७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

तपाईंलाई मास्क लगाउने सही तरिका थाहा छ?

कोरोना महामारी सुरु भएयतभा विश्वभर मास्कको प्रयोग ह्वात्तै बढेको छ। यसको इतिहास खोतल्दा सबैभन्दा पहिले अठारौं शताब्दीमा अस्पतालहरूमा प्रयोग भएको पाइन्छ। त्यसपछि चिकित्सकले खासगरी शल्यक्रिया गर्दा सेतो र हल्का हरियो रङका मास्क प्रयोग गर्न थाले। आमरूपमा भने सन् १९१९ मा मास्कको प्रयोग भएको हो। बिबिसिका अनुसार सन् १९१९ मा जब स्पेनिस फ्लुको महामारी (जसबाट ५ करोड मानिसको मृत्यु भयो) फैलियो, तब यसको संक्रमणबाट बच्न आम मानिसले मास्कको प्रयोग गर्न थालेका हुन्। 

धेरैजसो भाइरस हावाबाटै सर्ने चिकित्सक बताउँछन्।  चिकित्सकका अनुसार भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्ने र त्यसको प्रमुख द्वार नाक/मुख भएकाले मास्क लगाउनुपर्ने भएको हो। 

त्यसयता मानिसले अन्य भाइरसबाट जोगिन पनि मास्क प्रयोगलाई निरन्तरता दिए। साथै वायु प्रदूषणबाट बच्न पनि मास्क लगाउन थालियो। अहिले कोरोना महामारी फैलिएपछि त झन् यसको प्रयोग विश्वभर निकै बढेको छ। मास्क यतिबेला जीवन पद्धति नै बन्न पुगेको छ। धेरैजसो भाइरस हावाबाटै सर्ने चिकित्सक बताउँछन्।  चिकित्सकका अनुसार भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्ने र त्यसको प्रमुख द्वार नाक/मुख भएकाले मास्क लगाउनुपर्ने भएको हो। 

तर कोरोना महामारीको सुरुवाती दिनमा मास्क लगाउनेबारे एकमत हुन सकेन। विश्व स्वास्थ्य संगठनले समेत सुरुमा मास्क प्रयोगबारे स्पष्ट कुरा भन्न सकेन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क  बहिष्कारको नीति लिए। तर यसमा उनी लामो समय अडिग रहन सकेनन्। यसबीच विश्वका कतिपय देशमा मास्क प्रयोगका विषयमा बहस चले। तर अन्ततः मास्क प्रयोग गर्ने क्रम बढ्दै गयो। तर अझै पनि झिनो रूपमै भए पनि लामो समय मास्क लगाएर बस्नु चुनौतीपूर्ण हो भन्ने बहस जारी छ।

दक्षिण एसियाली मुलुकमा मास्क प्रयोगमा खासै विवाद देखिँदैन। अहिले प्रायः सबैले मास्क लगाउने गरेको पाइन्छ। नेपालको सन्दर्भमा सहरी क्षेत्रमा मास्क प्रयोग पर्याप्त देखिए पनि ग्रामीण भेगमा यसको प्रयोग अझै न्यून नै देखिन्छ। स्रोत/साधन अभावका कारण ग्रामीण भेगमा मास्क प्रयोगतकर्ता कम भएको अनुमान गर्न सकिन्छ। कतिपय स्थानमा भने कपडाको मास्क बनाएर पनि लगाइएको देखिन्छ।  

वास्तवमा नेपालमा मास्कको प्रयोग किन र कसरी गर्ने भन्ने बारेमा न नागरिकलाई यथेष्ट जानकारी छ न त यसको नियमन र कार्यान्वयन गर्ने सरकारी निकाय नै स्पष्ट छ। एक हिसाबले सरकारी निकाय अन्योलमै छ। त्यस्तै मास्कको स्वास्थ्य मापदण्ड, गुणस्तरीयताका विषयमा पनि खासै कसैले ध्यान दिएको पाइँदैन। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस विषयमा सरकारले आवश्यक ‘प्रोटोकल’ तयार गरी अनुगमनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँछन्। पब्लिक हेल्थ विट्रेनका डा. जेक डनिङ भन्छन्, ‘मास्कलाई प्रभावकारी बनाउन सही तरिकाले लगाउनुपर्छ। नियमित रूपमा यो फेरिरहनुपर्छ। सही तरिकाले व्यवस्थापन गर्नुपर्छ। तर नेपालमा प्रयोग भइरहेका मास्कको न गुणस्तरीयता मापन भएको पाइन्छ न त यो लगाइसकेर फ्याँक्दा गरिनुपर्ने व्यवस्थापनमै  ध्यान पुगेको छ। कसरी लगाउने? कति पटकसम्म प्रयोग गर्ने? प्रयोगपछि कसरी व्यवस्थापन गर्ने? यी कुरा भगवान् भरोसामै निर्भर छन्।  

नेपालमा सामान्य कपडाबाट निर्मित, सर्जिकल र एन–९५ गरी तीन प्रकारका मास्क प्रयोगमा भइरहेको पाइन्छ। मास्क यहाँ कति उत्पादन हुन्छन्? कति आयात गरिन्छन्? अनि कति खपत हुन्छन्? यकिन तथ्यांक पाइँदैन। अहिले अत्यावश्यकीय साधन बनेको मास्क कसरी प्रयोग गर्ने भन्ने अन्योल सर्वसाधरणमा कायमै छ। 

जनस्वास्थ्यविद्हरू बजारमा पाइने कपडाबाट बनाइएका मास्क प्रयोग गर्न प्रोत्साहन गर्दैनन्। जनस्वास्थ्यविद् डा. पाण्डे पनि सर्वसाधारणलाई सर्जिकल मास्क प्रयोगमै जोड दिन्छन्। उनी सर्जिकल मास्क एक दिन मात्र लगाउन व्यावहारिक हुने बताउँछन्। एन-९५ जस्ता गुणस्तरीय मास्क सम्भावित संक्रमित र संक्रमतिको प्रत्यक्ष सम्पर्कमा आउँदा लाभदायक र बढी भरपर्दो हुने बताइन्छ। यो मास्क प्रयोग गर्दा प्रयोगकर्ता आफू अरूको संक्रमण सर्नबाट जोगिए पनि ऊ संक्रमित रहेको अवस्थामा भने अरूलाई भाइरस सर्न सक्ने जोखिम रहन्छ। 

बजारमा पाइने कपडाका मास्क श्वास फेर्दा ओसिलो भएर अरू किटाणु त्यहीं टाँसिने सम्भावना हुने हुँदा त्यस्ता मास्क कम प्रभावकारी हुने चिकित्सक बताउँछन्। यसैले श्वास फेर्दा सुक्खा रहने सर्जिकल मास्क उपयुक्त हुने उनीहरूको भनाइ छ। सर्जिकल मास्क प्रयोगकर्ताबाट अन्य व्यक्तिमा संक्रमण नसर्ने हुँदा बढी प्रभावकारी हुने जनस्वास्थ्यविद् बताउँछन्। सर्जिकल मास्क प्रयोग गरेकाबाट अन्यमा संक्रमण सर्ने सम्भावना न्यून हुन्छ।

मास्क प्रयोगमा ध्यान नदिँदा पनि त्यसको प्रभावकारिता कम हुने देखिन्छ। मास्क लगाएर मात्र संक्रमणबाट जोगिने ठान्नु हुँदैन। त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्छ। सरसफाइ र शारीरिक दूरीको विकल्प मास्कलाई कदापि ठान्न हुँदैन। लगाएपछि सुरक्षित छु भनेर सरसफाइ र शारीरिक दूरी पालना गर्ने कुरामा लापर्बाही गर्न हुँदैन। अर्थात् मास्क लगाएको छु भने सरसफाइमा ध्यान नदिने र अन्य व्यक्तिको नजिकै बस्ने भूल गर्न हुँदैन। त्यस्तै मास्क लगाउँदा र फुकाल्दा मास्कको भित्रपट्टि नछुने, छेउका डोरीमा मात्र समाउने गर्न चिकित्सकको सुझाव छ। 

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका डाक्टर शेरबहादुर पुन मास्क प्रयोगमा हेलचक्र्याइँ गर्न नहुने बताउँछन्। मास्कलाई हातले छुने, टाउको वा चिउँडोमा लगाउने, नाक र मुख नछोपी लगाउने, हातमा झुण्ड्याउने, टेबुलमा राख्ने, मास्क समाउने हातले विभिन्न सामान छुने आदि गर्न हुँदैन।

यस्तै स्तनपान गराउने आमाले बच्चालाई स्तनपान गराउनुअघि विशेष सावधानी अपनाउन पर्छ। मास्कको प्रयोग गलत तरिकाले गर्दा झन् घातक हुन सक्छ। त्यसैले यस विषयमा सचेत बन्नपर्छ। सही हिसाबले मास्कको प्रयोग गरेमा मुखबाट निस्किने थुकका छिटा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पर्न पाउँदैन र भाइरस सर्ने जोखिम कम हुन्छ।  

यसरी एकतिर मास्कको प्रयोगबारे व्यापक जनचेतना जरुरी देखिएको छ भने अर्कातिर यसको सही प्रयोग तथा गुणस्तरीयता सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सरकारी निकाय र सरोकारवाला संघ/संस्थाले बेलैमा ध्यान दिन आवश्यक छ। यसैगरी प्रयोग गरिसकेर फ्याँकिने मास्कको उचित व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ। प्रयोग भएका मास्क जथाभावी फाल्दा त्यसबाट संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन्। साथै वातावरणमा पनि यसले असर पार्ने उनीहरूको धारणा छ। 

कोरोनाविरुद्धको लडाइँमा अहिलेसम्म सबैभन्दा प्रभावकारी रूपमा देखिएका उपाय सरसफाइ, शारीरिक दूरी र मास्क प्रयोग नै हुन्। त्यसैले सबैले यसमा ध्यान दिन जरुरी छ। 

अहिले चोक, बजार, सार्वजनिक स्थान जताततै फालिएका मास्क देखिन्छन्।  जसले भोलि प्लास्टिककै समस्याको रूप लिन सक्छन्। त्यसैले प्रयोग भएका मास्कको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला संघ/संस्थाले समयमै ध्यान पु¥याउन ढिलाइ गर्न हुँदैन। 

कोरोना संक्रमणविरुद्ध अहिलेसम्म भरपर्दाे खोप वा औषधि फेला पर्न सकेको छैन। आगोजस्तै सल्किएको  यो महामारीले विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। लाखौं मानिस संक्रमित भएका छन्। कोरोनाविरुद्धको लडाइँमा अहिलेसम्म सबैभन्दा प्रभावकारी रूपमा देखिएका उपाय सरसफाइ, शारीरिक दूरी र मास्क प्रयोग नै हुन्। त्यसैले सबैले यसमा ध्यान दिन जरुरी छ। 

प्रकाशित: २५ भाद्र २०७७ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App