वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । कोभिड–१९ अस्पताल संचालनमा आएको ३ महिना पनि नपुग्दै जडान गरिएको नयाँ भेन्टिलेटरहरु बिग्रिए पछि आयोगले भ्रष्टचारको आशंकामा छानबिन शुरु गरेको हो ।
नयाँ भेन्टिलेटर बिग्रिएको र कोभिड–१९ अस्पतालमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी र उनको सल्लाहकार भनिएका स्वकीय सचिव दिपिल भट्टराईको मिलेमतोमा अनियमितता भएको आरोप छ । नयाँ भेन्टिलेटरहरु ३ महिनामै बिग्रिए पछि नक्कली सामग्रीहरु जडान गरेर व्यापक अनियमितता गरेको आशंका छ । यस विषयमा सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको र व्यापक जनगुनासो पनि आएको भन्दै आयोगले छानबिन थालेको हो ।
आयोगबाट हिजो सोमबार ४ जनाको टोली प्रतिष्ठान आएर कोभिड–१९ अस्पताल र भेन्टिलेटरहरुको विषयमा जानकारी लिएको थियो । स्रोतका अनुसार अख्तियार टोलीले अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहसँग छलफल गरेको थियो । ‘उपकुलपति काठमाडौंमा गएकोले भेट भएन, अख्तियारले अस्पताल निर्देशकसंग आवश्यक जानकारी लिएको छ, र कागजपत्रहरु पनि मागेको छ,’ स्रोतले भन्यो ।
अस्पताल निर्देशक डा.साहले पनि अख्तियारको टोली आएर कोभिड–१९ अस्पताल र भेन्टिलेटर खरिदबारे जानकारी मागेको पुष्टि गरे । साथै उनले आयोगले कागजपत्र पनि मागेको बताए । ‘उहाँहरु आउनु भएको थियो, मसँग कोभिड–१९ अस्पतला र भेन्टिलेटरबारे छलफल भयो, र कागजपत्र माग गर्नुभएको छ,’उनले भने ।
सरकारले अस्पतालको लागि नयाँभेन्टिलेर खरिद गर्न बजेट दिएको थियो । प्रतिष्ठानले कोभिड अस्पतालमा जडान गरेको भेन्टिलेटरमध्ये ६ वटा ३ महिनामै बिग्रिएपछि व्यापक आलोचना भइरहेको छ भने अतियमितता भएको आरोप छ । भेन्टिलेटर अभावमा कोरोना सँंक्रमितहरुले प्रतिष्ठानका वार्ड र इर्मजेन्सीमा नै ज्यान गुमाइरहेका छन् ।
अख्तियारको इटहरीस्थित कार्यालय प्रुमख प्रकाश पौडेलले अस्पतालको लागि संघीय र प्रदेश सरकारले दिएको करोडौं रकमबाट खरिद गरिएको उपकरण, औषधीलगायत कमसल भएको जनगुनासो र उजुरीको आधारमा छानबिन थालिएको बताए । ‘कोभिड अस्पतालमा खरिद भएको नयाँ भेन्टिलेटर बिग्रिएर विरामीले उपचार नपाएको गुनासो आएकोले आवश्यक छानबिन थालिएको छ,’उनले भने ।
कोभिड अस्पतालमा व्यापारीसँगको मिलेमतोमा नयाँ भेन्टिलेर भनेर पुरानो सामान जडान गरेको आशंका गरिएको छ । प्रक्रिया नपुर्याई फोनको भरमा कोभिड अस्पतालमा सामान तथा उपकरणहरु जडान गरिएको र अहिले विल मिलान गर्न नसकेर सप्लायर्सलाई भुक्तानी पनि गर्न सकेको छैन । यसअघि अनावश्यक दबाब आए पछि कोभिड अस्पताल प्रमुखले राजिनामा दिएकी थिइन् भने खरिद शाखा प्रमुख तथा मुल्यांकन समितिको सदस्य सचिवलाई पनि भने अनुसार काम नगरेपछि ४ महिनामा नै सरुवा गरिएको थियो ।
प्रकाशित: २७ आश्विन २०७७ ०८:४५ मंगलबार