coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दुई स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतीको तयारी

खोटाङको रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाका एक/एक वटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये रावाबेँसी गाउँपालिका–२ खार्पास्थित स्वास्थ्यचौकी र साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्य चौकी स्तरोन्नतीको तयारी गरिएको हो। स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गरी ५ शैया, १० शैया र १५ शैयाको अस्पताल निर्माण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुशार रावाबेँसी गाउँपालिकामा १० शैया र साकेला गाउँपालिकामा ५ शैयाको अस्पताल बनाउने प्रकृया अघि बढेको हो।  

स्तरोन्तीका लागि छानिएका स्वास्थ्य संस्थामा अस्पतालको भवन निर्माणका लागि अर्थमन्त्रालयले रकम निकासा दिइसकेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोज १८ गते स्थानीय तहलाई पठाएको पत्रमा स्वास्थ्य संस्थालाई स्तरोन्ती गर्दै अस्पतालको भवन निर्माणका लागि रकम निकासा भइसकेको जानकारी दिइएको छ। स्वास्थ्यचौकी स्तरोन्नती गर्दै अस्पताल बनाउनका लागि १० लाख बजेट उपलव्ध गराएपछि खार्पामा भवन निर्माण गर्न ९ रोपनी जग्गाको खोजी सुरु गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए। अस्पतालको भवन निर्माणका लागि जग्गाको खोजीका लागि वडाध्यक्षलाई भनिसकिएको गाउँपालिकाले जनाएको छ।  

यस्तै, साकेला गाउँपालिकाको रतन्छामा पनि अस्पतालको भवन निर्माणका लागि जग्गा खोजी सुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले बताए। रतन्छामा ५ शैयाको अस्पताल बनाउन अर्थमन्त्रालयबाट ७५ लाख बजेट प्राप्त भएको छ। भवन निर्माणका लागि सम्वन्धित गाउँपालिकालाई डिपिआर बनाउन भनिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमा आगामी कात्तिक मसान्तसम्ममा अस्पतालको भवन निर्माणको प्रकृया सुरु गर्न र सोको जानकारी दिन भनेको छ। जिल्लाका स्थानीय तहमध्ये रावाबेँसी र साकेला गाउँपालिकाको मात्र एक÷एक वटा स्वास्थ्य संस्था अस्पतालमा स्तरोन्नी गर्न लागिएको हो।  

अर्थमन्त्रालयबाट स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्दै ५ शैयाँको अस्पतालको भवन निर्माणका लागि स्थानीय तहलाई ७० लाख, १० शैयाँको अस्पतालको भवन निर्माणका लागि ८५ लाख र १५ शैयाँको अस्पतालको भवन निर्माणका लागि १ करोड बजेट उपलव्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत साउन २८ गतेको बैठकले स्थानीय तहका स्वास्थ्य संस्थालाई अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २८ आश्विन २०७७ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App