७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बोझ बन्दै पिसिआर परीक्षण

शुक्रराज सरुवा रोग अस्पतालमा कोरोनाको लक्षण भएका वा नभएका दुवैथरि मानिसको भीड लागेको हुन्छ। उनीहरु आफूलाई कोरोना लागे वा नलागेको यकिन गर्नुभन्दा पनि कोरोना परीक्षणको रिपोर्ट घरधनी वा काम गर्ने कार्यालयमा लगेर देखाउन परीक्षण गर्न बाध्य भएका हुन्। लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ।

यी दुवै ठाउँमा परीक्षणको माग भएपछि शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक ५ देखि ६ सय जनाको लाइन हुन्छ। यी सबैलाई अस्पतालले एकैदिन व्यवस्थापन गर्न सक्दैन। माग हुँदैमा सबैको परीक्षण गर्ने नीति सरकारको छैन। सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार जोखिमस्थलबाट आएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र कोरोनाको कुनै लक्षण देखिएमा मात्र पिसिआर परीक्षण गर्ने नियम छ। टेकु अस्पतालमा पुग्ने सबै यो नियमभित्र पर्दैनन्। तर पिसिआर परीक्षण नगरी जानै मान्दैनन्।

परीक्षणको लागि बाध्यताले दिनहुँ लाइनमा बस्नेमध्ये कतिलाई अस्पतालले क्वारेन्टिनमा बस्नको लागि सुझाव दिएर पठाउने गरेको भए पनि पिसिआर परीक्षणको आतंक नरोकिएपछि मंगलबारदेखि अस्पतालले सबैको परीक्षण गर्ने निधो गरेको छ। ‘सामाजिक सम्मान र मानवीय हिसाबले पनि उनीहरुको सबैको परीक्षण गर्ने व्यवस्थापन गरेका छौं, आज सबैको नमुना संकलन ग-यौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नागरिकसित भने। सबैको परीक्षण अस्पतालबाट सम्भव नभएपछि नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालेको छ।

डा. राजभण्डारीका अनुसार लोकसेवा परीक्षामा सहभागी हुने, कुनै कार्यालयमा काममा फर्किने बैंकदेखि सबै निकायले कोरोना परीक्षणको रिपोर्ट मागेपछि अहिले परीक्षणको आतंक नै बनेको छ। ‘परीक्षा दिन होस् वा काममा फर्किन पिसिआर नै चाहियो, यो आतंक हो,’ उनले भने। अस्पतालको दैनिक पिसिआर परीक्षण ३ सय रहेकोमा दैनिक ४ सय ५० देखि ५ सयसम्म परीक्षण गरिरहेको जनाएको छ। परीक्षणको भार यो अपतालमा मात्र परेकाले अन्य अस्पतालमा जान राजभण्डारीको सुझाव छ।

चिकित्सकका अनुसार अहिले अस्पतालमा पुग्नेहरुले पिसिआर परीक्षणलाई औषधि वा खोपको रुपमा लिँदा समस्या बढेको छ। एकपटक कोरोना परीक्षण गरे पनि केही दिनमै संक्रमण हुने सम्भावना भएकोले कुनै पनि निकायले पिसिआर परीक्षणको रिपोर्टलाई अन्तिम समाधानको रुपमा लिन नहुने उनीहरुको सुझाव छ। गरिहाल्नुपरेमा सरकारको परीक्षण निर्देशिकामा परेकाले मात्र गरेमा उचित हुन्छ।

यी स्थितिबाहेक अन्य अवस्थामा पिसिआर परीक्षण गर्नुभन्दा शंकास्पद व्यक्ति १४ दिन होम क्वारेन्टिन वा सामुदायिक क्वारेन्टिनमा बसेमा भाइरस अरुमा सर्दैन। यो अवधिमा कुनै लक्षण देखिएमा भने परीक्षण गर्ने र उपचारमा जाने निर्देशिकामा जानुपर्ने चिकित्सक सुझाउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै जनताको पिसिआर परीक्षण गर्नु कोरोना संक्रमण नियन्त्रणको समाधान हैन नै। सरकारले सबैको परीक्षण गर्न पनि सक्दैन। यसको सट्टा १४ दिन क्वारेन्टिनमा बस्ने या लक्षण देखिएका व्यक्ति र संक्रमितको नजिकको सम्पर्कमा पुगेकाहरुले मात्र परिक्षण गर्ने हो। मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार नेपालमा मात्र नभएर अमेरिका, बेलायत र चीन जस्ता सम्पन्न मुलुकले पनि लक्षण नदेखिएकाको हकमा १४ दिन क्वारेन्टिन बस्ने अभ्यास गरिहेका छन्।

सरकारले शंकापस्द व्यक्तिको परिक्षण गर्नुको पहिलो कारण संक्रमण अन्य व्यक्तिमा नसार्ने उद्देश्य भएकाले लक्षण नभएका शंकास्पद १४ दिन क्वारेन्टिनमा बस्नु नै उचित समाधान रहेको अधिकारीको सुझाव छ। ‘हामीले भनिरहेको सही उपाय जनताले बुझेनन्,’ उनले भने। एकान्तबासमा बसेर भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग र व्यक्तिगत सफाइमा ध्यान दिने गरेमा कोरोना भएमा पनि अरुलाई नसर्ने उनको भनाइ छ।

अधिकारीका अनुसार नेपालमा खोप नआउन्जेलसम्मका लागि हरेक व्यक्तिले हरेक व्यक्तिलाई संक्रमितको रुपमा व्यवहार गरेमा कोरोना संक्रमण नुहने हुँदैन। तथ्यांकअनुसार संक्रमण भएको पाँच दिन पुगेको अवस्थामा, नमुना संकलन विधि पूर्ण मिलेमा पिसिआर परीक्षणबाट ५४ प्रतिशत नतिजा पोजिटिभ आउँछ। पोजिटिभ आएकामध्येमा पनि धेरैजसो लक्षणविहीन हुन्छन्।

लक्षणविहीन ९५ प्रतिशतले १० दिनपछि अरुमा संक्रमण नसार्ने भएकोले १४ दिन क्वारेन्टिन नियन्त्रणको लागि उचित विधि भएको सहप्रवक्ता अधिकारी बताउँछन्। नेपालमा जस्तै भारतमा पनि जथाभावी पिसिआर परीक्षणको आतंकले अर्थतन्त्रमै असर परेको उनले बताए। नेपालमा कोरोनाविरुद्धको खोप आउनुअघि हरेक जनताले सुरक्षाका चार मापदण्ड अनिवार्य पालना गरेमा कोरोना संक्रमण दर घटाउन सकिन्छ। यसको लागि अनिवार्य मास्क प्रयोग, दुई मिटर भौतिक दूरी र हातको सफाइ गर्नु आवश्यक छ। अबको अवधिमा स्थानीय सरकारले आफ्नो क्षेत्रमा आउने शंकास्पद व्यक्तिको निगरानी गरी होम क्वारेन्टिन तथा सामुदायिक क्वारेटिनको व्यवस्थापन र अनुगमन हुनुपर्ने अधिकारीको सुझाव छ।

कस्तो अवस्थामा पिसिआर परीक्षण गर्ने ?
– कोरोना संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा पुगेका,
– कोरोना संक्रमण फैलिएको ठाउँबाट अर्को देश या जिल्लामा पुगेमा,
– कोरोनाको लक्षण देखिएमा,
– संक्रमित व्यक्तिको सम्पर्कमा रहेको पाँच दिनपछि।

प्रकाशित: १४ आश्विन २०७७ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App