८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

नेपालको आधा जनसंख्या रेबिजको जोखिममा

नेपालमा रेबिज रोग सार्ने मुख्य बाहक कुकुर हुन्। कुकुरबाट सर्ने रेबिजबाट पूर्ण सुरक्षित हुन कुकुरलाई रेबिजबिरुद्धको खोप लाउनुपर्छ। नेपालमा अहिले पनि धेरै कुकुरलाई खोप लगाइदैन।  

विश्व रेबिज दिवसको अवसरमा विज्ञहरुले यस्तो कुरा औल्याएका हुन्। चिकित्सकका अनुसार रेबिजबिरुद्धको खोप नपाएका कुकुर तथा रेबिज लागेका कुकुरले मानिसकलाई टोकेमा रेबिज रोग लाग्छ।  

‘केही घरपालुवा कुकुरलाई खोप लगाउने गरिएको भए पनि सबै सामुदायिक कुकुरलाई भने खोप लगाएको पाइदैन।’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण जुनोशिस शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाले भने।  

के हो रेबिज रोग ?

रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ। यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरिरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थल्छन्।  रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिबिधी गर्ने जस्ता लक्षण देखिन्छन्। यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिज बिरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन।

नेपालमा प्रति वर्ष सरदर १ सय जनाको रेबिज लागेर मृत्यु हुन्छ। नेपालमा २ देखि ३ लाख कुकुरको संख्या रहेको अनुमान। ती मध्येमा ८० हजार काठमाडौ उपत्यकामा मात्र रहेको एक सर्वेक्षणले देखाएको छ।  

 नेपालमा सबैै कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउनु भन्दा ध्यान कुकुरको संख्या घटाएपछि स्वतः रेबिज रोग कम हुन्छ। ‘अहिले सबैै सामुदायिक कुकुरलाई खोप दिनुभन्दा पनि उनीहरुको बन्ध्याकरण गरेर संख्या कम गर्नेतिर ध्यान नगएको देखिन्छ’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोशिस शाखाकी पशुचिकित्सक डा. रोशिका श्रेष्ठले भनिन्। कतिपय पशुकल्याणकारी संघसंस्थाहरुले सामुदायिक कुकरलाई बिशेष अवसरमा खोप दिने गरेको भए पनि दीर्घकालिन नभएको श्रेष्ठले औल्याइन्।  

सरकारले पनि सामुदायिक कुकुरलाई खोप दिने कुरा अनिवार्य प्राथमिकतामा नपारेको डा. ओझा बताउँछन्। नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेकोले सरकारको प्राथमिकतामा सवै कुकुरलाई रेबिज बिरुद्धको खोप दिने नीतिमा हुनु पर्ने उनीहरुको सुझाव छ।  

कृषि तथा पशुपंक्षी मन्त्रालयका सह–सचिव डा. बिजयचन्द्र झाका अनुसार नेपालमा प्रति वर्ष एकदेखि डेढ लाखको संख्यामा रेबिज बिरुद्धको खोप उत्पादन हुन्छ। सबैै कुकुरले खोप पाउने गरी बितरण हुन नसकेको भने  डा. स्वीकार्छन्। घरवाला, गैरसरकारी निकाय र स्वयं नेपाल सरकारले पनि रेबिज बिरुद्ध खोप बिशेष अवसरमा बितरण गर्ने गरे पनि प्रर्याप्त नभएको उनको भनाइ छ। डा. झाका अनुसार अहिले स्वास्थ्य सेवादेखि सवै कार्यक्रमको लागू गर्ने अधिकार स्थानीय सरकार र प्रदेश तहको सरकारमा गइसकेको हुनाले उनीहरुको भूमिका हुनुपर्छ।  

प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा सवै कुकुरलाई रेबिज बिरुद्धको खोप दिन सकिने उनीहरुको सुझाव छ। चिकित्सकका अनुसार कुकुरमा प्रयोग हुने रेबिज बिरुद्धको खोप नेपालमै उत्पादन हुने भएकोले स्थानीय सरकारले समुदायमा भएका सवै कुकुरलाई खोप लगाउने आर्थिक भार समेत थाम्न सक्ने जुनोशिस शाखाका प्रमुख डा. ओझोको सुुझाव छ।  

तथ्याकं अनुसार नेपालमा प्रति वर्ष सरदर १ सय जनाको रेबिज लागेर मृत्यु हुन्छ। नेपालमा २ देखि ३ लाख कुकुरको संख्या रहेको अनुमानित तथ्यांक छ। ती मध्येमा ८० हजार काठमाडौ उपत्यकामा मात्र रहेको एक सर्वेक्षणले देखाएको छ।  

गत आर्थिक बर्षमा १८ जनाको रेबिज लागेर मृत्यु भएको छ भने आर्थिक वर्ष २०७४÷०७५ मा ३२ जनाको मृत्यु भएको जुनोसिस शाखाको तथ्यांक छ। चालु आर्थिक वर्षभित्रमा ६ जनाको मृत्यु भइसकेको शाखाले जनाएको छ। नेपालमा कुल जनसंख्याको आधा संख्या रेबिजको जोखिममा छन्। विश्वमा रेबिज लागेर मृत्यु हुनेमा ४० प्रतिशत १५ बर्ष मुनिका बालबालिका छन्। विश्वमा प्रति बर्ष ५९ हजार जनाको मृत्यु रेबिजको कारणले हुन्छ भने एशिायमा मात्र ३५ हजारको रेबिजको कारणले मृत्यु हुने गरेको तथ्यांक छ।  

विश्वबाट सन् २०३० सम्मा रेबिजलाई शून्यमा झोर्ने लक्ष्य लिएको छ। यो अभियानमा नेपालको पनि सहकार्य हुने राष्ट्रिय इपिडिमोलोजी तथा नियन्त्तण महाशाखाले जनाएको छ। यो आर्थिक वर्षमा  हुन गइरहेको जुनोटिक रोगहरुको प्राथमिकीकरणमा रेबिजलाई उच्च प्राथमिकतामा राख्ने महाशाखा प्रमुख बासुदेव पाण्डेले बताए। यो वर्ष ‘रेबिज बिरुद्धको सहकार्य र खोप’ भन्ने नाराका साथ विश्वभरी मनाइयो।

प्रकाशित: १५ आश्विन २०७७ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App