coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डा. केसीको मुटुको चालमा गडबडी आएपछि श्वासप्रश्वासमा समस्या

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी भएको चिकित्सकहरुले बताएका छन्। डा. केसीको स्वास्थ्य जाँचमा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रविणकुमार गिरीका अनुसार पाँचौ दिनको तुलनामा छैटौ दिनमा मुटुको चाल निकै गडबडी देखिएको हो। चक्कर लाग्ने, बाउडिने र स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।  

डा. केसीको छाती राति निकै दुखेको र श्वास लिन गाह्रो भएको उपचारमा संलग्न चिकित्सहरु बताउँछन्। पिसावको मात्रमा कमि आएको छ। मध्यरात देखि दुई सय मिली मात्र पिसाव भएको छ। प्रेसर क्रमिक रुपमा कमि हुँदै गइरहेको चिकित्सकहरुको टोलीले जानकारी दिएको छ।  

कर्णाली प्रतिष्ठानको चिकित्सकको टोलीले दैनिक तीन पटक सामान्य जाँच गरिरहेको छ। छैटौ दिनमा स्वास्थ्य अवस्था निकै नाजुक भएकोले अस्पताल जान परामर्श प्रदान गरेको डा. गिरी बताउँछन्। उनले भने,‘स्वास्थ्य अवस्था बिग्रदै गएको छ। तत्कालै अस्पताल लैजानुपर्ने देखिन्छ। डा. केसीलाई तत्काल अस्पताल लैजाने माहोल बनाउनको लागि आग्रह गर्दछौँ।’ डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गिरीले बताए।

डा. केसी हिड्न सक्ने अवस्थामा हुनुहुन्न, हिडाउनको लागि अर्काको सहारा लिनुपरिरहेको छ। रगतमा चिनिको मात्रा लगायत जाँच गर्न मान्नु भएको छैन। डा. गिरीले भने,‘नसाबाट सलाइन लिन र अस्पताल जान मान्नु भएको छैन। यो अवस्थाले निकै चिन्तित तुल्याएको छ। रगतमा चिनिको मात्रा अति न्युन भइ प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा बढ्न सक्ने देखिएको छ। डा. केसीको उपचारमा कर्णाली  प्रतिष्ठानका डा. गिरी,डा. अनुप मंगल समाल र सविना थापा खटिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा.केसीले जुम्लामा सत्याग्रह थालेका हुन्। डा.केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ। सत्याग्रह बसेको छैटौ दिनसम्म पनि सरकारले माग सम्बोधन गर्ने कुनै संकेत देखिएको छैन।  

डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण माग राख्दै साझा पार्टीको विशेष टोली जुम्ला पुगेको छ। स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै जुम्लाको रानिचौरस्थित बाविरामष्ट मन्दिर परिषरमा सुरु गरेको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन देशका विभिन्न ठाउँबाट साझा पार्टीको विशेष टोली जुम्ला पुगेको हो।  

यसअघिका सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा.केसीको स्वास्थ्य यो पटक सत्याग्रहको छैटौँै दिनमै नाजुक बन्दै गएको चिकित्सहरुले बताएका छन्।

प्रकाशित: ३ आश्विन २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App