८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सरकारी कार्यालयदखि राजनीतिक कार्यक्रमसम्म महामारीको बेवास्ता

सिरहाको चोहर्वामा जनता समाजवादी पार्टीले गरेको राजनीतिक भेलामा सहभागी। तस्बिर: मिथिलेश यादव/नागरिक

दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गए पनि संक्रमण नियन्त्रण गर्ने अगुवा सरकारी अड्डा र राजनीतिकर्मीले भने महामारीको खिल्ली उडाउँदै अनावश्यक भिडभाड गर्दै आएका छन्।

सरकारी कार्यालयमा आउने सेवाग्राहीको भीड रोकिएको छैन भने भीडमा न सामाजिक दूरी कामय भएको पाइन्छ न मास्कको सही प्रयोग नै। बिनामास्क मानिसहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायतमा यत्रतत्र कुदिरहेको देखिन्छ।अर्कोतर्फ विभिन्न दलका नेतहरुले महामारीको मौका छोपेर मान्छे भेला पार्दै पार्टी प्रवेश कार्यक्रम निर्वाध गरिरहेका छन्।

जनता समाजवादी पार्टीका नेतृत्व पंक्ती नै उपस्थित भएर भर्खरै पर्साको विभिन्न पालिकामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरियो। सो पार्टीले एक महिनायता सप्तरी, सिरहा र पर्सामा पार्टी प्रवेश र भोला गर्दै आएको छ।

नेपाली कांग्रेसले पनि जिल्लास्तरमा भेला र पार्टी प्रवेश कार्याक्रम जारी राखेको छ। प्रदेश २ मा १४ हजार ५ सय २५ कोरोना संक्रमित पुष्टि भएका बेला राजनीतिक दल र सरकारी कार्यालउमा हुने भीडले समुदायस्तरमै संक्रमण तीव्र भइरहेको यथार्थलाई व्यंग्य गरेजस्तो देखिन्छ। स्थानीय प्रशासनले संक्रमण नियन्त्रण गर्न भन्दै सार्वजनिक भेला र कार्यक्रम गर्न लगाएको रोकको अवज्ञा गर्दै यस प्रदेशका विभिन्न स्थानमा आयोजना गरिएका पार्टी प्रवेश कार्यक्रममा सयौं स्थानीयको उपस्थित थियो। कार्यक्रममा न सामाजिक दूरी कायम गरिएको देखिन्थ्यो, न त सबैले मास्क नै लगाएका थिए। सामाजिक दूरीलगायतको कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी पार्टी प्रवेश गराउने दौड अझै जारी छ।

कोरोना संक्रमणको विस्तार रोक्न भूमिका खेल्नुपर्नेमा दलकै नेताहरुले सामाजिक भेला, राजनीतिक भेटघाटदेखि पार्टी प्रवेशसम्मका कार्यक्रम जारी राखेको देखिन्छ। यस्तो कार्यक्रमहरु संक्रमणको दर उच्च रहेको प्रदेश २ मा निरन्तर भइरहेको छ। सामाजिक दूरी कायम नगरी, स्थानीय प्रशासनको अनुमति पनि नलिई भिडभाडयुक्त शैलीमा निरन्तर राजनीतिक गतिविधि भइरहेको र यसले संक्रमणको जोखिम बढाइरहेको छ।

सिरहाको गोलबजार नगरपालिकाले वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ। ‘सयांैको भीड हुने यो प्रतियोगीता संक्रमण नियन्त्रणका अगुवा नगरपालिकाले नै आयोजना गर्नु बिडम्बना हो,’ स्थानीय विनोद यादवले भने, ‘पछिल्लोसमय जिल्लाकै कोरोना हटस्पट यस नगरपालिकामा भीडभाड गराउने कार्य घातक हो।’

जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता बनाउन अहिले दिनहँु सैयौं मानिसको भीड लाग्छ। एक मानिस अर्को मानिसको शरीरमा टाँसिएर घण्टौं लाइनमा लागेका हुन्छ। लाइनमा लागेका अधिकांश मास्क लगाएका हुँदैनन्। मास्क लगाएकाहरु पनि नाक र मुख नछोपिने गरी चिउडोमा झुन्ड्याएका हुन्छन्। यस कार्यालयको भीडभाडले कोरोना संक्रमण फैलाउन मद्दत गरिरहेको छ। यस कार्यालयका शाखा अधिकृतसहित पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलका अनुसार जतिभन्दा पनि यहाँका मानिस मान्दैनन्। ‘महामारीकै बेला नागरिकता बनाउन भीड गर्छन्,’ उनले भने, ‘भीड नियन्त्रणको जति प्रयास गरे पनि बल प्रयोग नै गर्नुपर्ने अवस्था सिर्जना गर्छन्। विस्तारै नियन्त्रण भइरहेको उनले बताए।’

संक्रमण भयावह बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबारदेखि सेवा कटौती गरेको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएकोले सेवाग्राहीमा फैलिनसक्ने भन्दै केही सेवा तत्कालका लागि बन्द गरेको प्रशासन कार्यालले जनाएको छ।

कार्यालयका १ जना कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ५ जना अझै उपचाररत छन्।

प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता र नवीकरण, राहदानी वितरण, नाबालक परिचय पत्र वितरणलगायत सेवा प्रवाह नहुने उल्लेख छ। शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सुनुवाइ र विपद व्यवस्थापनसम्बन्धी सेवा भने सञ्चालनमा रहने जारी सूचनामा उल्लेख छ।

बिहीबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय २५ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ भने १२ हजार ५ सय ८६ जना निको भएर घर फर्किसकेका छन्। यस प्रदेशमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App