coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

हवाई उडानमा फैलिन सक्छ कोरोना भाइरस: अध्ययन

फाइल तस्बिर।

मेगी फक्स(सीएनएन)
एक युवती र उनकी बहिनी युरोपमा महामारी फैलिरहेको बेला विभिन्न देशको भ्रमणमा थिए। उनीहरु लन्डन पुग्नुअघि इटालीको मिलान र फ्रान्सको पेरिस घुमेका थिए। मार्च १ तारिखमा लन्डनबाट आफ्नो घर हनोई फर्कने क्रममा उडानमै ती युवतीलाई खोकी र घाँटी दुख्ने समस्या थियो, तर यसमा कसैको ध्यान गएन। १० घण्टापछि हनोईमा ओर्लदा उनीसँगै यात्रा गरेका १५ जना संक्रमित भइसकेका थिए। शुक्रबार सार्वजनिक एक अध्ययनले यस्तो देखाएको हो। शुक्रबार सार्वजनिक भएका दुईमध्ये यो एक उदाहरणले हवाई उडानको क्रममा कोरोना भाइरस फैलिनसक्ने देखाएको छ। साथै केही दूरी कायम गरेर मात्र हवाई यात्रु सुरक्षित हुन सक्दैनन् भन्ने पनि यसले देखाएको छ।

यसैगरी एक अर्काे घटनामा बोस्टनदेखि हङकङको एक उडानमा रहेका एक यात्रुले दुईजना परिचारिकालाई संक्रमित गरे। यी दुवै उदाहरण महामारी सुरुताकाका थिए जतिबेला फेस मास्क अनिवार्य थिएन। भियतनामको एक अध्ययन टोलीले मार्च २ मा लन्डनबाट आएको सो जहाजसँग सम्बद्ध विभिन्न यात्रुको समूहलाई निगरानी गरेको थियो।

‘हामीले फेब्रुअरीको सुरुदेखि लन्डन बस्दै आएकी एक २७ वर्षीया व्यापारी महिला सबैभन्दा पहिला संक्रमित ‘इन्डेक्स केस’ भएको पत्ता लगायौं,’ हनोई स्थित नेसनल इन्सिच्युट अफ हाइजिन एण्ड इपिडिमियोलोजीसँग आबद्ध गुएन कोङ खान्ह र उनको टिमले अध्ययन प्रतिवेदनमा भनेका छन्। ‘फेब्रुअरी २२ मा पहिलो केस र उनको बहिनी पेरिसको सप्ताहव्यापी फेसन सोमा सहभागी भएर इटालीको मिलान फर्केका थिए र फेब्रुअरी २५म ा लन्डन फर्केका थिए,’ अनुसन्धानकर्ताले ‘इमर्जिङ इन्फेक्सियस डिसेज’ नामक जर्नलमा लेखेका छन्। त्यतिबेला कोरोना भाइरस इटालीमा तीव्र गतिमा फैलिरहेको थियो तर बेलायतमा संक्रमणमा केही केस मात्र थिए। ती महिला मार्च १ मा हनोई फर्केने उडानमा थिइन्। ‘ती बिजनेस क्लासमा थिइन् र उडान अवधिभर उनलाई खोकी र घाँटी दुख्ने समस्या थियो,’ अनुसन्धानकर्ताले भनेका छन्।

हनोई अवतरण गरेको तीन दिनपछि मात्र उनी अस्पताल पुगिन् र कोरोना भाइरस पोजिटिभ देखियो। स्वास्थ अधिकारीले सो उडानमा रहेका २१७ जना यात्रु र उडान कर्मचारीलाई ट्र्याक गरे। तीमध्ये १२ जना बिजनेस क्लासमा यात्रा गरेका, दुईजना इकोनोमी क्लासमा यात्रा गरेका यात्रु र एकजना कर्मचारी गरी १५ जनालाई संक्रमण भएको देखियो। अनुसन्धानकर्ताले यी १५ जनामा संक्रमणको कारण ती बिरामी यात्रु रहेको निष्कर्ष निकाले। ‘उडानमा केस–१ द्वारा हावाको माध्यमबाट अथवा थुकका स–साना छिटामार्फत भाइरस संक्रमण भएको देखिन्छ, विशेषगरी बिजनेस क्लासमा यात्रा गर्नेहरुमा यो बढी देखिन्छ,’ उनीहरुले अध्ययन प्रतिवेदनमा भनेका छन्।

‘हामीले के निष्कर्ष निकाल्यौं भने लामो उडानमा कोभिड–१९ संक्रमणको जोखिम वास्तविक हिसाबमा छ र निश्चित दूरी कायम गरिएको बिजनेस क्लासमा समेत यो सम्भावना देखिएको छ,’ अनुसन्धानकर्ताले भनेका छन्। ‘कोभिड–१९को जोखिम रहुन्जेल उडान अवधिमा संक्रमण रोक्ने उपायको अबलम्वन गर्न आवश्यक छ र आवागमनमा स्क्रिनिङ प्रक्रिया अवलम्बन गरेर उडानलाई सुरक्षित गर्नु पर्दछ,’ सो अध्ययनमा भनिएको छ। अर्काे घटनामा मार्च ९ मा बिजनेस क्लासमा बोष्टनबाट हङकङ उडेका एक जोडीलाई कोरोना देखियो। कन्ट्याक्ट ट्रेसिङमा दुईजना परिचारिकालाई पनि पोजिटिभ देखियो। ‘यी चारजना एकआपसको सम्पर्कमा रहेको अवधि जहाजभित्र मात्र थियो,’ लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका डेबोराह वाट्सन–जोन्स र टिमले अमेरिकाको सेन्टर फर डिसेज कन्ट्रोल (सीडीसी) द्वारा प्रकाशित हुने एक जर्नलमा लेखेका छन्। ‘भाइरसको वंशानुगत अध्ययनले यी चारैजना एकै हिसाबले संक्रमित भएको देखियो,’ सो अध्ययनमा भनिएको छ।

प्रकाशित: ५ आश्विन २०७७ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App