८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

साताको एकपटक मात्रै डायलासिस

विगत ८ वर्षदेखि हप्तामा दुईपटक नियमित डायलासिस गराउँदै आएका मानबहादुर बजागाईंको सोमबार ११ बजे पनि पालो थियो।तर, सोमबार बिराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित पालोमा उनको डायलासिस हुन सकेन ।

डायलासिस युनिटले हप्तामा एकपटक मात्र गर्न सकिने भन्दै उनको डायलासिस गरिदिएन।यसरी सोमबार पालो काटिनेमा मानबहादुरसँग ६ जना मिर्गाैलाका बिरामी छन्।नियमित पालो काटिएपछि सोमबार मिर्गाैला बिरामी तथा आफन्तहरू अस्पताल प्रशासनमा जवाफ माग्न पुगेका थिए तर प्रशासनले पनि चित्तबुझ्दो जवाफ दिन सकेन।

बजगाईं मिर्गाैलापीडित सरोकार समाजका अध्यक्ष पनि हुन्।उनका अनुसार प्रशासनले अबदेखि हप्तामा एकपटक मात्र डायलासिस गराउन सकिने भन्दै गम्भीर अवस्था भएकालाई इमजेन्सीबाट प्रक्रिया पुर्याएर आउन भनेको छ।‘अस्पतालले हप्तामा एकपटक मात्र डायलासिस गर्नु भनेको बिरामीलाई ठाडै गएर आत्महत्या गर भनेको हो,’ उनी भन्छन्, ‘हप्तामा दुईपटक गर्दा त कतिलाई गाह्रो भइरहेको छ, झन् एकपटक मात्र हुँदा के होला ? तड्पेर मर्नु भनेको होइन ?’ उनले राज्यका तर्फबाट निःशुल्क पाउने औषधिहरू पनि बिपीमा नहुने र बाहिरबाट किनेर ल्याउनु परिरहेको बताए।त्यसरी खरिद भएको सामानको बिलअनुसार पैसा फिर्ता हुनुपर्ने भए पनि फिर्ता नपाएको उनले गुनासो गरे।

प्रतिष्ठानमा हप्तामा दुईपटक डायलासिस गराउन १६ जना मिर्गौलाका बिरामी छन्।प्रतिष्ठानले ८ वटा मेसिन चलाएर एक सिफ्टमा ८ जनासम्मलाई डायलासिस गराउँदै आएको थियो।सोमबारदेखि भने ४ वटा मात्र मेसिन चलाएको बिरामीहरूको भनाइ छ।इमजेन्सी हुँदै डायलासिस गराउन आउनेको संख्या अत्यधिक छ।बिरामीहरूलाई प्रष्ट कारण नभने पनि कोरोनाका कारण जनशक्ति (स्टाफ नर्स) कमी भएर समस्या भएको प्रशासनको भनाइ छ।

बिरामीहरू भने जनशक्ति अभाव भन्दै आफूहरूको बाँच्ने अधिकारबाट बञ्चित गराउन खोजेको भन्दै आक्रोश व्यक्त गर्छन्।‘इमजेन्सीबाट रिफर भएर आउ भन्छ।तर, कुरा एउटै हो, त्यहाँबाट पनि आउने त डायलासिसमै हो नि,’ श्रीमानको डायलासिस गराउँदै आएकी तारामाया तामाङले भनिन्, ‘मेरो श्रीमानको पालो पर्सि छ, तर पाउँदैन भन्दैछ।हामी कहाँ जानु ? अरूतिर लैजाने क्षमता छैन ।’  

छोरीको डायलासिस गराउँदै आएका धरान ८ का उत्तम राईले प्रतिष्ठानले कोभिडका लागि ५० जना स्टाफ नर्स नियुक्ति गर्ने भनेर अन्तर्वार्ता लिएपछि नतिजा ननिकालेकाले समस्या भएको बताउँछन्।‘जनशक्ति कमी भयो भन्छन् तर ५० जना नर्स नियुक्ति गर्ने भनेको अहिलेसम्म गरेनन्,’ उनले भने, ‘हाम्रा बिरामीलाई कोरोना लाग्यो भने तपाईंहरूलाई दोष दिदैनौं भनेर कागज पनि गरेर डायलासिस गर्यौं।यति मजबुर भएर आएका छों, तर बेलाबेला यस्तो समस्या खडा गर्छन्।किड्नीका बिरामी पनि झुण्डिएर मर्नेबाहेक उपाय देखिएन ।’  

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालले डायलासिस युनिटमा खटिएका तालिम प्राप्त नर्सहरूमा कोरोना देखिएको र केहीलाई कोभिड अस्पतालको डायलासिसमा खटाउनु परेकोले समस्या भएको बताए।उनका अनुसार डायलासिसमा १९ जना नर्सहरू छन्।तीमध्ये ६ जनालाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् भने ४ जनालाई कोभिडको डायलासिसमा खटाइएको छ।

‘पहिलाभन्दा जनशक्ति आधा कम भयो, तर पनि डायलासिस बन्द नै नगर्ने, बिगतको भन्दा कम क्षमतामा गर्ने भनेर डायलासिस प्रमुखबाट जानकारी आएको छ,’ बरालले भने, ‘गाह्रो भयो भने इमर्जेन्सीबाट आउनेलाई भइहाल्छ।अरू रुटिनमा हप्तामा दुईचोटी गर्नेलाई एकपटक मात्र गर्ने भनिएको रहेछ ।’ उनका अनुसार डायलासिसमा स्टाफ नर्सलाई खटाउँदा विशेष तालिम दिएर मात्र खटाउनुपर्ने हुन्छ।यो तालिम तत्काल दिएर सम्भव नहुने भएकोले केही समस्या भएको उनले बताए ।

प्रकाशित: २८ आश्विन २०७७ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App