४ माघ २०७७ आइतबार
स्वास्थ्य

प्रदेश १ मा कोरोना कहरः विज्ञको सुझाव लत्याउँदा बढ्यो खतरा

कोरोना जोखिममा रहेकाहरुको तथ्यांक संकलन गरेर सतर्कता अपनाउन विज्ञहरुले बेलैमा दिएको सुझावलाई स्थानीय र प्रदेश सरकारले बेवास्ता गर्दा प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । बुधबार साँझसम्ममा प्रदेशमा १० जनाले ज्यान गुमाइसकेका छन् । 

चैतमा सुरु भएको लकडाउनकै बेला विज्ञहरुले दुवै तहका सरकारलाई सार्वजनिक रुपमै भनेका थिए 'हरेक वडामा रहेका दीर्घरोगीहरुको लगत संकलन गरौं । उनीहरुको तथ्यांकले एउटा चित्र दिन्छ । अनि कन्ट्याक्ट ट्रेस गर्न पनि सहज हुन्छ ।' सँगै उनीहरुको परीक्षण र उपचारमा पनि सहज हुने विचार चिकित्सकहरुको थियो । 'त्यसबेला हाम्रो सुझावलाई बोलीमा सकारात्मक रुपमै लिइयो', प्रदेश सरकारलाई सुरुदेखि नै कोरोनाबारे सघाइरहेका एक जना चिकित्सकले भने, 'तर, काम पटक्कै भएन । अहिले अवस्था भयावह हुँदै जाँदैछ ।'

ती चिकित्सकका अनुसार उल्टै स्थानीय सरकार र प्रदेशमा पहुँच हुनेहरुको लगालग कोरोना जाँच भइरहेको छ भने जोखिममा रहेका, कन्ट्याक्ट हिस्ट्री भएकाहरुको पालो आउनै कठिन हुने अवस्था छ । विराटनगरस्थित संवाद समूहले आयोजना गरेको जनप्रतिनिधिहरुसँगको भर्चुअल संवाद कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले जोखिममा रहेकाहरुको तथ्यांक संकलनको काम तत्कालै थालिने प्रतिबद्धता पनि जनाएका थिए । तर, उनले त्यसो भनेको तीन महिना बित्यो, काम भएन । न स्थानीय सरकारले नै यसमा चासो दिए । 

'परिणाम अहिले देखिँदैछ', त्यतिबेला सरकारलाई सुझाव दिन अग्रसर बनेका एक जना चिकित्सक भन्छन् 'अहिले प्रदेशमा जतिले ज्यान गुमाएका छन् ती सबै कुनै न कुनै गम्भीर रोगका विरामी छन् । कोरोना थपिएपछि उनीहरुलाई बचाउन झन् कठिन भयो ।' त्यसबेला चिकित्सकहरुले दिएको सुझाव अनुसार प्रदेशका गम्भीर प्रकृतिका रोगीको लगत संकलन असहज थिएन टोल टोलमा रहेका स्वास्थ्य स्वयंसेविकाहरुमार्फत तथ्यांक लिने र स्थानीय तहले प्रदेशलाई उपलब्ध गराउन सक्ने उनीहरुको भनाइ थियो । तर, न यो काम भयो न जोखिममा रहेकाहरुले बेलैमा यसबारे थाहा नै पाए ।

साउन ७ पछिको अवस्था प्रदेशमा भयावह बन्दै जाँदैछ । जसमा राजधानी विराटनगर सबैभन्दा धेरै प्रभावित बनेको छ । बुधबार साँझ मात्रै विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दम र मधुमेहबाट पीडित विराटनगर ५ का ५७ वर्षे पुरूषको उपचारका क्रममा मृत्यु भएको डा. दिपक सिग्देलले जानकारी दिए । उनलाई साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको मृत्युसँगै विराटनगरमा कोरोनाकै कारणले मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने प्रदेशमा १०, यसमा दुई जना प्रदेशबाहिरका छन् । समुदाय तहमै फैलिसकेको र फरक ठाउँमा संक्रमित भेटिने क्रम पनि तीव्र रहेको प्रदेशमा बुधबार मात्रै ४८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या थपिने क्रम बढिरहेका बेला मृतकको संख्या पनि बढिरहेको हो ।

बुधबार मोरङको बुढिगंगा २ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बुधबार थप भएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार १ सय१८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८ सय ७८ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको प्रदेश सरकारले जनाएको छ । 

प्रकाशित: २८ श्रावण २०७७ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App