८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘हर्ड इम्युनिटी’ खोपबाट मात्र: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की उपमहानिर्देशक डा. मारिएन्जेला बटिस्टा ग्यालभाओ सिमाओले कुनै पनि संक्रमणविरुद्ध प्राकृतिक रुपले ‘हर्ड इम्युनिटी’ (समुदायमा आर्जन हुने प्रतिरक्षा शक्ति) हासिल हुँदासम्म असंख्य मानिसको मृत्यु हुने भएकाले त्यसको विकल्प खोपमात्र भएको बताएकी छन्। ‘हर्ड इम्युनिटीका बारेमा धेरैलाई भ्रम छ। कोभिड–१९ को सन्दर्भमा यस्तो शक्ति खोपबाट हासिल गर्ने कुरो हो,’ डब्लुएचओद्वारा बुधबार आयोजित अनलाइन अन्तरसंवादमा सिमाओले भनिन्।

सिमाओ डब्लुएचओकोे औषधि तथा स्वास्थ सामग्रीको पहुचसम्बन्धी विभाग हेर्ने उपमहानिर्देशक हुन्। उनले कोभिड–१९ महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्यमा स्थापना भएको ‘एक्ट एक्सलेरेटर’ अभियानअन्तर्गत भाइरसको परीक्षण, उपचार र खोप निर्माण तथा स्वास्थ सेवाका विभिन्न तहलाई जोड्ने दिशामा महŒवपूर्ण काम भइरहेको दाबी गरिन्। गत अप्रिलमा स्थापना गरिएको ‘एक्ट एक्सलेरेटर’ लाई डब्लुएचओ, विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन, विश्व बैंक, ग्लोबल फन्ड, ग्याभी, ग्लोबल फाइनान्सिङ फेसिलिटीलगायत वैज्ञानिक, व्यवसायी, नागरिक समाज तथा अन्य परोपकारी व्यक्तिहरुको सहयोग छ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले कोभिड–१९ को खोप विश्वव्यापी रुपमा २०२२ सम्म मात्र सबैलाई उपलब्ध हुने बताइन्। ‘त्यस बेलासम्म मानिस आफैं बढी अनुशासित हुनुपर्छ,’ उनले भनिन्। हालसम्मको प्रगति हेर्दा सन् २०२१ को मध्यसम्म सीमित स्तरमा खोप उपलब्ध हुन सक्ने र खोप बनिसकेपछि सबैभन्दा पहिला स्वास्थ्य सेवा पु¥याउन अग्रपंक्तिमा रहेर काम गर्ने र त्यसपछि रोग संक्रमणको उच्च जोखिममा रहेका वर्गलाई उपलब्ध गराइने उनले बताइन्।

खोप बनिसकेको अवस्थामा ‘एक्ट एक्सलेरेटर’ को प्रमुख अंगका रुपमा रहेको कोभ्याक्स सुविधाअन्तर्गत निम्न तथा मध्यम आय भएका ९२ देशका २० प्रतिशत जनसंख्यालाई तत्काल खोप उपलब्ध गराउने लक्ष्य छ। यसले महामारीको तीव्र विस्तार अन्त्य गरी अर्थतन्त्र पुनरुत्थानको बाटोमा लग्ने डब्लुएचओको अपेक्षा छ।

कोभिड–१९ को खोप विश्वव्यापी रुपमा २०२२ सम्म मात्र सबैलाई उपलब्ध हुने भएकाले त्यस बेलासम्म मानिस आफैं बढी अनुशासित हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रमुख वैज्ञानिक स्वामीनाथनले हाल परीक्षणमा रहेका खोपलाई अनुमोदन गर्दा कुनै एक अथवा दुई व्यक्तिले नभई सम्बन्धित विज्ञ समावेश भएको अन्तर्राष्ट्रिय सल्लाहकार समूहले गर्ने पनि बताइन्। ‘खोपको सुरक्षा र प्रभावकारिताका विषयमा कुनै सम्झौता हुँदैन, गर्न मिल्दैन,’ उनले भनिन्, ‘खोपले लाइसेन्स पाइसकेपछि पनि केही वर्षसम्म यसको नियमित अनुगमन गरिनेछ।’

अक्सफोर्डको भ्याक्सिन परीक्षण रोकियो

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माण कम्पनी अस्ट्राजेनेकाद्वारा निर्माण गरिएको खोपको परीक्षण रोकिएको छ। अन्तिम चरणमा रहेको यो खोपको परीक्षणका क्रममा बेलायतका एकजनामा प्रतिकूल प्रतिक्रिया देखिएको बिबिसीले जनाएको छ। खोपका कारण बिरामी भएकाले हाललाई परीक्षण रोकिएको अस्ट्राजेनेकाले जनाएको छ। परीक्षण गरिएका ती व्यक्ति खोप अथवा अन्य कारणले बिरामी भएका हुन् भन्ने विषयमा स्वतन्त्र अध्ययन गरिने भएको छ।

विश्वमा हाल निर्माणाधीन खोपहरुमा यो खोप सबैभन्दा सशक्त दाबेदार थियो। पहिलो र दोस्रो चरणको सफलतापछि अन्तर्राष्ट्रिय बजारमा यो खोप सबैभन्दा पहिले आउने अपेक्षा गरिएको छ। तेस्रो चरणको परीक्षणअन्तर्गत अमेरिका, बेलायत, ब्राजिल तथा दक्षिण अफ्रिकाका ३० हजार मानिसमा यो खोपको परीक्षण भइरहेको छ।

प्रकाशित: २५ भाद्र २०७७ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App