१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुवै मृगौला फेल भएपछि उपचार खर्च अभाव

इलामको सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईं दुवै मृगौला फेल भएपछि काठमाडौंमा उपचार गराउँदै । तस्बिर : नागरिक

सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । निम्न आर्थिक अवस्था भएका चापागाईंले १ वर्षयता काठमाडौंमा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

साथीभाइ सबैसँग सरसापटी गर्दासमेत मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको चापागाईंले गुनासो गरेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने बताएको उनले जनाए ।

सम्पत्तिका नाममा कन्याममा आफ्नो अंशमा परेको डेढ रोपनी जग्गामात्रै भएको र त्यो पनि बेचेर खर्च गर्दासमेत सबै रकम सकिएर जीवन–मरणको दोसाँधमा आइपुगेको चापागाईंको गुनासो छ । मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १४ लाख रुपैयाँ खर्च भइसकेको परिवारजनले बताएका छन् । पीडितका छोरा प्रवीण सवारी साधनको कामदार भएपनि देशमा लकडाउन सुरु भएपछि उनको रोजगारी गुमेको छ । छोराको रोजगारी गुमेपछि आफ्नो उपचार गराउन ज्यादै सकस परेको मित्रप्रसादले बताए ।

मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिएको छ । ‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ पीडित चापागाईंले भने, ‘तर, म आफूले अब आफ्नो जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, नातागोता, साथीभाइ र मनकारी सहयोगीको भएमा मात्र मैले जीवन पाउँछु ।’

प्रकाशित: ९ भाद्र २०७७ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App