तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय व्यक्ति होम आइसोलेसनमा रहेका थिए। हिजो दिउँसो भने उनलाई श्वास लिन गाह्रो भयो।
परिवारले वडा नं ९ का वडाध्यक्ष रत्न कटवालाई सम्पर्क गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन बेड मिलाइदिन आग्रह गर्यो। अध्यक्ष कटवालले प्रतिष्ठानमा अक्सिजन पट भएको बेडको लागि निक्कै पहल गरे, तर पाउन सकेनन्। धरानकै विजयपुर हस्पिटलबाट सिलिण्डर ल्याएर अक्सिजन दिइएको संक्रमितलाई राती झनै साह्रो भएपछि वीपी प्रतिष्ठान लगिएको थियो। उनको केही समयमा नै निधन भयो।
धरानकै वडा नं १६ का करिब ६० वर्षीय संक्रमित व्यक्तिलाई पनि साँझ श्वास लिन गाह्रो भएपछि वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा लैजान परिवारजनले निक्कै कोसिस गरे। तर, भेन्टिलेटर मात्र होइन, अक्सिजन बेड नै खाली नभएको भन्दै भर्ना लिन मानेनन्। उनको पनि साँझ घरमा नै निधन भयो।
यस्तै, धरान १५ का ६८ वर्षीय पुरुषलाई ४ दिनअघि संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा नै बसेका थिए। हिजो बुधबार दिउँसो श्वास लिन गाह्रो भएपनि उनलाई करिब ४ बजेतिर वीपी प्रतिष्ठान लगिएको थियो। त्यहाँ भेन्टिलेटर र अक्सिजन बेडसमेत नपाएपछि उनलाई विराटनगर लगिएको थियो। उनको राती नै कोशी कोभिड उपचार केन्द्रमा निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले बताए। ‘वीपीमा ४ बजे लगेको थियो, त्यहाँ बेड नपाएपछि विराटनगर लगेछन्, राती उता नै निधन भयो,’ वडाध्यक्ष इवारमले भने,‘धरानमा वीपी हस्पिटल छ भनेर हामी गर्व गथ्यौं, तर आपतको बेला कामै दिएन। कोभिड अस्पताल नाम मात्रको जस्तो भयो, साधनस्रोत केही रहेनछ।’
वडा नं ९ का अध्यक्ष रत्न कटवालले पनि सामान्य अक्सिजन भएको बेडसमेत वीपीमा उपलब्ध हुन नसक्नु दुःखद भएको बताउँछन्। करोडौं खर्च गरेर लेभल थ्री अस्पताल बनाए पनि अक्सिजन बेड पर्याप्त नराखेको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘मैले नै फोन गरेर अक्सिजन बेड चाहियो भने। भेन्टिलेटर भएको बेड मागेको पनि होइन तर अक्सिजन बेड नै खाली छैन, विरामी नल्याउनु, उतै सिलिण्डर किनेर अक्सिजन दिनु भन्यो,’अध्यक्ष कटवालले भने।
कोरोना संक्रमितको संख्या तीव्रदरमा वृद्धि भइरहेको धरान, इटहरीलगायत सहरमा होम आइसोलेसनमा बस्ने संक्रमितहरुको संख्या अत्यधिक छ। पछिल्लो समय भने स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि होम आइसोलेसनमा बसेका संक्रमितहरुले अस्पतालमा सामान्य अक्सिजन बेडसमेत नपाएर घरमा नै ज्यान गुमाउन थालेका छन्।
संघीय सरकारले धरानको वीपी प्रतिष्ठानलाई शुरुमा लेभल थ्री अस्पतालको रुपमा घोषणा गर्दै सोही अनुसार स्रोत, साधन तयार गर्न बजेटसमेट उपलब्ध गराएको थियो। प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल शुरु गरेपनि गम्भीर प्रकृतिका विरामीहरुको लागि पर्याप्त स्रोत साधन तयार नगर्न अहिले संक्रमितहरुले धमाधम ज्यान गुमाउन थालेका छन्। कोभिड अस्पताल पनि लथालिङ्ग अवस्थामा पुगेको छ।
अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान भएका भेन्टिलेटरहरु बिग्रिएको छ भने एक्स रे, एबिजि मेसिन पनि बिग्रिएको अस्पताल स्रोतले जनाएको छ। कोभिड अस्पतालको १० वटा भेन्टिलेटरमा ४ वटा मात्र सञ्चालनमा रहेको छ। यस्तै, सय बेडको कोभिड अस्पतालमा भेन्टिलेटर बाहेक संक्रमितलाई पाइपबाट सिधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र रहेको पाइएको छ।
कोभिड अस्पतालमा भर्ना भएकाहरुलाई पनि अक्सिजन चाहिदा पालैपालो दिनुपरेको अस्पताल स्रोतले बतायो। प्रतिष्ठानमा कतिसम्म लापरवाही भएको छ भने अक्सिजन दिने सिलिण्डरसमेत सकिएको छ। ‘कोभिडको लागि अलग्गै अक्सिजन प्लान्ट अहिलेसम्म व्यवस्था भएको छैन, भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजन बेड नै पनि छैन,’स्रोतले भन्यो,‘लेभल थ्री अस्पताल भनेपछि सिरियस विरामी ल्याएर उपचार गर्ने हो, सय बेडमा मात्र ९ वटामा अक्सिजन पट जोडिएको छ।’
प्रतिष्ठानको कोभिडका विरामी व्यवस्थापन समन्वयकर्ता डा.इन्द्र लिम्बुले अक्सिजन बेड कम भएको विषयमा पदाधिकारीलाई आफूले जानकारी गराइसकेको बताए। उनका अनुसार बुधबार दिनभर होम आइसोलेसनमा बसेका थुप्रै संक्रमितहरुले फोन गरेका थिए, तर अक्सिजन बेड खाली नभएकोले कोभिड अस्पतालमा भर्ना गर्न नसकिएको उनले बताए। ‘अक्सिजन बेड ९ वटा मात्र छ, खाली नभएर अस्पताल ल्याउन सकेनौं। मैले यो समस्याबारे पदाधिकारीहरुलाई भनिसकेको छुँ,’उनले भने।
धरानका मेयर तिलक राईले वीपी प्रतिष्ठानका उपकुलपतिसँग पटक पटक आइसियु, भेन्टिलेटर थप गर्ने विषयमा आग्रह गर्दा पनि समन्वय नगरेको बताए। प्रतिष्ठानले सहीरुपमा व्यवस्थापन नगर्दा समस्या भएको उनको आरोप छ। ‘भिसिसँग फोन गरेर तत्काल के गर्नुपर्ने हो, हामीले बजेट पनि छुट्याएका छौं। आइसियु थपौं, भेन्टिलेटर थपौं भने। धरान आएर छलफल गरौं भन्नुभयो,तर आजसम्म सम्पर्क गर्नुभएको छैन,’मेयर राईले भने।
स्थानीय सरकारको तर्फबाट सचेतना कार्यक्रम निरन्तर गरिरहेको मेयर राईको भनाई छ। यस्तै, धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनलाई अब अक्सिजनसहित आइसोलेसन बनाउने पनि मेयर राईले बताए। ‘होम आइसोलेसनमा बसेकाहरुलाई गाह्रो हुँदा अक्सिजन दिन सकिने गरि आइसोलेसन तयार गर्दैछौं। नगरले आफै अक्सिजन खरिद गरेर चाहिदा दिने व्यवस्था गछौं,’उनले भने।
प्रकाशित: २९ आश्विन २०७७ ०७:१२ बिहीबार