८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्लाज्मा थेरापीको परिणाम अन्योलमै

काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर प्रयोग भइरहेको प्लाज्मा थेरापीमार्फत गरिने उपचारले कोरोना संक्रमण निको पार्छ कि पार्दैन भन्ने कुरा अझै निक्र्योल हुन सकेको छैन । उपत्यकाभित्रका कोभिड अस्पतालमा उपचाररत बिरामीमा प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि प्रयोग गरिएकाले कुनको प्रभाव परेको हो भन्ने अवस्था प्रष्ट नरहेको चिकित्सकले बताएका छन् ।  

त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ जनामा प्लाज्मा थेरापी तथा पाँचैजनालाई रेमडिसिभिर औषधि पनि दिइएको थियो । प्लाज्मा थेरापी दिइएका ५ जना ६० वर्षमुनि र ३० वर्षमाथिका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जनामा दिइएकामध्ये १ जना निको भएका थिए भने दुईजनाको मृत्यु भएको थियो । अन्य बिरामी पनि थेरापी लिने प्रक्रियामै छन् ।  

शसस्त्र प्रहरी बल कोभिड अस्पतालले हालसम्म ४ जनामा यो थेरापी दिएकोमा एकको मृत्यु भएको र बाँकी निको भई घर फर्केको अस्पतालले जनाएको छ । थेरापी लिनेमा ३५,५४ र य ५९ र ६६ वर्षका थिए । मृत्यु हुनेमा ६६ वर्षका पुरुष थिए ।  

त्यसैगरी, शुक्रराज सरुवा रोग अस्पताल टेकुले हालसम्म ४ जनामा प्लाज्मा थेरापी दिएको छ । उनीहरू सबै ४० वर्षमाथिका हुन् । तीमध्ये दुईजना निको भइसकेका छन् भने बाँकी दुईजनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । प्लाज्मा थेरापी दिइएका तीनजनालाई रेमडिसिभिर पनि दिइएको उनले जानकारी दिए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए । 

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए । थेरापी लिनेमध्ये दुईजना गम्भीर भइसकेपछि अन्य अस्पतालबाट रेफर भई आएका थिए र उनीहरूमा उच्च रक्तचाप तथा मधुमेह थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार कति जनामा प्रयोग भइसकेको छ भन्ने विषयमा यकिन तथ्यांक संकलन भइसकेको छैन । तर अनौपचारिक रूपमा केही दिनअघिसम्म देशभरिमा ५० जनामा यो थेरापी प्रयोग भएको जानकारी पाएको परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले बताए ।  

रेमडिसिभिर र प्लाज्मा थेरापी दुवै औषधि प्रयोग भएकाले थेरापीको प्रभावबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरिरहेको अनुसन्धानपछि मात्र यकिन हुने शिक्षण अस्पतालका कोभिड–१९ संयोजक डा. दासले बताए । तर अस्पतालको अनुभवमा गम्भीर चरणमा जानुअघिका बिरामीमा यो थेरापी प्रयोग गरेमा अहिलेसम्म सकारात्मक परिणाम आएको उनले बताए । नयाँ रोग र नयाँ थेरापी भएकाले सुरुमा संक्रमण फैलिएका देशमा बिरामी गम्भीर अवस्थामा पुगेपछि मात्र प्रयोग हुँदा कम सफलता भएको विभिन्न अध्ययनले आंैल्याएको उनले बताए ।  

त्यसैगरी, उपत्यकाबाहिरका अस्पतालले कसलाई कुन समयमा यो थेरापी दिने भन्नेबारेमा सही क्लिनिकल छनोट नहुँदा पनि परिणाम राम्रो आउन नसकेको बताउँछन् । दासका अनुसार यो थेरापी दिनुअघि शरीरमा अक्सिजन घट्न थालेपछि दिइहाल्नु पर्छ । तर पुरानो फोक्सोका रोगी, मिर्गौला, कलेजो तथा क्यान्सरका बिरामीमा थेरापी दिए पनि लाभ मिल्ने सम्भावना अत्यन्त कम हुने डा. दास बताउँछन् । उनी भन्छन्, ‘फिजिसियनले थेरापी दिनुअघि बिरामीको विभिन्न पक्षको क्लिनिकल अध्ययन राम्रोसित गर्नुपर्छ,’ उनले भने । अन्य रोगले पहिल्यै विभिन्न अंग बिग्रिसकेकालाई दिए पनि लाभ नपुग्ने उनी बताउँछन् । ‘प्लाज्मा थेरापीले मुख्य रूपमा लाभ दिने भनेको कोभिडको निमोनियामा हो,’ उनले भने ।  

शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. बाँस्तोलाले प्लाज्मा थेरपाीको नियमअनुसार मात्र बिरामीमा प्रयोग भएको र यसको परिणाम कुन रूपमा जान्छ भन्ने बेला अहिल्यै नभएको बताए । ‘ प्रोटोकोलअनुसार कोभिड १९ भएर अक्सिजन घट्न थालेपछि दिने हो,’ उनले भने ।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड–१९ संयोजक डा. विमल पाण्डेका अनुसार दुवै औषधिको सँगै प्रयोग भएकाले यसको सफलता या असफलता भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । अनुसन्धानकै अवधिमा रहेको यो थेरापी दिँदा प्लाज्मामा एन्टिबडीको मात्रा कति छ भनेर पनि हेरिनु पर्छ । जुन हेर्ने व्यवस्था अहिलेसम्म नेपालमा छैन । अस्पतालमा प्लाज्मा थेरापी दिएर मृत्यु भएका दुईजना बिरामी गम्भीर भएपछि अन्यत्र अस्पतालबाट रेफर भएर आएको हुँदा सुरुमै थेरापी दिन नपाएको उनले बताए ।  

डा.पाण्डेका अनुसार नेपालमा यो थेरापी अनुसान्धनकै क्रममा रहेको र अमेरिकन फुड एण्ड ड्रग एसोसिएसनले पनि यस थेरापीबारे यकिन सुझाव दिन नसकेको अवस्था रहेको बताए । ‘यो थेरापीले गम्भीर अवस्थामा पुगिसकेका बिरामीलाई फाइदा नमिल्न सक्छ,’ उनले भने ।  

चिकित्सकका अनुसार प्लाज्मा थेरापीले पनि रगतको अन्य तत्व चढाउँदा जस्तै साइड इफेन्ट (असर) हुन सक्छ । त्यो कारण पनि कतिपय बिरामीको मृत्यु हुनसक्छ । रगत दिँदा कतिपय बिरामी एन्फाइलोरिसिस रियाक्सन भएर र कतिपय गलत रगत(मिसम्यच)को कारणले बिरामीको मृत्युसमेत हुन्छ । यसरी मृत्यु हनेमा १ देखि २ प्रतिशत हुन्छन् । रगत दिँदा जस्तै कोभिडका बिरामीमा पनि शरीर चिलाउने, शरीरमा दाग आउने, जस्ता एलर्जी हुनसक्छ । कतिपय अनुसन्धानका अनुसार प्लाज्मा थेरापीले ५७ प्रतिशत कोभिडका बिरामीको मृत्युदर घटाउँछ ।  

स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा.धिमालका अनुसार परिषद्ले प्लाज्मा थेरापीको अनुसन्धान गरिरहेको छ । यो थेरापीको प्रभाव अनुसन्धान प्रक्रियापछि मात्र भन्न सकिनेछ । हाल नेपालभरका २२÷२३ वटा अस्पतालले यो थेरापीको सुुरु गरिसकेका छन् । यो थेरापी १८ वर्षमाथि, अन्य गम्भीर दीर्घरोग नभएकालाई दिइन्छ भने कोरोना संक्रमण भई निको भएको ६० दिनभित्रका, कोरोना पोजिटिभ भई नेगेटिभ देखिएका दाताले दिएको प्लाज्मा मात्र दिन मिल्छ ।

४४ हजार नाघे संक्रमित थप १४ को निधन
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ महिलासहित थप १४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ । पछिल्लोपटक मृत्यु हुने महिला काठमाडौंकी ८२, ६७ र २२ वर्षीया र चितवनकी ३५ वर्षीय छन् । मृतक पुरुषमा सप्तरीका ५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रूपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय छन् । मृत्यु दर हालसम्म कुल संक्रमितमध्ये ०.६ प्रतिशत हो । 

पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै बढी संख्या हो । त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । थपसहित नेपालमा कुल संक्रमित संख्या ४४ हजार ३ सय  ३६ पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४ सय ५४ जना संक्रमित भएका छन् भने उपत्यकाबाहिर सबैभन्दा बढी चितवनमा ८२, सर्लाहीमा ८०, मोरङमा ७६, बाँकेमा ४८, महोत्तरीमा ४६, रूपन्देहीमा ४४ र धनुषामा ४३ जना संक्रमित भएका छन् ।  

गत २४ घण्टामा थप १३ सय ५४ जना निको भएका छन् । यीसहित नेपालमा संक्रमितमध्येमा २५ हजार ५ सय ६१ जना अर्थात् ५८ प्रतिशत निको भएका छन् । हाल नेपालभरमा १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्येमा १० हजार ९ सय ४२ जना संस्थागत आइसोलसेनमा र ७ हजार ४ सय ६२ जनाको होम आइसोलेसनमा छन् । गम्भीर समस्या भएका १ सय ५१ जनाको आइसियुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार सबैभन्दा बढी सक्रिय संक्रमित बाग्मती प्रदेशमा ७ हजार ८ सय ९० र प्रदेश २ मा ४ हजार ५ सय ९ जना छन् ।  

गत २४ घण्टामा १३ हजार ६ सय ३८ वटा आरटिपिसिआर विधिवाट नमुना परीक्षण भएको छ । योसहित नेपालमा कुल परीक्षण ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ ।

प्रकाशित: २० भाद्र २०७७ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App