१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

टोखामा मात्रै ८ सयभन्दा बढीलाई कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौंको टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ। उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कूल संख्या ८ सय २५ पुगेको हो।  

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन्। वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन्।

कोरोना संक्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए।  

तीमध्ये पाँच जना अहिलेसम्म सम्पर्कविहीन छन्। टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ।  

वडा नं ४, ६ र ९ मा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले जानकारी दिए।  

काठमाडौं महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको नगरपालिका टोखा हो। टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराइरहेको छ।  

नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए।  

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ। टोखा नगरपालिकाले प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ।  

नगरपालिकाले यसअघि नै कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३ सय ५० रुपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ।  

नगरपालिकाका पदाधिकारीले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला दिइरहेका छन्। नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुसी, विनायक अस्पताल गोंगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए।  

प्रकाशित: १२ आश्विन २०७७ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App