६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना कहर : जाे ६ महिनायता एक दिन पनि बिदा बसेका छैनन्

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बिदा नबसेको ठ्याक्कै ६ महिना भयो । नेपालमा पहिलोपटक कोरोना संक्रमित भेटिएको दिनदेखि उनी कहिल्यै बिदा बसेका छैनन् । फागुनको पहिलो सातादेखि उनी सातै दिन अर्थात् शनिबार पनि अस्पताल पुगिरहेका छन् ।  

अन्य दिन शय्या व्यवस्थापन, परीक्षण र तथ्यांक तयारीमा उनको दिन बित्छ भने शनिबार परीक्षणका उपकरण मर्मतसम्भार तथा तथ्यांक व्यवस्थापनका लागि उनी अस्पताल पुग्छन् ।  

उनीजस्तै ६ महिनादेखि शनिबार पनि अस्पताल पुग्ने अन्य ४-५  चिकित्सक छन् । उनीहरूको सहयोगले काममा सहज भएको उनले सुनाए । घर पुगेपछि पनि भर्चुअल बैठक, बिरामी तथा उनका आफन्तबाट आउने टेलिफोनले उत्तिकै व्यस्त पार्ने उनी बताउँछन् । 

यस्तो व्यस्तताबीच पनि आफूलाई फूर्तिलो राख्न उनले योग र ध्यानको सहारा लिने गरेका छन् ।  यो खटाइ देशलाई दुःख परेका बेला भएकाले सहज रूपमा ग्रहण गरेको डा. राजभण्डारी बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि  प्रवक्ताकाे जिम्मेवारी लिएयता चैतदेखि शनिबार पनि कार्यालय धाइरहेका छन् । त्यस दिनदेखि उनले अहिलेसम्म एक दिन पनि बिदा बसेका छैनन् ।  

जसले गर्दा यसबीच उनले परिवारसँग कतै घुम्न निस्कन त परको कुरा, घरमै पनि राम्रोसँग बसेर कुराकानी गर्न पाएका छैनन् । तर पनि देश र जनताका लागि काम गरिरहेको बुझेर परिवारका सदस्यले कुनै गुनासो नगरेको डा.गौतम सुनाउँछन् ।

बिदै नबसी दैनिक खट्दा कामको चाप त हुन्छ नै । तर पनि यो महामारीबाट मान्छे बचाउने महान् काम भएकाले थकाइको अनुभूति खासै नहुने डा. गौतम बताउँछन् । मान्छे न हो, एकोहोरो काम गरिरहँदा कहिलेकाहीं तनाव त महसुस भइहाल्छ । तर यस्तो बेला ‘मुड फ्रेस’ गराउने उनको छुट्टै सूत्र छ ।  

दिनभर कार्यालयको काम गरेर उनी जब राति घरमा पुग्छन् तब टेलिभिजनको रिमोट दबाउँछन् र मनपर्ने लोकगीतका भाका सुन्छन् ।  

‘तनाव भयो भने मेरो गाउँघरतिर गाइने लोकगीत सुन्छु र फ्रेस हुन्छु,’ नागरिकन्युजसँग उनले आफ्नो अनुभव सुनाए । आफू बिरामीकै सेवा गर्ने उद्देश्यले यो (स्वास्थ्य) क्षेत्रमा आएकाले अहिलेको परिस्थितिलाई अवसरका रूपमा लिएर दैनिक काममा खटेको डा. गौतमले बताए ।  

उनीजस्तै स्वास्थ्य मन्त्रालयकै सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि कोरोना महामारीयता सातै दिन कार्यालयको काममा खटिरहेका छन् । बिदा नलिएको ६ महिना भएको उनी बताउँछन् । 

चैतदेखि हरेक दिन बिहान ७ बजेदेखि राति १० बजेसम्म उनी मन्त्रालयै व्यस्त हुने गरेका छन् । साप्ताहिक बिदा त पाएका छैनन् नै, कहिले त घर पुगिसकेपछि पनि फेरि मन्त्रालयमै फर्किनुपरेका दिन पनि धेरै छन् । देशका अस्पताल तथा संक्रमितको व्यवस्थापनलगायत थुप्रै जिम्मेवारी उनका काँधमा छन् । ‘रातको ११-१२ बजेसम्म पनि काम गर्नुपरेको छ,’ उनले सुनाए ।

यस्तै स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर तथा नियमन शाखाका प्रमुख डा. विकास देवकोटा माघयता दैनिक मन्त्रालय पुगिरेहका छन् । यसअघि उनी मन्त्रालयको प्रवक्ता थिए ।  हरेक बिहान साढे ८ बजेभित्र कार्यालय पुग्नुपर्छ । अन्य दिन ११ देखि १२ घण्टासम्म र शनिबार उनी ५ घण्टा मन्त्रालयमा खटिन्छन् । 

‘शनिबार पनि कुनै न कुनै विषयमा निर्णय गर्नुपर्ने हुन्छ, त्यही भएर जानैपर्छ,’ नागरिकन्युजसँग उनले भने । आफूले अँगालेको पेसाले उनको मुखबाट थकाइ लाग्यो भन्ने शब्द निस्किँदैन । ‘थकाइकाे महसुस  कहिल्यै भएन, यति गर्दा पनि देशमा संक्रमण बढ्दै जाँदा भने चिन्ता लाग्छ,’ डा.देवकोटाले भने ।

राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको दिनचर्या नेपालमा कोरोना भित्रिनुभन्दा अघिदेखि नै व्यस्त बनेको हो । उनी हरेक दिन बिहानै खाना खाएर घरबाट निस्किन्छन् ।  

महाशाखाका केस म्यानेजमेन्ट शाखाका जनस्वास्थ्य विज्ञ डा. उत्तम कोइरालाको दिनचर्या पनि उपत्यकामा कोरोना संक्रमण फैलिएयता निकै व्यस्त बनेको छ । बिहान आठै बजे खाना खाएर कार्यालय पुग्ने उनी राति ९-१० बजे मात्र घर फर्किन्छन् । नयाँ संक्रमितलाई अस्पताल र आइसोलेसन सेन्टरमा व्यवस्थापन गर्ने र तथ्यांक तयार गर्ने यो शाखाको काम हो । 

धेरै संक्रमित देखिएको दिन भनेका बेला घर फर्किन पाइँदैन । सबैै व्यवस्थापन गरेर घर फर्किंदा कहिलेकाहीं रातको १० पनि बज्छ । महामारीका बेला भएकाले आफूलाई थकाइको महसुस नभएको डा. कोइराला बताउँछन् ।  

स्वास्थ्य मन्त्रालयकै विज्ञ चिकित्सक डा. रोशन पोखरेलको निदचर्या पनि उत्तिकै व्यस्त छ । अरू दिन १२ घण्टा खट्ने उनी शनिबार पनि मन्त्रालय पुग्छन् । नेपालमा कोरोना संक्रमण सुरु भएयता ६ महिनादेखि परिवारसमेत भेट्न नपाएको उनी सुनाउँछन् । ‘दैनिक ३÷४ वटा बैठकमा सहभागी हुनुपर्छ,’ उनले भने ।  

उल्लिखित पात्र त प्रतिनिधि मात्र हुन् । देशभरिमा ५ हजार स्वास्थ्यकर्मीको अवस्था यस्तै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित: २० भाद्र २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App