८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पिसिआर परीक्षणका नाममा मनोमानी शुल्क

सरकारले शुल्क लिएर कोरोना परीक्षण गर्न सकिने व्यवस्था गरेपछि मोरङका स्थानीय तहले मनोमानी शुल्क असुली गर्न थालेका छन्। मोरङको बुढीगंगा गाउँपालिकाले चर्को शुल्क लिएको घटना सेलाउन नपाउँदै मोरङकै पथरीशनिश्चरे नगरपालिकाले सरकारले तोकेभन्दा बढी शुल्क लिएर परीक्षण गरेका पाइएको छ।

नगरपालिकास्थित पथरी नगर अस्पतालले नगरपालिकाको निर्णयभन्दै पिसिआर परीक्षण शुल्क २६ हजार रुपैयाँ लिएको छ। तर, पथरी नगर अस्पतालमा पिसिआर परीक्षण भने हुँदैन। पिसिआर परीक्षणका लागि प्रदेश ल्याबमा पु¥याउने गरिएको छ। नगर अस्पतालले स्वाब मात्रै संकलन गर्दै आएको छ।

अस्पतालको रसिद प्रयोग गरेर ६ जनाको पिसिआर परीक्षण शुल्कभन्दै २६ हजार रुपैयाँ लिएको हो। पथरी–१ शिखर चोकस्थित एक कवाडी संकलन केन्द्रभित्रका ६ जना कामदारको पिसिआर स्वाब संकलन गरे वापत २६ हजार रुपैयाँ लिएपछि विवाद उत्पन्न भएको छ।

स्थानीयले कवाडीका कामदारलाई पिसिआर परीक्षण गर्न दवाब दिएपछि पैसा तिरर परीक्षण गराएको कवाडीका कामदार अबुल आलमले बताए। पिसिआरको स्वाब संकलनमा पैसा नलाग्ने थाहा हुँदाहुँदै जबजस्ती मागिएपछि दिन बाध्य भएको कवाडीका कामदार बबुर अली बताउँछन्।

यता, पथरीशनिश्चरे नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले अस्पतालको रसिद प्रयोग गरी रकम लिएको स्वीकारेका छन्। उनले नगरपालिकाको निर्णयअनुसार नै रकम लिएको बताए। आचार्यका अनुसार भारतबाट लुकिछिपी मानिसहरू आउने जाने गरिरहेको स्थानीयले गुनासो गरेपछि नगरपालिकाले ती मानिसहरूलाई कारबाही स्वरूप पिसिआर परीक्षण वापत रकम लिइएको हो।

जिल्लाको पथरी–१ शिखर चोकस्थित एक कवाडी संकलन केन्द्रभित्रका ६ जना कामदारको पिसिआर स्वाब संकलन गरे वापत २६ हजार रुपैयाँ लिएपछि विवाद उत्पन्न भएको छ।

‘भारतबाट लुकिछिपी मानिस नआउँन भनेर रकम पिसिआर परीक्षण वापत रकम लिइएको हो,’ आचार्यले भने, ‘नगर प्रमुखको निर्देशन बमोजिम भारतबाट लुकिछिपी आउन निरुत्साहित गर्न शुल्क लिएको हो।’ आफूले नगरप्रमुखको निर्देशनअनुसार काम गरेको उनले बताए।

नगरपालिकाका प्रमुख दीलिपकुमार राईले आफ्नै निर्देशनमा भारतीय नागरिकसँग अस्पतालको खातामा जम्मा हुने गरी शुल्क लिएको बताए। उनले, भारतबाट लुकिछिपी मानिसहरू नगर क्षेत्रमा आउन निरुत्साहित गर्ने उद्देश्यले शुल्क लिइएको स्पष्ट पारे। ‘भारतबाट लुकिछिपी नगर क्षेत्रमा आउन निरुत्साहित गर्ने उद्देश्य रकम लिइएको हो,’ उनले भने, ‘नेपाली नागरिकबाट कुनै पनि शुल्क लिइएको छैन।’

यसअघि मोरङकै बुढीगंगा गाउँपालिकाले पनि भारतीय मजदुरहरूसँग पिसिआर परीक्षण वापत रकम असुलेपछि विवाद उत्पन्न भएको थियो। स्वास्थ्य मन्त्रालयले गत भदौ २८ गते देशभर ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालाबाट मात्रै बढीका दुई हजार रुपैयाँ लिएर पिसिआर परीक्षण गर्न पाइने निर्देशन जारी गरेको छ। तर, पथरी नगर अस्पतालले सरकारको निर्देशन विपरित शुल्क असुल गरेपछि विवाद उत्पन भएको छ।

प्रत्येक प्रदेशमा एउटा सरकारी अस्पतालको प्रयोगशालाले मात्रै तोकिएको रकम लिएर पिसिआर परीक्षण गर्न पाउँछन्। प्रदेश १ का लागि कोसी अस्पतालको प्रयोगशालालाई मात्र अनुमती दिइएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App