८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

काठमाडौंका ‘कोभिड अस्पताल’ भन्छन् : सबै शैय्या भरिए, थप संक्रमित कहाँ राख्ने ?

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका कोभिड-१९ का बिरामी भर्ना लिने गरेका अस्पताल भरिभराउ भएका छन् ।  दैनिक संक्रमित देखिन थालेपछि शैय्या अभाव हुने स्थिति आएको सम्बन्धित अस्पतालले जनाएका छन् ।  

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितका लागि जम्मा ८१  शैय्या छन्– ६० आइसिोलेसन र २१ आइसियु । तीमध्ये आइसोलेसनमा ७९ र आइसियुमा १० जना रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले अहिलेकै स्थिति जारी रहे अस्पतालमा बिरामी राख्ने ठाउँ नपुग्ने अवस्था छिट्टै आउने बताए ।  

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कूल क्षमता ५४ शैय्या हो । जसमा दैनिक बिरामी भरिभराउ हुने गरेको छ । ‘डिस्चार्ज भएको दुई/चार घण्टापछि नै नयाँ संक्रमित आइपुग्छन्,’ अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले भने । उनका अनुसार अहिले यो अस्पतालमा ३ संक्रमितलाई आइसियुमा र बाँकीलाई आइसोलेसनमा राखिएको छ ।  

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले अहिलेकै स्थिति जारी रहे अस्पतालमा बिरामी राख्ने ठाउँ नपुग्ने अवस्था छिट्टै आउने बताए ।  

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल पनि कोभिड बिरामीकै लागि तोकिएको विशेष अस्पताल हो । यो अस्पतालमा पनि दैनिक बिरामी भरिभराउ हुने गरेको अस्पतालका डा. प्रविण नेपालले बताए ।  

उनका अनुसार यो अस्पताल १२० शैय्या क्षमताको हो । अहिले यहाँ  ३  जना आइसियुमा र १  सय २२ जना आइसोलेसनमा छन् । ‘एक सातायता एकदिन पनि बेड खालि हुन पाएको छैन,’ डा.नेपालले भने । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका १४ बेड अति गम्भीर कोभिड बिरामीका लागि तोकिएका छन् । जसमा ५ आइसियु र ९ आइसोलेसन छन् । अहिले आइसियुका ५ वटै शै्य्या भरिएका छन् भने आइसोलेसनमा ५ संक्रमित छन् ।  

यस्तै कीर्तिपुर आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा हाल ८४  संक्रमित उपचाररत छन् । यो अस्पतालमा हाल १ सय ५० शैय्या छन् । अहिलेसम्म बिरामीको चाप धानेको भए पनि राजधानीमा बढिरहेको संक्रमणदरअनुसार अबको केही दिनमै शैय्या नपुग्ने कोभिड–१९ उपचार संयोजक डा. जितेन्द्र श्रेष्ठले बताए । 

काठमाडौं मेडिकल कलेजको दुवाकोट अस्पतालमा अहिले ८१  संक्रमित छन् । यो अस्पतालमा जम्मा सय शैय्या छन् । संक्रमितको उपचार गरेबापत सरकारले खर्च उपलब्ध नगराएपछि अस्पतालले शनिबारदेखि कोभिडका नयाँ बिरामी भर्ना नै रोकेको छ । अस्पतालले अहिलेसम्म १ सय ५० संक्रमितको उपचार गरिसकेको छ ।  सरकारले दिनुपर्ने अनुदान पनि नदिएपछि उपचार गर्न नसकिने अवस्था रहेको चिकित्सकले बताएका छन् ।  

राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका केस म्यानेजमेन्ट शाखाका अनुसार कोभिड–१९ का लागि उपत्यकाका विभिन्न अस्पतालमा गरी कूल ५ सय शैय्या छन् । अहिलेकै दरमा संक्रमित थपिइरहने हो भने दुई/तीन दिनमै व्यवस्थापन गर्न कठिन हुने शाखाका प्रमुख उत्तम कोइराला बताउँछन् । ‘तीनदेखि भर्ना गर्न समस्या हुन थालेको छ । केही दिनमा संक्रमितले ठाउँ नै नपाउने स्थिति छ,’ उनले भने ।  

अस्पतालका शैय्या संक्रमितले भरिन थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण भएकालाई मात्र भर्ना गर्ने नीति ल्याउँदै छ । लक्षण नभएकालाई भर्ना गर्दा लक्षण भएका बिरामीले उपचार नपाउने भएकाले सरकारले यस्ता बिरामीलाई अन्तै  व्यवस्थापन गर्नुपर्ने डा.बाँस्तोलाको सुझाव छ ।  

उनका अनुसार लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमै राखेर निगरानी गर्नु अहिलेको विकल्प हुन सक्छ । यसमा पनि तराई र भारतबाट आएका संक्रमितका लागि होम आइसोेलेसन सम्भव नभएकाले अन्य खालि ठाउँलाई आइसोलेसन बनाउन सकिने डा.बाँस्तोला बताउँछन्। उनीहरूलाई व्यवस्थापन गर्न नसके  संक्रमण फैलिने जोखिम अझ बढ्ने भएकाले यो उपाय अपनाउनु उचित हुने उनको  भनाइ छ ।  

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारले अबका बिरामीलाई होम आइसोलेसन र सरकारले व्यवस्था गरेका होटल तथा क्वारेनटिनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

 ‘घर भएकालाई होम आइसोलेसनमा, नभएकालाई पहिलेका क्वारेनटिनमा राख्ने तयारी हुँदै छ,’ उनले भने ।  

उपत्यकाका सरकारी अस्पताल भरिँदै गएपछि स्वास्थ्य मन्त्रालयले राजधानीका कोडिभ उपचारका लागि निजी अस्पताललाई अनिवार्य रूपमा २० प्रतिशत शैय्या छुट्टयाउन अनुरोध गरेको छ ।  

प्रकाशित: २८ श्रावण २०७७ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App