१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कसरी भयो प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंहलाई कोरोना संक्रमण?

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले ज्वरो आउने, घाँटी खस–खस गर्नेलगायत समस्या बढेपछि शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गराएकी थिइन्। ‘लक्षण नै देखिएपछि परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्। जोखिम ठाउँमा काम गर्नुपर्ने भएकाले डा. सिंहले यसअघि नै तीनपटक पिसिआर परीक्षण गराइसकेकी थिइन्।  

बुधबारदेखि अलिअलि हुँदै बिहीबारसम्म ज्वरो आउने, घाँटी दुख्ने र थकाइ लाग्ने समस्या बढेको थियो। शनिबार आइपुग्दा यी लक्षणमा केही कमी आएको डा. सिंहले बताइन्। ‘अहिले लक्षण कम भएको छ, होम आइसोलेसनमा छु,’ सिंहले शनिबार नागरिकसित भनिन्। कोरोनाको लक्षण देखिएलगत्तै सिंहले घरैमा चिकेनसुप, गेडागुडीको सुप, बेसारपानी तथा अन्य झोल पदार्थ बढी मात्रामा सेवन गरिरहेको बताइन्।  

‘अन्य औषधि केही पनि प्रयोग गरेकी छैन,’ उनले भनिन्। संक्रमणपछि झोल कुराको पिउनुका साथै बाफ पनि लिने गरेको डा. सिंहले बताइन्।  

उच्च सजकता अपनाउँदाअपनाउँदै संक्रमित बनेपछि डा. सिंह आफैं आश्चर्यमा परेकी छन्। ‘म जहाँ जाँदा पनि आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री लगाएकै हुन्थें,’ उनले भनिन्। गत साता उनी त्रिवि डिन कार्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानको बैठकमा सहभागी भएकी थिइन्।  

टिचिङ अस्पतालको नेफ्रोलोजी विभागका चिकित्सकहरूसित काम गरेकी थिइन्। तर त्यो विभागमा कोरोना संक्रमित भएका दुई चिकित्सक दुई साताअघि नै निको भइसकेका थिए। उनीहरूबाट पनि आफू संक्रमित नभएको डा. सिंहको अनुमान छ।  

तर केही दिनअघि मात्र संस्थानकै एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो। बैठक तथा अन्य कार्यक्रममा सहभागी हुँदा आफूले सकेजति सुरक्षाका कवच प्रयोग गरेको डा. सिंहको भनाइ छ। ‘हाम्रो बैठक कहिलेकाहीँ क्यान्टिनमा पनि हुने गथ्र्यो, त्यतै पनि संक्रमित भएको हुन सक्छ,’ उनले भनिन्। यो अवधिमा भने प्रधानमन्त्रीलाई प्रत्यक्ष नभेटेको र आवश्यक परेको स्वास्थ्य सल्लाह फोनबाट दिने गरेको उनले बताइन्।

‘प्रधानमन्त्री स्वस्थ भइसक्नुभएको छ, खास उपचारको आवश्यकता परेको छैन,’ उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भनिन्।  

डा. सिंह संक्रमित हुनुअघि नै टिचिङ अस्पताल महाराजगन्जमा अन्य दर्जनौं चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको छ।  

तीमध्ये ४० चिकित्सक र नर्स, प्यारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए। उनका अनुसार देशका कतिपय स्थानबाट थप संक्रमितको तथ्यांक आउने क्रममा छ। त्योसहित जोड्ने हो भने ६ सयभन्दा बढी संख्यामा संक्रमित  भइसकेका छन्।  

स्वास्थ्यकर्मी कसरी बच्ने ?  

विगत आठ महिनादेखि कोरोना संक्रमित बिरामीको सेवामा दैनिक जुटिरहेका शुक्रराज सरुवा रोग अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी भने अहिलेसम्म संक्रमित भएका छैनन्। अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार अस्पतालले नियमित अपनाएको सुरक्षा कवचको उपाय नै अहिलेसम्म अस्पतालमा संक्रमित नहुनुको कारण हो।

‘सुरक्षाका मापदण्ड पालना भए÷नभएको हेर्नकै लागि अस्पतालमा छुट्टै कर्मचारीसमेत छन्,’ उनले भने। कोरोना फैलिसकेको अवस्थामा अबका दिनमा स्वास्थ्यकर्मी हुन् या नागरिक हरेक ठाउँमा अस्पतालकै सरह सुरुक्षाका मापदण्ड पालना गरे कोरोना संक्रमणबाट बच्न सकिने सुझाए।  

अस्पतालमा कोरोना संक्रमण नहोस् भन्नका लागि चिकित्सक हुन् या अन्य स्वास्थ्यकर्मी सबैले ध्यानपूर्वक नियमको पालना गर्नैपर्छ। अस्पतालबाहिर आफू पुग्ने हरेक ठाउँमा उत्तिकै सचेत हुनु आवश्यक छ। उनका अनुसार अस्पतालमा पुगेपछि कोरोना संक्रमण नहोस् भनेर हरेक स्वास्थ्यकर्मीले आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा सामग्री लगाएकै छन्। अस्पताल हाताभित्र नजिकै बसेर आपसमा चियाखाजा नखाने, नजिकै बसेर र मास्क खोलेर नबोल्ने कुरामा अत्यन्त ध्यान दिइएको छ। डा। बास्तोला भन्छन्, ‘सुरक्षाका कवच लगाए पनि नजिकै बसेर चिया खाँदा, गफ गर्दा पनि सर्न सक्छ,’ उनले भने। 

प्रकाशित: ११ आश्विन २०७७ ०८:०० आइतबार

कोरोना संक्रमण डा. दिव्या सिंह