६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

संक्रमित बढ्न थालेपछि सबै जिल्लामा आइसोलेसन अस्पताल बनाइदै

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशका १० जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । सिन्धुली, रसुवा र काभ्रे बाहेक बागमती प्रदेशका अन्य १० जिल्लाहरुमा निशेधाज्ञा जारी गरिएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा जिल्लाभर नै निशेधाज्ञा जारी गरिएको छ भने धादिङ, नुवाकोट र मकवानपुरका आशिंक क्षेत्रमा छ । निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ ।  

समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेपछि बागमती प्रदेश सरकारले परिक्षणको दायरा बढाउन प्रत्येक जिल्लामा आइसोलेसन अस्पताल निर्माणका लागि पहल गरिरहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकग्राम जमरकट्टेलले बताए । ‘समुदायस्तरमै संक्रमित भेटिन थालेपछि हामीले परिक्षणको दायरा बढाउन प्रत्येक जिल्लामा आइसोलेसन अस्पताल निर्माण गर्ने निर्णय गरेका छौँ,’ मन्त्री जमरकट्टेलले भने, ‘आइसोलेसन अस्पताल निर्माणका लागि आठ जिल्लाहरुमा बजेट प्रदान गरेका छौँ, काभ्रे र भक्तपुरमा संचालन भइसक्यो अन्य जिल्लामा निर्माणको प्रक्रियामा छ ।’

हालसम्म बागमती प्रदेशमा ९ हजार ९ सय ४ वटा क्वारेन्टाइन बेड व्यवस्थापन गरिएकोमा ८ सय ८६ जना बस्दै आइरहेका छन् । ५१ हजार ५ सय ५२ जनाको पीसिआर परिक्षण गरिएकोमा ४ हजार ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार निको भएकाको संख्या ७ सय ७५ जना, उपचाररत ३ हजार ७ सय ४५ जना र मृत्यु हुनेको संख्या ३१ जना छन्।  

बागमती प्रदेशमा सोमबार थप दुई सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा एक सय ७७ जना, ललितपुरमा ३३ जना, चितवनमा ३२ जना, मकवानपुरमा १८ जना, भक्तपुरमा १४ जना, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा ५/५ जना, धादिङ र रामेछापमा २/२ जना र दोलखामा १ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । सोमबार एक जनाको मृत्यु भएको छ ।  

बागमती प्रदेशको राजधानी मकवानपुरमा हाल दैनिक एक सय जनाभन्दा बढीको स्वाब संकलन हुने गरेपनि प्रयोगशालाले परिक्षणमा ढिलाई हुँदै आएको छ । हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संचालित प्रयोगशालाबाट रिपोर्ट लिन ८ दिनसम्म कुर्नुपर्ने बाध्यता भएपछि स्थानीयले गुनासो गर्दै आएका छन् । कोरोना परिक्षण प्रयोगशालामा संकलित स्वाब धेरै समयसम्म रहेपछि परिक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाइएको छ । १ हजार ३ सय ७४ जनाको स्वाब कोरोना परिक्षणको क्रममा रहेको बताईएको छ । जसमध्ये करिब पाँच सय जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको छ।

प्रकाशित: ८ भाद्र २०७७ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App