८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

'डाक्टर केसी एक्लो छैनौं, हामी पनि तिम्रो साथ छौं'

धनगढीमा प्रदर्शन । तस्बिर: दिलबहादुर छत्याल

सुदूरपश्चिमको राजधानी धनगढीमा प्रत्येक दिन डा. गोविन्द केसीको जिवन रक्षाको माग राख्दै प्रदर्शन हुने गरेको छ। बिभिन्न नारा लेखेका प्लेकार्ड बोकेका युवायुवतीहरु सडकमा लहरै उभिएर प्रदर्शन गर्ने गरेका छन्। साझा पार्टीको आयोजनामा प्रत्येक दिन धनगढीको पार्क मोड, क्याम्पस चोक, चौराह लगायतका स्थानमा प्रदर्शन हुने गरेको छ।

'डाक्टर केसी एक्लो छैनौं, हामी पनि तिम्रो साथ छौं', 'डा. गोविन्द केसीको जिवन रक्षा गर', 'डा. गोविन्द केसीका माग ३ करोड नेपालीका माग' लगायतका नारा लेखेको प्लेकाड बोकेर प्रदर्शन गर्ने गरेका छन्। चिकित्सा शिक्षा सुधार सहितको माग राखेर गोविन्द केसी २३ दिनदेखि आमरण अनसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।  

‘जनताका जायज माग राखेर आमरण अनसन बसेका डा. गोविन्द केसीको जिवन रक्षा गर्नुपर्छ भनेर हामीले प्रत्येक दिन प्रदर्शन गर्ने गरेका छौं’साझा पाटीका सुदूरपश्चिम संयोजक गोपाल हमालले भने,‘डा.केसीसँग तत्काल वार्ता गरेर जिवन बचाउन सरकारले पहल गर्नुपर्छ।’ सरकारले आफै पूरा गर्नुपर्ने जनताका माग राखेर १९ पटकसम्म डा. केसीले अनशन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्यपुर्ण भएको उनले बताए। ‘डा. गोविन्द केसीको जिवन तलमाथि हुनुदिनु हुदैन’ उनले भने।

यसैगरि दुर्गमका जनताले सर्वसुलभ स्वास्थ्य उपचार पाउनुपर्ने लगायत चिकित्सा सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर उनको जिवन रक्षा गर्न नागरिक समाजले अवाज उठाएको छ। नागरिक समाजले पनि डा.केसीको जिवन रक्षाको माग राखेर प्रदर्शन गरेको छ।

‘हामी जनताकै स्वास्थ्य उपचारको लागि र दुर्गमका जनताले उपचार नपाएर ज्यान गुमाउने अवस्था अन्त्य होस भनेर चिकित्सा शिक्षाको सुधारको माग राखेका डा. गोविन्दको ज्यान बचाउनु पर्छ’प्रदर्शनको अगुवा गरेका नागरिक समाजका प्रमोद पाठकले भने, ‘माफियाको बिगबिगी भएकाले केसीलाई मार्न पनि सक्छन तर उनको ज्यानमा तलमाथि भए हामीलाई समेत कलंक लाग्ने छ।’ तत्काल वार्ता थालेर उनको जिवनको रक्षा गर्न उनले माग गरे।

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा स्वास्थ्य उपचारको अवस्था दयनीय छ। अहिले पनि गतिलो अस्पताल नभएर समान्य बिरामको पनि उपचार नपाउने अवस्था छ भने कैयौले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ। डा. केसीले डडेल्धुरा वा डोटीमा मेडिकल कलेज स्थापना, गेटामा निर्माणाधिन मेडिकल कलेज छिटो संचालन गरिनुपर्ने र अछामको वयलपाटाको अस्पताललार्ई निःशुल्क नियमित उपचार सेवा गर्न आर्थिक सहयोग गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। उनका माग पूरा भएमा सुदूरपश्चिमका जनतालाई पनि ठूलो राहात हुने पाठक बताउँछन्।

प्रकाशित: २० आश्विन २०७७ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App