८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

'दोलखाको गौरीशंकरमा कहाँबाट कोरोना फैलियो'

गाउँँमा फरक फरक पृष्ठभूमिका मानिसहरुमा संक्रमण देखिएकाले उनीहरुसंग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्न समस्या भएका कारण दोलखाको गौरीशंकर गाउँपालिकामा कहाँबाट कोरोना फैलियो भन्ने पत्ता लगाउनै कठिन भएकोे छ।  

जिल्लाको गौरीशंकर गाउँपालिकामा गत साता मात्र ७  जना संक्रमित फेला परेका थिए। तिमध्ये चिकित्सक, कर्मचारी, बैंकर्स, चालक, व्यवससायी, र स्थानीय गरेर फरक फरक पृष्ठभूमि र पेशाका छन्। उनीहरुमा काहाँबाट र कसरी संक्रमण सर्‍यो भनेर पत्ता लगाउन स्वास्थ्यकर्मी र स्थानीय सरकारलाई मुश्किल परिरहेको छ।  

यही कारण गाउँपालिकाले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको खुलेका, नखुलेका साथै गाउँ बाहिरबाट घर आएकाहरुको समेत गरेर बुधबार १ सय ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागी धुलिखेल पठाएको छ। गौरीशंकरमा समुदायमा संक्रमण फैलिएको आशंकामा जिल्ला विपत व्यवस्थापन समितिले ४ दिन यता दोलखा जिल्ला लकडाउन गरिरहेको छ। कोरोना कसरी फैलियो भनेर पत्ता लगाउन र नियन्त्रणका प्रयास थाल्न जिल्लामा लगाईएको लकडाउनका बिच पनि स्वाब संकलनलाई तीव्रता दिई राखिएको छ।  

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीका अनुसार मंगलबार दिन भर लगाएर गाउँपालिकाका बिभिन्न वडाहरुबाट १ सय ७६ जनाको स्वाब संकलन गरी बुधबार बिहान धुलिखेल पुर्‍याईसकिएको छ ।  

शुरुमा भेटिए चिकित्सक र विदेशबाट आएका युवा
यस अघि साउन तेश्रो साता गाउँमा विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्ने तयारी भएको हुँदै थियो। त्यही क्रममा केही दिन अघि मात्र राजधानीबाट घर फर्किएका गाउँपालिकाको सुरी प्राथामिक स्वास्थ्य केन्द्रका एक जना चिकित्सकले समेत स्वाब दिएका थिए। दुई दिनपछि उनीहरु दुवैको रिपोर्ट पोजिटिभ आईदियो। दुबईबाट आएका युवकलाई उपचारका लागी सदरमुकाम चरिकोट पठाईयो। चिकित्सक सुरीमा आफ्नै क्वार्टर भित्र क्वारेन्टिनमा बसे।  

चिकित्सक साउन १९ गते गाउँपालिकाकी उपाध्यक्षको गाडीमा संगै राजधानीबाट गाउँ फर्किएका थिए। उनीहरु फर्किएको केही दिनपछि गाउँपालिकाको चंखु र खारे गाउँमा पहिरो गएको थियो। एक जनाको ज्यान समेत गएको उक्त पहिरोमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित गाउँपालिकाका कर्मचारी, स्थानीय सुरक्षा अधिकारी समेत पहिरो पीडितहरुको व्यवस्थापनमा खटिएका थिए।  

गाउँपालिकाकै सुरी गृह गाउँ भएका महिला बालबालिका मन्त्री एव जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद पार्वत गुरुङसहित, जिल्ला तहका सुरक्षा अधिकारीहरु, बिभिन्न स्थानीय सरकारका प्रमुखहरु, नेकपाका नेता कार्यकर्ताको टोली राहत तथा निरीक्षणका क्रममा पहिरो प्रभावित क्षेत्र पुगेको थियो। कांग्रेसका जिल्ला स्तरिय नेताहरुको छुट्टै टोली समेत राहत बोकेर त्यहाँ पुगेको थियो।  

त्यसैको पर्सी पल्ट चिकित्सक र विदेशबाट आएका ति युवालाई संक्रमण पुष्टी भएको थियो। सो लगत्तै गाउँपालिकाबाट ८३ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइयो। साउन ३१ गते ति मध्ये ५ जनाको रिपोर्ट पोजिटिभ आईदियो। ति ५ जना बिभिन्न पृष्ठभूमिका छन्।  

उनीहरुसंग सम्पर्कमा आएकाहरुको खोजी गर्न निस्केको टोलीलाई पहिचान गर्न निकै कठिन भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए। ‘संक्रमितहरुको बसाई, यात्रा र आउजाउको पृष्ठभुमी नै फरक फरक खालको देखिएकाले काहाँबाट कसरी सर्‍यो भन्ने कुरा पत्ता लगाउनै कठिन भईरहेको छ’ उनले भने।  

संक्रमित मध्ये एक जना स्थानीय केही दिन अघि कामको सिलसिलामा राजधानीको सुन्धारामा बसेर फर्किएका थिए। कामको सिलसिलामा आफू केही दिन काठमाडौ गएको र पहिरोमा निरीक्षण गर्न आएका नेताहरुको गाउँ आएकै दिन राजधानीबाट घर फर्किएको बताएका उनले आफूलाई काहाँबाट संक्रमण सरेको भन्ने भेउ पाउनै सकिरहेका छैनन्।  

यस्तै संक्रमित चिकित्सकले समेत आफुलाई काहाँबाट सरेको भनेर पत्ता लगाउन सकेका छैनन्। संक्रमित अर्का गाउँपालिकाका कर्मचारी बर्दिबास हुँदै पालिका आएकी थिईन्। स्थानीय एक निजी बैंकका कर्मचारीले तीन महिनादेखि गाउँ छाडेका छैनन्। उनमा कोबाट र कसरी सर्‍यो पत्ता लगाउन नसकिएको स्थानीयले बताएका छन्। संक्रमित मध्ये एक एम्बुलेन्स चालकले पटक पटक गाउँबाट बिरामी ओसारेका थिए।  

यि ५ जनालाई अन्यबाट सरेको समेत हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरुको छ। उनीहरुको सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्न गाउँमा निस्केको टोलीले बिभिन्न बस्तीहरुमा राजधानीसहित देशका बिभिन्न स्थानहरुबाट मानिसहरु भित्रिएको र उनीहरुले समेत रोग बोकेर आएको हुनसक्ने आशंका गरेको छ। अघिल्लो पटक नेगेटिभ देखिएका ८३ मध्ये केहीको पुनः स्वाब पठाइएको छ।  

जिल्ला विपत्त व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तहहरुमा परीक्षण बढाईने र सोही अनुसार लकडाउन बढाउने वा स्वरुप परिवर्तन गर्ने भन्ने निर्णय रिपोर्टपछि आउने संक्रमितको दरका आधारमा लिईने तयारी गरिरहेको छ।

प्रकाशित: ३ भाद्र २०७७ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App