४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

'बिरामीलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीलाई सुरक्षित राख’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका सरकार तथा स्वास्थ सेवाका नेताहरुलाई स्वास्थकर्मी तथा बिरामीलाई रहेको खतरालाई सम्बोधन गर्न अनुरोध गरेको छ। ‘कोभिड–१९ महामारीले पिडा कम गराउन र जीवन जोगाउन स्वास्थकर्मीको गहन जिम्मेवारीलाई स्मरण गराएको छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले भनेका छन्।

‘स्वास्थकर्मीलाई सुरक्षा नगरेसम्म कुनै पनि देश, अस्पताल र क्लिनिकले बिरामीलाई सुरक्षित राख्न सक्दैनन्,’ उनले भने। संगठनले बिहीबार जारी गरेको ‘हेल्थ वोर्कर सेफ्टी चार्टर’ ले स्वास्थकर्मीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण, प्रशिक्षण, भुक्तानी र आत्मसम्मानको सुनिश्चिता गर्ने संगठनले विश्वास लिएको छ। ‘विश्व बिरामी सुरक्षा दिवस’ का अवसरमा डब्लुएचओले सो चार्टर बिहीबार सार्वजनिक गरेको हो। चार्टरमा सम्बन्धित सरकारलाई स्थानीयस्तरमा सुरक्षित तवरले स्वास्थ सेवा सञ्चालन गर्न ५ वटा प्रमुख काम गर्न उसले सुझाएको छ। स्वास्थकर्मीमाथि हुनसक्ने हिंसा, मानसिक स्वास्थको समस्या र भौतिक तथा जैवीक खतरालाई सम्बोधन गर्न डब्लुएचओको सुझाव छ। यसैगरी स्वास्थकर्मीको सुरक्षाका लागि राष्ट्रिय कार्यक्रम अगाडि बढाउन तथा स्वास्थकर्मी सुरक्षानीतिलाई हाल रहेको बिरामी सुरक्षानीतिसँग जोड्न पनि संगठनले सुझाएको छ।

 

कोभिड–१९ महामारी नियन्त्रणमा खटिएका स्वास्थकर्मीलाई संक्रमण बढ्दो रहेको परिप्रेक्ष्यमा संगठनले यस्तो आह्वान गरेको हो। विश्वका ठूला राष्ट्रमा कुन जनसंख्याको ३ प्रतिशत स्वास्थकर्मी छन् भने निम्न तथा मध्यम आय भएका देशमा २ प्रतिशत छन्। तर संगठनका अनुसार कोभिड–१९ का कुल संक्रमितमा १४ प्रतिशत स्वास्थकर्मी रहेका छन्। केही देशमा यो संक्रमण दर ३५ प्रतिशतसम्म रहेको देखिएको छ।

कोभिड–१९ को उपचारमा खटिएका विश्वमा हजारांै स्वास्थकर्मीले ज्यान गुमाएका छन्। भौतिक जोखिम मात्र होइन, घण्टांैसम्म लगातार काम गर्नुपर्ने, रोगको डर हुने तथा परिवारसँग टाढा रहनुपर्ने र सामाजिक विभेदका कारण स्वास्थकर्मीमा समस्या झन् बढेको डब्लुएचओको भनाइ छ। त्यसो त, कोभिड–१९ महामारीअघि पनि विश्वका अधिकांश भागमा स्वास्थकर्मी आत्महत्याको उच्च जोखिममा रहेका थिए। हालै गरिएको एक अध्ययनले प्रत्येक ४ मध्ये १ जना स्वास्थकर्मीमा डिप्रेसन र चिन्ता रहने गरेको र प्रत्येक ३ मध्ये १ जनामा अनिद्राको समस्या रहेको देखाएको थियो।

प्रकाशित: ४ आश्विन २०७७ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App