७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अमेरिकामा पनि एक व्यक्तिलाई फेरि देखियो कोरोना, चिकित्सक भन्छन् : ‘घातक’

अमेरिकामा पनि कोरोना संक्रमण निको भएका युवकलाई फेरि संक्रमण देखिएको छ।  

बिबिसीका अनुसार अमेरिकाको दक्षिण-पश्चिम राज्य नभाडाका २५ वर्षीय युवकलाई निको भएको एक महिनापछि संक्रमण दोहोरिएको हो।  

यसअघि कुनै स्वास्थ्य समस्या नभएका ती युवकलाई गत मार्च २५ मा घाँटी तथा टाउको दुख्ने, खोकी, वाकवाकी तथा पखाला लाग्ने भएको थियो। परीक्षण गर्दा अप्रिल १८ मा उनमा कोरोना पुष्टि भयो। उपचारपछि मे ९ र २६ मा परीक्षण गर्दा दुवै रिपोर्ट कोरोना नेगेटिभ आए।  

तर मे २८ मा उनलाई फेरि ज्वरो आउने, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्ने भयो। यसपछि जुन ५ मा परीक्षण गर्दा उनमा पुनः कोरोना पुष्टि भएको हो।  

दुवै फोक्सोमा अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गरियो। अहिले भने उनी निको भइसकेका छन्।

वैज्ञानिकका अनुसार दोस्रोपटक उनमा देखिएको भाइरस पहिलेभन्दा फरक अर्थात् आनुवंशिक संरचना फरक पाइएको छ।  

‘यसबाट कोरोना निको भएपछि फेरि संक्रमण हुँदैन भन्न नसकिएको संकेत मिलेको छ,’ युनिभर्सिटी अफ नभाडाका डा। मार्क प्यान्डरीले भने, ‘संक्रमण दोहोरिने सम्भावनाले कोरोना प्रतिरोधी क्षमताबारे अहिलेसम्म प्राप्त ज्ञान पर्याप्त नभएको पुष्टि हुन्छ।’

जसले गर्दा एकपटक निको भइसकेका व्यक्तिले भौतिक दूरी,  मास्क र हात धुनेजस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने देखिएको उनको भनाइ छ। 

यसरी संक्रमण दोहोरिने घटना विश्वमा एकदमै थोरै मात्र देखिएको छ।  

यसअघि हङकङ, बेल्जम र द नेदरल्यान्ड्समा दोहोरिएको संक्रमण यति डरलाग्दो नभएको वैज्ञानिकले बताएका छन्। एक्वडोरमा भने अमेरिकामा जस्तै संक्रमण दोहोरिएको बिरामीमा गम्भीर समस्या देखिएको थियो। तर उनलाई अस्पताल भर्ना गर्नु परेको थिएन।  

दोस्रोपटक संक्रमण हुँदा भाइरस अझ शक्तिशाली भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ। जसले गर्दा शरीरमा बनेको प्रतिरोधी क्षमताले काम नगरेको हुन सक्ने उनीहरूको भनाइ छ।  

वैज्ञानिकका अनुसार डेंगीजस्ता संक्रमण दोहोरिँदा पनि शरीरको प्रतिरोधी क्षमताले काम नगरेका प्रमाण छन्।  

युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरका अनुसार छोटो समयमै कोरोना संक्रमण दोहोरिनु र समस्या अझ गम्भीर देखिनु चिन्ताजनक विषय हो।  

यस्ता घटनाले अहिले बनिरहेका खोपले पनि काम गर्ने हो वा होइन भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको पोल हन्टर बताउँछन्। उनले भने,  ‘यत्तिकै भरमा खोपबारे प्रतिक्रिया दिइहाल्नु ठीक हुँदैन। तर पहिलो संक्रमणपछि शरीरमा प्रतिरोधी क्षमता कस्तो बन्छ भन्ने विषयमा अझै पर्याप्त जानकारी नभएको चाहिँ यसले पुष्टि गर्छ।’  

प्रकाशित: २८ आश्विन २०७७ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App