गर्नुपर्छ। हामीले एकअर्कालाई बढी नै विश्वास गरेका हौं,’ उनले भने, ‘एकअर्कालाई बढी विश्वास गर्न जरुरी छैन। त्यसैले सचेतना अपनाउनुको विकल्प छैन।’

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा पछि पछिल्लोसमय भीडभाड बढेको र त्यो भीडले गरेको हेलचेक्रयाँइले जोखिम निम्त्याइरहेको बताउँछन्। ‘लकडाउन खुल्नु भनेको हेलचेक्रयाँइ बढाउनु भनेको होइन। तर, अहिले सबैतिर भीडभाड छ, सबैले कोरोनालाई बेवास्ता गरेका छन्,’ शर्माले भने, ‘दसैंको चहलपहल ले त झनै जोखिम निम्त्याउने पक्का छ। संक्रमणको ग्राफ झनै उक्कालो लाग्ने पक्का छ।’

शर्माले पनि कोरोना संक्रमणबाट जोगिन मास्कको भूमिका एकदमै महत्वपूर्ण रहेको बताए। ‘मास्क लगाउँदा नाक र मुखमा हत्तपत्ति हात पुग्दैन। अहिले आँखा र नाकमुख जोगाउने बेला हो। मान्छेको हात आँखाभन्दा नाक र मुखमा बढी जान्छ,’ शर्माले भने, ‘त्यसैले मास्कले मुख र नाकमा हात पर्नबाट जोगाउँदा त्यसको प्रभाव कोरोना संक्रमण हुनबाट पनि जोगाउछ।’ मास्कले मात्र सतप्रतिशत कोरोना रोक्छ भनेर ठोकुवा नै गर्न नसकिएपनि यसको भूमिका भने अब्बल रहेको निर्देशक शर्माले बताए।

उनले पछिल्लो समय भीडभाडमा जाने, मास्क नलगाउने, सही तरिकाले मास्क प्रयोग नगर्ने, भौतिक दूरी कायम नगर्ने जस्ता हेलचेक्रयाँइले संक्रमण बढिरहेको बताए। ‘हामी चिनजानका साथीभाइ भेटेपछि विश्वास गर्छौं र मुखको मास्क विस्तारै हटाउँछौं। त्यो नै गलत हो,’ उनले भने, ‘यो बेला कसैले कसैलाई विश्वास गर्न जरुरी छैन। विश्वास शून्य गर्नुपर्छ।’ हरेकलाई संक्रमितको दृष्टिकोणबाट मात्र हेर्नुपर्ने उनले बताए। दसैंको छेकोमा बजार खुल्दा पनि अहिले नागरिकहरु मास्क नलगाई हिँड्न थालेको उनले बताए। संक्रमितले बोल्दा, खोक्दा, हाच्छयुँ गर्दा मुख र नाकबाट निस्कने छिटालाई मास्कले रोक्ने गर्दा अरु व्यक्ति संक्रमित हुनबाट जोगिने उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७७ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App