१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लाइसेन्स नभएका व्यक्तिले औषधि बिक्री गर्दै

मेडिकलमा विकृति

अनुगमनमा आएको थाहा पाएपछि बन्द भएका मेडिकल। तस्बिर: रोहित/नागरिक

औषधि व्यवस्था विभाग विराटनगरको टोली बुधबार धरान–१८ स्थित प्रनित फार्मेसी पुग्दा एक युवा औषधि बिक्री गरिरहेका थिए। विभागको टोलीले उनलाई कागजपत्र माग्यो। लाइसेन्स भएका व्यक्ति फार्मेसीमा थिएनन्।

विभागप्रमुख सञ्जीव कट्टेलले ती युवालाई सोधे, ‘तपाईंले फार्मेसी पढेको हो ?’ जवाफमा उनले ‘पढेको हो’ भने। ती युवाका अनुसार उनले झापाको दमकबाट फार्मेसी पढेका हुन् तर परीक्षा दिएका भने छैनन्। शंका लागेर कट्टेलले सोधे, ‘कुनकुन विषय पढेको हो, भन्नुस्।’ तब ती युवा बोल्नै सकेनन्। उनले विभागको टोलीलाई झुट बोलेको खुल्यो। अनुगमन टोलीले फार्मेसी सिल गर्दै ५ दिनभित्र विभागमा उपस्थित हुन पत्र थमायो।

औषधि पसलमा फार्मेसी पढेका र लाइसेन्स प्राप्त व्यक्ति मात्र बसेर औषधि बिक्री गर्न पाउँछन्। तर धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि सञ्चालित अधिकतर मेडिकलहरूमा लाइसेन्स प्राप्त व्यक्ति हुँदैनन्। बुधबार विभाग अनुगमनमा आउँदा १७ वटा मेडिकल पसल हतारहतार बन्द गरेर मेडिकल सञ्चालक भागेका थिए। अनुगमन भएका ६ वटामा लाइसेन्स भएका व्यक्ति नभेटिए पनि सिल गरिएको विभागप्रमुख कट्टेलले बताए। ‘हामी अनुगमनमा आएको थाहा पाएपछि मेडिकल बन्द भए। त्यसको हामीले सूची बनाएका छौं, हामी आउँदा खुला थियो, केही छिनमा १७ वटा मेडिकल बन्द भए,’ उनले भने।

विभागका अनुसार गत वैशाखमा तेह्रथुममा यस्तै एउटा प्रतिनिधि घटना भएको छ। ‘लाइसेन्सवाला व्यक्ति मास्टर्स पढ्न भारतमा छ। उसको ठाउँमा अर्को व्यक्ति बसेर औषधि बेचिरहेको रहेछ,’ कट्टेलले भने, ‘एक जना मुटु दुख्यो भनेर मेडिकल आउँदा औषधि दियो, त्यो बिरामीको मृत्यु भएको छ।’ यस्तै विराटनगरको न्युरो हस्पिटलछेउका लाइसेन्सवाला व्यक्ति भारतको बैंग्लोर पढ्न गएको तर मेडिकलमा बस्नेले म्याद गुज्रिएको औषधिमा लेवल फेर्ने, एउटामा अर्को औषधिको लेवल लगाउने जस्ता कार्य गरेको पनि भेटिएको उनले बताए।

विभागका अनुसार लकडाउनअघि मेडिकलले गलत औषधि दिएका गुनासा महिनामा २÷३ वटा नियमित आउने गरेका थिए। अहिले भने लकडाउनका कारण गुनासो आउन रोकिएको छ। यद्यपि, विभागले लकडाउनकै अवधिमा विभिन्न जिल्लामा नियमित अनुगमन गरिरहेको र मेडिकलमा भएको विकृति अन्त्य गर्न लागिपरेको कट्टेलले बताए। धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडिका मेडिकलहरूले थोरै औषधि प्रयोग गरे पनि धेरैको बिल बनाएर ठगी गरेको गुनासो पनि अत्यधिक आइरहेको उनको भनाइ छ।

बुधबार अनुगमन सुरु भएपछि पसल बन्द गरेर भाग्ने औषधि व्यवासायीलाई विभागमा उपस्थित गराउन प्रहरीमा पत्राचार गर्ने र बयान लिने विभागले जनाएको छ। यस्तै, लाइसेन्सवाला व्यक्ति नभेटिएका पसललाई पनि सिल गरेर ५ दिनभित्र विभागका उपस्थित हुन पत्र थमाइएको छ। ‘विभागमा बोलाएर बयान लिन्छौं। लाइसेन्सप्राप्त व्यक्ति अन्य ठाउँमा फुलटाइम काम गरेको पाइएमा छोड्न निर्देशन दिन्छौं, पटके परेको भए औषधि ऐनअनुसार अभियोग पत्र दायर गरेर कारबाही प्रक्रिया अघि बढाउछौं,’ कट्टेलले भने।

धरानका एक औषधि व्यवसायीका अनुसार बिपी प्रतिष्ठानअगाडि मात्र १ सयभन्दा बढी औषधि पसल सञ्चालनमा रहेका छन्। तीमध्ये ७५ प्रतिशत मेडिकलमा लाइसेन्स भएका व्यक्ति बस्दैनन्। उनीहरूले मासिक १०÷१५ हजार रुपैयाँ लाइसेन्स भएका व्यक्तिलाई भाडा बुझाउने गरेका छन्। ‘लाइसेन्स लिएका कति सरकारी जागिरमा छन्, कोही विदेशतिर छन्। मेडिकलबाट १० देखि १५ हजार पाइरहन्छन्,’ ती व्यवसायी भन्छन्, ‘उनीहरूले ३÷४ जना बिचौलिया राख्छन् र बिरामीलाई लुट्छन्।’

औषधि व्यवासायी संघ, सुनसरीका सचिव पंकज झा औषधि पसलमा भएको विकृति अन्त्य हुनुपर्ने बताउँछन्। उनले लाइसेन्सको सही व्यक्तिलाई सही रुपमा सदुपयोग गराउन सम्बन्धित निकायले कडाइका साथ नियमित अनुगमन गर्नुपर्ने बताए। ‘विकृति छ, सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘लाइसेन्सको सही सदुपयोग भएन। सही काम भएन। बिरामी ठगिनु भएन। बिरामीलाई लुट्न मात्र प्रयोग हुनु भएन।’

प्रकाशित: ३० आश्विन २०७७ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App