९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

देशभर ५ सय स्वास्थ्यकर्मी संक्रमित हुँदा टेकु अस्पतालका सबै सुरक्षित, कसरी?

देशमा सबैभन्दा पहिले कोरोना संक्रमितको उपचार सुरु गर्ने अस्पताल हो– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। यो अहिले देशको प्रमुख कोभिड अस्पताल पनि हो। यस अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थालेको ८ महिना बितिसकेको छ। यस अवधिमा यहाँबाट कोरोनाका हजारौं बिरामीले स्वास्थ्य लाभ गरिसकेका छन्।  

खुसीको कुरा– तर अहिलेसम्म यस अस्पतालका एक जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भएका छैनन्।  

‘अस्पतालको आइसियु वार्डमा हेपा फिल्टर (कोठामा गुम्सेको हावा बाहिर पठाउने प्रविधि) राखिएको छ। जसले वार्डमा बिरामीले खोक्दा/हाच्छिउँ गर्दा निस्कने छिटा बाहिर पठाउँछ, भित्रै रुमलिन पाउँदैनन्।’  

कसैलाई कोरोना संक्रमण भयाे कि भनेर केही दिनअघि मात्र सबै चिकित्सक/स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षण गरियो। पिसिआर र आरडिटी दुवै विधिबाट गर्दा पनि कसैमा संक्रमण नदेखिएको अस्पतालले जानकारी दिएको छ।  

चिकित्सकका अनुसार पिसिआर परीक्षणले तत्कालको संक्रमण देखाउँछ भने संक्रमण भएर पनि निको भइसकेको अवस्था आरडिटी परीक्षणबाट पत्ता लाग्छ। तर यी दुवै अवस्था आफ्ना कुनै पनि चिकित्सक/स्वास्थ्यकर्मीमा नदेखिएको अस्पतालले जनाएको छ।  

देशभरका विभिन्न अस्पतालमा गरी ५ सयभन्दा बढी चिकित्सक/स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको अवस्थामा यो अस्पतालमा अहिलेसम्म कोही पनि संक्रमित नभई सुरक्षित रहन सक्नाको कारण के होला त? पक्कै पनि आम जिज्ञासाको विषय हो।  

विशेष सुरक्षाका उपाय अपनाएका कारण यस्तो सम्भव भएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी दाबी गर्छन्। ‘हामीले सुरक्षाका लागि केही भिन्नै उपाय अपनाएका छौं,’ उनले भने। उनका अनुसार अस्पतालको आइसियु वार्डमा हेपा फिल्टर (कोठामा गुम्सेको हावा बाहिर पठाउने प्रविधि) राखिएको छ। जसले वार्डमा बिरामीले खोक्दा/हाच्छिउँ गर्दा निस्कने छिटा बाहिर पठाउँछ, भित्रै रुमलिन पाउँदैनन्।  

यस्तै अर्को कारण हो– अस्पतालले संक्रमितको उपचारमा खटिने आफ्ना स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा पिपिई (भाइरसबाट सुरक्षा दिने स्वास्थ्य सामग्री) दिएको छ। साथै त्यस्ता साधन सुरक्षित तरिकाले कसरी लगाउने र कसरी फुकाल्ने विषयमा पनि विशेष तालिम दिइएको निर्देशक डा. राजभण्डारी बताउँछन्।  

यस्तै संक्रमण नसरोस् भन्नाका लागि अस्पताल क्षेत्रमा दिनको दुईपटक क्लोरिन छर्किने गरिएको छ भने वार्डमा एकपटकमा एक जना स्वास्थ्यकर्मी मात्र जान पाउने नियम राखिएको छ। अनि घरबाट फर्केका स्वास्थ्यकर्मीलाई क्वारेनटिनमा राखेर मात्र अस्पताल आउने व्यवस्था गरेको डा.राजभण्डारीले बताए।  

संक्रमण फैलिन नपाओस् भनेर अस्पतालकी नर्स ज्ञानी महर्जनले महामारी सुरु हुनासाथ सबै स्वास्थ्यकर्मीलाई  पिपिई प्रयोगबारे परामर्श दिइन्। अहिले दैनिक बेलाबखत स्वास्थ्यकर्मीले पिपिई लगाउने र फुकाल्ने बेला पनि उनी निकै निगरानी गर्छिन् र कुनै कमजोरी देखिए सुझाव दिइहाल्छिन्।

यस्तो अभ्यासले आफूहरूमा व्यक्तिगत सुरक्षाका सामग्री नियमपूर्वक लगाउने बानी परिसकेको अस्पतालका आकस्मिक कक्षका डा. श्रवणकुमार मण्डल बताउँछन्। कोरोना महामारी आउनुअघि पनि यो अस्पतालले स्वाइनफ्लु र बर्डफ्लुका बिरामीको उपचार गरेको सुनाउँदै उनी यही अनुभवले पनि अहिले काम गरेको बताउँछन्। 

अस्पतालकाे अनुसन्धान एकाइका संयोजक डा. शेरबहादुर पुनका अनुसार यो अस्पतालका हरेक स्वास्थ्यकर्मीले हरेक बिरामी र साथीलाई समेत संक्रमित नै सम्झेर व्यवहार गरिएका कारण संक्रमण सर्न नपाएको हो। 

कोभिड वार्डमै खटिरहेका अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला कोरोना संक्रमितको नजिकै पुगेर हेरचाह गरिए पनि नियमपूर्वक पिपिई लगाउने गरिएका कारण अहिलेसम्म कुनै स्वास्थ्यकर्मीमा संक्रमण नभएको बताउँछन्। ‘मुख्य कुरा, सुरक्षा कवच राम्रोसित लगाउँछु,’ उनले भने। यसरी नियमपूर्वक पिपिई लगाएमा संक्रमणबाट बच्न सकिने उनले बताए।  

अस्पतालकाे अनुसन्धान एकाइका संयोजक डा. शेरबहादुर पुनका अनुसार यो अस्पतालका हरेक स्वास्थ्यकर्मीले हरेक बिरामी र साथीलाई समेत संक्रमित नै सम्झेर व्यवहार गरिएका कारण संक्रमण सर्न नपाएको हो। ‘आफ्नै साथीसँग कुरा गर्दा पनि मास्क नलगाई गर्दैनौं र भौतिक दूरी कायम राख्छौं,’ उनले भने।  

यो समय अस्पतालले उपलब्ध गराएका पर्याप्त सुरक्षा सामग्रीले पनि सहयोग पु¥याएको उनले बताए। ‘अस्पतालका हरेक कोठामा सेनिटाइजर छन्, जसको प्रयोगले हातबाट सर्ने कोरोनालाई रोकेको छ,’ डा. पुनले भने।

प्रकाशित: २८ भाद्र २०७७ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App