७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाविरुद्ध नेपालका तीन चुनौती

मंगलबार बूढानीलकण्ठमा स्वाब लिइँदै । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलका अनुसार बूढानीलकण्ठका पाँच स्थानबाट ५ सय १३ नमुना संकलन गरिएको छ । तस्बिर: श्रीराम सुवेदी/नागरिक

कोरोनाविरुद्ध लडाइँका लागि नेपालसामु मुख्य तीनवटा चुनौती रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोेश भाण्डेलारले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको अन्तवार्तामा उनले संघीयता, व्यहावर परिवर्तन र गुणस्तरीय सेवा मुख्य चुनौती रहेको बताए । उनीसँगको भिडियो अन्तवार्ता मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।  

भाण्डेलारले नेपालमा तीन तहका सरकार रहेकाले आपसी सहकार्यबिना कोभिड–१९ सँग जुध्न चुनौती हुने बताए । ‘केन्द्रीय सरकार एक्लैले कोभिड–१९ सँग जुध्न सक्दैन, आपसी सहकार्यको आवश्यकता छ,’ उनले भने । नेपाल भर्खरै संघीयता कार्यान्वयन प्रक्रियामा रहेकाले सहकार्य आवश्यक रहेको उनको भनाइ छ । स्थानीय सरकारले कोरोना संक्रमित र उनीहरूको सम्पर्कमा आएका अन्यको खोजी गर्ने काममा सहयोग गर्नुपर्ने उनले बताए ।  

पर्याप्त स्वास्थ्यकर्मी र अस्पताल भए मात्र कोरोना उपचारका लागि गुणस्तरीय सेवा दिन सकिने भन्दै उनले यस विषयमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताए । गर्भवती तथा नवजात शिशुको खोप, प्रसूति सेवा र दीर्घरोगीको नियमित सेवामा पहुँच बनाउने कार्य पनि चुनौतीका रूपमा रहेको उनले बताए ।  

उनका अनुसार नेपालमा कोभिड–१९ मा अनपाउनुपर्ने बानी व्यवहार लागू गर्ने विषय पनि उत्तिकै चुनौतीपूर्ण रहेको छ । विशेषगरी व्यक्तिगत सुरक्षा मापदण्ड, भौतिक दूरी अपनाउने र हात धुने बानीको अनिवार्य अभ्यास गर्ने जीवनशैली बनाउने कुरा उत्तिकै चुनौतीपूर्ण रहेको उनले बताए । यो व्यवहार परिवर्तनमा स्थानीय स्वयंसेवक तथा युवालाई परिचालन गर्न सकिने उनको सुझाव छ । 

कोभिड–१९ प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभएर आर्थिक तथा सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत असर परेकाले यो प्रकोपको प्रतिकार्य समाजको सबै पक्ष मिलेर मात्र सम्भव भएको उनले बताएका छन् । ‘कतिको रोजगारी गुमेको तथा विद्यालय बन्द हुन गएकाले शिक्षकले तलब पाएका छैनन्, व्यवसाय सञ्चालन नहुँदा धेरैको आर्थिक उत्पादन भएको छैन,’ उनले भने ।  

‘वर्षभरिमा विभिन्न सामाजिक काम गरिरहेका स्वयंसेवकबाट सहयोग लिएर कन्ट्याक्ट टे«सिङ र सुरक्षाको मापदण्ड अपनाउने विषयमा सहकार्य गर्न सकिन्छ,’ भाण्डेलरले भने ।  

कोभिड–१९ प्रकोपसँग जुध्न सरकारी जनशक्ति र अस्पतालले मात्र पर्याप्त नभएकाले निजी क्षेत्रमा भएका स्रोत र जनशक्ति परिचालन गरी कोभिडका बिरामीको उपचार गर्न प्रयोग गर्न सकिने सुझाए । ‘यो प्रकोपमा निजी क्षेत्रको भूमिका हुनुपर्छ र उनीहरूलाई सँगै ल्याउनुपर्छ,’ उनले भने । निजी क्षेत्रमा भएको काभेडि–१९ प्रकोपसित लड्नका लागि नयाँ–नयाँ उपायसमेत खोज्न सक्ने भएकोले निजी क्षेत्र सरकारसित सँगै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।  

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अन्य देशको तुलनामा कम संक्रमित भएको औंयाएका छन् । अन्य राष्ट्र«मा कुल जनसंख्याको १ देखि २ प्रतिशतमा संक्रमण देखिएकोमा अहिलेसम्म ०.१ प्रतिशत मात्र संक्रमित छन् ।

विश्व स्वास्थ्य संगठनले नेपालको संघीय र प्रदेश सरकारसित समेत सहकार्य गरिरहेको जनाएको छ । यो सन्दर्भमा तथ्यांक संकलन, निर्देशिका निर्माण र गुणस्तरीय प्रयोगशालाको विस्तारमा सहकार्य गरिरहेको जनाएको छ ।  

थप ७ जनाको मृत्यु  
गत चौबिस घण्टामा देशभरमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडाैंमा ७८ वर्षीया महिला र ७४ र ६६ वर्षीय पुरुष, सिराहामा २२, पर्सामा ६८ वर्षे र धनुषमाा ७६ वर्षीय र रूपन्देहीमा ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । यीसहित नेपालमा कुल संक्रमित मृत्यु संख्या १ सय ६४ पुगेको छ ।  

पछिल्लोसमय मृत्यु हुनेमा बढी वृद्व–वृद्वा रहेको मन्त्रालयले जनाएको छ । दोस्रो चरणको संक्रमण स्थानीय व्यक्तिमा समेत भएपछि वृद्व–वृद्वा र दीर्घरोगीको समेत मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

त्यसैगरी, चौबिस घण्टाभित्रमा थप ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २ सय ७१ महिला र ५ सय ८४ पुरुष छन् । यीसहित नेपालमा कुल संक्रमित संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । तीमध्ये १४ हजार २ सय ५० जना सक्रिय संक्रमित छन् । कुल संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भइसकेका छन् । गत चौबिस घण्टामा ३ सय १३ जना निको भई घर फर्किका छन् ।  

काठमाडौं उपत्यकामा थप २ सय जना संक्रमित भएका छन् । त्यसैगरी, उपत्यकाबाहिर सबैभन्दा बढी रूपन्देहीमा ६९, डोटीमा ४९, रौतहटमा ४४, मोरङमा ४३, चितवनमा ३७, कपिलवस्तुमा २३ र डोटीमा तथा अछाममा १९ जना संक्रमित थप भएका छन् ।  

संक्रमितमध्ये आइसियुमा १ सय ५० जना र भेन्टिलेटरमा १३ जनाको उपचार भइरहेको छ । हालसम्म ७५ जिल्लामा संक्रमण देखिएको र सबैभन्दा बढी प्रदेश २ मा ५ हजार २ सय १८ जना र त्यसपछि बागमती प्रदेशमा ४ हजार ८ जना छन् । गत चौबिस घण्टामा ११ हजार ३ सय २७ वटा नमुना पिसिआर परीक्षण गरिएको थियो ।

प्रकाशित: १० भाद्र २०७७ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App