coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा अहिलेसम्मकै बढी संक्रमण

कोरोना संक्रमण दर दिनानुदिन बढिरहे पनि सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारेको छ । उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी संख्यामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले औंल्याएअनुसार उक्त संख्या ६ सय ९६ रहेको छ । उपत्यकाभित्र पनि काठमाडौंमा मात्र थप ६ सय २० जना संक्रमित भएका छन् भने ललितपुर र भक्तपुरमा ३८÷३८ जना छन् । केही सातायता काठमाडौंमा देशभरिकै उच्च संख्यामा संक्रमण फैलिएको देखिन्छ । काठमाडौंमा बिहीबार ४ सय ९५ जना, बुधबार ३ सय ९४, मंगलबार ३ सय, सोमवार २ सय ९३ जना र आइतबार २ सय ९० जनामा कोरोना देखिएको थियो ।  

उपत्यकामा तुलनात्मक रूपमा भक्तपुर र ललितपुरमा कम संक्रमण देखिएको छ । बिहीबार भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना संक्रमित भेटिएका थिए । बुधबारचाहिँ भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थिए । शुक्रबारसम्म उपत्यकामा कुल संक्रमितको संख्या १० हजार ६ सय ९७ जना पुगेको छ । तीमध्ये काठमाडौंमा ८ हजार ७ सय ८५, भक्तपुरमा ८ सय ९० र ललितपुरमा १ हजार ८२ जना छन् । उपत्यकासहित देशभरिमा शुक्रबार ११ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार देशभरि कुल संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको छ । उपत्यकाबाहिर रूपन्देही, चितवन, मोरङ, सुनसरी, नपलपरासी पूर्व, मकवानपुरलगायत निल्लामा पनि उल्लेख्य संख्यामा संक्रमण देखिएको छ ।  

उपत्यकाबाहिर रूपन्देही, चितवन, मोरङ, सुनसरी, नपलपरासी पूर्व, मकवानपुरलगायत जिल्लामा पनि उल्लेख्य संख्यामा संक्रमण देखिएको छ ।

यीमध्ये ३ सय २२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा पाँचजनाको मृत्यु भयो । मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला तथा महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुष छन् । कुल संक्रमितमध्ये शुक्रबारसम्म ३६ हजार ६ सय ७२ जना निको भएका छन् । यो संख्या कुल संक्रमितमध्ये ७० प्रतिशत हो । हाल देशभरिमा १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित छन् । ती मध्येमा ८ हजार २ सय ९१ जना होम र ६ हजार ३ सय ३४ जना संस्थागत आइसोलेसनमा छन् । जटिल समस्या भएका १ सय ७० जनाको आइसियुमा र २५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा केही दिनयता विदेशबाट आई होटेल क्वारेनटिनमा बसेकाहरूमा पनि संक्रमण पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए । दैनिक नमुना संकलनको संख्या पनि बढी भएकाले संक्रमित बढी भेटिएको उनको भनाइ छ । तर सोही महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार उपत्यकामा संक्रमण दर बढ्ने क्रममै भएपछि शुक्रबार साँझ नै विज्ञहरूबीच छलफल भएको छ । लकडाउन भए पनि सो अवधिमा परिवारका एक संक्रमितबाट अन्यमा संक्रमण फैलिएको र समूहमा बस्ने प्रहरी, सेनालगायतमा बढी नै संक्रमण देखिएको उनले बताए ।

कोरोना संक्रमण जोखिमकै बेला नकारात्मक भ्रम फैलाइकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ । ‘ चनाखो भएर टोलछिमेकमा कोरोना भाइरसबाट बच्ने तरिका सिकाउने गरौं,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कोरोनाविरुद्धको लडाइँमा नागरिकको सहयोग अनिवार्य छ ।’

प्रकाशित: २७ भाद्र २०७७ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App