८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बालबालिका पूर्ण खोपको पहुँचबाट वञ्चित

छैन गाउँघर क्लिनिक

नियमित खोप लगाउने उमेरका बालुवागडाका बालबालिका । तस्बिरः पुष्पराज/नागरिक

चुरे गाउँपालिका–४, बालुवागडाका बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका छन्। एक दिनको पैदल यात्रापछि पुगिने वडा कार्यालयमा गाउँघर क्लिनिक नभएका कारण बालबालिकालाई बोकेर नियमित खोप लगाउन जान नसक्दा बालुवागडाका बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका हुन्।  

१५ महिना मुनिका नियमित खोप लगाउने ३४ जना बालबालिका रहेको बालुवागडामा नजिकै गाउँघर क्लिनिक नहुँदा खोपबाट वञ्चित हुँदै आएका हुन्। गाउँमा गाउँघर क्लिनिक नभएपछि केही बालबालिकाका अभिभावक अर्को स्थानीय तहमा गएर खोप लगाउँदै आए पनि धेरै बालबालिका भने नियमित खोपबाट छुट्ने गरेका छन्। 

बालबालिकालाई नियमित खोप लगाउन आफ्नै वडामा रहेको गाउँघर क्लिनिक पुग्न बालुवागडाबासीलाई एक दिनको पैदलबाटो हिँड्नुपर्ने बाध्यता छ।  

वडा कार्यालय र गाउँघर क्लिनिक जान बालुवागडाबाट एक दिन पूरै हिँड्नु पर्ने भएका कारण यहाँका नागरिकले सरकारी सेवा लिन वञ्चित हुनुपरेको बताउँदै स्थानीय सूर्यमुखी आधारभूत विद्यालयका प्रधानाध्यापक योगेन्द्र देउवाले भने,‘आफ्नै स्थानीय तहमा धेरै टाढा भएका कारण यहाँका बालबालिका नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।’ केही अभिभावकले भने दुई घण्टाको पैदल दूरीमा रहेको अर्को स्थानीय तह गौरीगंगामा गएर खोप लगाउने गरेको बताउँदै उनले भने,‘त्यहाँ पनि अर्काको स्थानीय तहमा किन खोप लगाउन आएको भन्ने जवाफ पाउने गरेको अभिभावकहरुले गुनासो पोख्दै आएका छन्।’  

बालुवागडाका बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित हुनुपरेको भन्दै चार वर्षअघि नै तत्कालीन जिल्ला विकास समितिमार्फत् सर्वदलीय बैठकले खोप केन्द्र स्थापना गरी मासिक रुपमा खोप सञ्चालन गर्ने भनिएपनि अहिलेसम्म खोप केन्द्र सञ्चालनमा नआएको स्थानीय नेता टीकाराम ढुंगानाले बताए। उनले भने,‘हामीले पटक पटक गाउँपालिकासँग बालुवागडामा नियमित खोप केन्द्र सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छौँ, तर अहिलेसम्म सुनुवाइ नै भएको छैन।’ खोप केन्द्र सञ्चालनमा नआउँदा यहाँका बालबालिका नियमित खोप पाउनबाट वञ्चित हुँदै आएको उनले बताए।  

८० जना बालबालिका रहेको बालुवागडामा नियमित खोप लगाउने ३४ जना रहेको बताउँदै स्थानीय स्वयंसेविका पवित्रादेवी चन्दले भनिन्,‘गाउँघर क्लिनिक टाढा हुनु र अर्काको स्थानीय तहमा गएर खोप लिनुपर्ने बाध्यताका कारण बालबालिका नियमित खोप पाउनबाट वञ्चित हुनुपरेको छ।’ गाउँमै गाउँघर क्लिनिक भइदिएको भए बालबालिकाको नियमित खोप नछुट्ने उनी बताउँछिन्। ‘गाउँमै खोपकेन्द्र सञ्चालनमा आएको भए सबैले सहजै खोप पाउँथे,’ उनले भनिन्,‘खोप केन्द्र सञ्चालन नभएका कारण अभिभावक घरायसी कामले गौरीगंगा नगरपालिकाको चौमाला जान नसक्दा खोप छुट्ने गरेको छ।’ खोप छुटेका बालबालिकाका अभिभावकलाई नियमित भेटेर सल्लाह दिने गरेपनि खोप केन्द्र टाढा भएका कारण उनीहरु जानै नमान्ने गरेको उनले बताइन्।  

बालबालिकाको नियमित खोपसँगै यहाँका गर्भवती महिलाले पनि आइरन चक्की पाउन सकेका छैनन्। ‘गाउँघर क्लिनिक भएमा गर्भवती महिलाले नियमित गर्भ चेकजाँच गराउनुका साथै आइरन चक्की पनि पाउँथे,’ उनले भनिन्,‘त्यसका लागि पनि गर्भवतीले दुई घण्टाको जंगलको बाटो हिँडेर अर्को स्थानीय तहको प्राथमिक स्वास्थ्य केन्द्र चौमालामा पुग्नु पर्ने हुन्छ।’ अहिले गाउँमा ४ जना गर्भवती महिला रहेको बताउँदै उनले भनिन्,‘गर्भवतीले पनि नियमित आइरन चक्की सेवन गर्न पाएका छैनन्।’  

बालुवागडामा नियमित खोपका लागि पहिलेदेखिकै समस्या रहेको बताउँदै चुरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विक्रम बोहराले भने,‘भौगोलिक कठिनाइका कारण एउटै वडामा धेरै टाढा टाढा गाउँ भएकाले यस्तो समस्या देखिएको हो।’ उनले बालुवागडामा चाँडै नै गाउँघर क्लिनिक सञ्चालनमा आउने बताए। ‘बालुवागडामा गाउँघर क्लिनिक चलाउन वडा नम्बर ४ रहेको गर्भाबाट जानका लागि मोटरबाटोको समस्या भएका कारण अहिलेसम्म चल्न सकेको थिएन,’ उनले भने,‘अब चाँडै नै त्यही गाउँघर क्लिनिक स्थापना गरी नियमित खोप सञ्चालन गरिने छ।’ त्यसका लागि तयारी भइरहेको उनले बताए।

प्रकाशित: ६ आश्विन २०७७ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App